नेकपाकाे प्रदेश कमिटी सदस्य टुंगियाे
काठमाडौं : नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिएको छ। पार्टी एकताको नौ महिनापछि शुक्रबार बसेको सचिवालय बैठकले प्रदेश कमिटी सदस्य टुंग्याएको छ। महासचिव विष्णु पौडेल र रामबहादुर थापा सम्मिलित दुई सदस्यीय कार्यदलको प्रतिवेदनले कमिटीलाई पूर्ण रूप प्रदान गरेको हो।
सचिवालयका एक सदस्यले अन्नपूर्णसँग भने, ‘एक/दुई वटा नाम मात्र क्रस चेक गर्न बाँकी छ।’ यसअघि वरिष्ठ नेता माधव नेपालले आफू विदेश रहेका बेला दोहोरो जिम्मेवारी दिनेगरी प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको भन्दै असहमति जनाएका थिए। तर उक्त विषय यसअघिकै सचिवालय बैठकबाट टुंगिसकेकाले पुरानै निर्णय सदर भएको ती सदस्यले बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ र प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेललाई दोहोरो जिम्मेवारी हुनेगरी सम्बन्धित प्रदेश इन्चार्ज बनाइएको थियो। प्रदेश १ मा २ सय ७, प्रदेश २ मा २ सय १५, प्रदेश ३ मा २ सय १७, गण्डकी प्रदेशमा १ सय ८७, प्रदेश ५ मा २ सय ३, कर्णालीमा १ सय ७५ र सुदूरपश्चिममा १ सय ८३ सदस्यीय प्रदेश कमिटी गठन हुने व्यवस्था नेकपामा छ।
प्रदेश १ मा तत्कालीन एमालेतर्फका १ सय २२ र माओवादीका ८५, प्रदेश २ मा तत्कालीन एमाले–माओवादीका तर्फबाट १÷१ सय र बाँकी पछि मनोनीत गरिने बताइएको छ। त्यस्तै प्रदेश ३ मा तत्कालीन एमालेतर्फका १ सय १७ र माओवादीतर्फ १ सय, गण्डकीमा एमालेबाट १ सय २ र माओवादीबाट ८५ जना रहने गरी कमिटी गठन गर्ने सहमति भएको थियो।
त्यस्तै, प्रदेश ५ मा तत्कालीन एमालेतर्फका १ सय ६ र माओवादीतर्फका ९७, कर्णाली प्रदेशमा तत्कालीन एमालेतर्फका ८७ र माओवादीतर्फका ८८ तथा सुदूरपश्चिम प्रदेशमा तत्कालीन एमालेतर्फका सय र माओवादी तर्फका ८३ जना नेता रहने गरी भागबन्डा भएको थियो। ४ सय ४१ केन्द्रीय सदस्यको कार्यविभाजन र जनवर्गीय संगठनको एकीकरणबारे शनिबार बस्ने बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।