भूत मेलामा धामीको शपथ

भूत मेलामा धामीको शपथ

जनकपुरधाम : कमला नदीको पटेर्वा घाटमा बर्सेनि कार्तिक शुक्ल पूर्णिमाका बिहान भीड लाग्छ। मृदंगको धुनले गुञ्जायमान हुन्छ। भगतिया (मैथिली भाकामा भगैत गीत गाउने)हरू गाइरहेका हुन्छन्। भक्तहरू आगोले भरिएको माटोको ढकना हातमा लिएर ‘दैवी शक्ति हुँ’ भनेर कामिरहेका हुन्छन्। यसरी थुप्रैले रौद्र रूप देखाउँछन्। ताण्डव मच्चाउँछन्। कमला नदीको यही जमघटलाई भूत मेला भनिन्छ।

सिरहा र धनुषाको सीमामा पर्ने यो ठाउँमा शुक्रबार पनि मेला लाग्यो। नयाँ धामीका लागि सतवैद्य अर्थात् शपथग्रहण समारोह हो यो। धामीले भूतप्रेतलाई ‘ठेगान’ लगाउने विश्वास पनि गरिन्छ। काम्न थालेका नयाँ धामीलाई यही दिन कमला नदीमा स्नान गराइन्छ। गुरुले उनीहरूलाई नदीमा डुबुल्की मार्न लगाई पवित्र बनाएर शपथ खुवाउँछन्। सिकेको मन्त्र अनि प्राप्त दैवी शक्तिलाई प्राणीको हितमा प्रयोग गर्ने र दुरुपयोग नगर्ने प्रतिबद्धता जनाउँछन्। यसपछि मात्र समाजले धामीको मान्यता प्रदान गर्छ।

उनीहरूमा घटस्थापनादेखि नवरात्रभर काम छुट्छ। उसले आफूमा दैवी शक्ति प्रवेश गरेको घोषणा गर्छ। त्यसपछि उसलाई भक्त बनाउने चलन छ। कार्तिक चतुर्थीका दिन पहेंलो रङको धोती र फूलको माला लगाएर पवित्र बनाइन्छ। हातमा बेतको लाठी थमाइन्छ। ऊसँग एक–दुई जना अगुवा– पछुवा रहन्छन्, जसले सम्हाल्ने काम गर्छन्। ५–१० जना भगतिया हुन्छन्। उनीहरूलाई स्थानीय भाषामा दहिन गवैया भनिन्छ। उनीहरूको काम दैवी शक्तिको स्तुति गीत गाउने हुन्छ। यसलाई भगैत गीत पनि भनिन्छ। वाद्यवादन हुन्छ, मृदंग र झ्याली।

कतिपयले अविश्वसनीय र अकल्पनीय काम गरेर देखाउँछन्। तातो खीर हातले चलाउने, अगेनाको भुंग्रोमा हात हाल्ने, आगोमाथि हिँड्नेजस्ता कार्यले अरूलाई आश्चर्यमा पार्छ। उनीहरू लावालस्करसहित पैदल मध्यरातसम्ममा कमला तटमा पुग्छन्। शपथ गराउन १५–२० जना सँगै जानुपर्ने जानकार बताउँछन्।

गोलबजार नगरपालिका–२ गुरुधामका बलराम महतोले तीन वर्षअघि शपथ लिएका थिए। उनी गाउँका प्रतिष्ठित धामी बनेका छन्। ‘हरेक वर्ष कमला स्नान गरेपछि हामी नयाँ शक्ति प्राप्त गर्छौं’, उनी भन्छन्, ‘हाम्रो मन्त्र प्रभावी हुन्छ। रोगव्याधी निको हुन्छ। भूतप्रेत भाग्छ।’ अनुभवी धामीले भूतप्रेतलाई मन्त्रले बाँधेर ल्याई नदीमा बिसर्जन गर्छन्। यसो गर्दा कोही बिरामी हुँदैनन् भन्ने जनविश्वास छ।

कात्तिकलाई नदी स्नानको महिना भनिन्छ। यसका लागि सक्नेहरू गंगा पुग्छन्, नसक्नेहरू कमला, कोसी वा नजिकका नदीमा। कमलामा स्नान गर्न पनि श्रद्धालु आइपुग्छन्। त्यसो त तराईमा महिलाले गाउने भाका छ, बाह्रमासा। गीतले भन्छ–कार्तिक महिना हे सखी पुण्य महिना, चलू चलू गंगा स्नान हो...। सिरहा, सप्तरी, धनुषा, महोत्तरी र सर्लाही मात्र होइन, भारतका मधुवनी र दरभंगाका धामी र स्थानीय मेलामा आउँछन्। सामाजिक अभियन्ता तथा पत्रकार अर्जुन थपलिया रहस्य खोतल्न सके विज्ञान हुने बताउँछन्। नसक्नेले दैवी शक्ति भनेर पूजा गर्न थाल्छन्। भूत मेला एउटा अन्धविश्वासी परम्पराको निरन्तरता भएको उनको ठम्याइ छ।

धामी परम्परा सांस्कृतिक विरासतका रूपमा रहे पनि अब सुधार गर्न आवश्यक रहेको गोलबजार क्याम्पसका अध्यापक प्रदीप साह बताउँछन्। ‘एकातिर अन्धविश्वासका कारण महिलालाई बोक्सी आरोपमा कुटपिट गर्ने र दिसापिसाब खुवाउने घटनाले आधुनिक समाजलाई लज्जित पारिरहेको छ’, उनी भन्छन्, ‘अर्कोतिर भूत मेलामा बर्सेनि हजारौं नयाँ धामीको जन्म हुन्छ र शपथग्रहण गराइन्छ। यो विरोधाभासपूर्ण छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.