प्रदेशलाई एसपीसम्मको सरुवा–बढुवाको अधिकार दिनुपर्ने माग

प्रदेशलाई एसपीसम्मको सरुवा–बढुवाको अधिकार दिनुपर्ने माग

जनकपुरधाम : संघीय सरकारले प्रदेशलाई प्रहरीको सइसम्मको सरुवा–बढुवाको निर्णय दिने अधिकारको प्रदेश २ सरकारले अस्वीकार गरेको छ। तर, प्रदेश २ आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले एसपीसम्मको सरुवा–बढुवाको अधिकारको माग गरेका छन्।

लामो समयपछि शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले एसपीसम्मको अधिकार नपाएसम्म प्रदेशमा शान्ति सुरक्षा कायम नहुने तर्क गरे। भने, ‘प्रदेश प्रहरी ऐन आएपछि दीपावलीका दिन संघीय सरकारले सईसम्मको अधिकार दिएको पत्र पठायो। तत्कालै हामीले एसपीसम्मको सरुवा–बढुवाको मागसहित परिपत्र गर्यौं। तर, संघीय सरकारले जवाफ पठाएको छैन।’

प्रदेशमा बलात्कार, हत्या, डकैतीलगायत घटना बढेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका थिए। सरकार प्रदेशका जनताप्रति उत्तरदायी रहे पनि संघीय सरकारको असहयोगले शान्ति व्यवस्था कायम गर्न नसकेको मन्त्री यादवले बताए। निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल अन्यत्र लग्ने षडयन्त्र भएकोमा सांसदहरूले शंका गरेका छन्। ‘२४ लाख रूख काट्ने झूठो प्रचार गरियो’, सांसद सुन्दरबहादुर विश्वकर्माले भने, ‘विमानस्थल निर्माण विरुद्धको षडयन्त्रको पछाडि नलाग्न सरकारसँग आग्रह गर्छु।’ विमानस्थल नबने प्रदेश २ समृद्ध नहुने उनको तर्क थियो।

सांसद ज्वालाकुमारी साहले उपलब्धि पाउन केही गुमाउनुपर्ने बताइन्। यसका लागि विमानस्थल निर्माणमा सबै लाग्नुपर्ने उनले बताइन्। विमानस्थलको डीपीआर प्रदेश सरकारलाई उपलब्ध गराउनुपर्ने र सहकार्य तथा समन्वय हुनुपर्ने मन्त्री यादवले माग गरेका थिए। विमानस्थलको नाममा २४ लाख रूख काट्दा वातावरणमा गम्भीर असर पर्ने उनले बताए। भने, ‘हामी पनि कम क्षतिमै ठूलो उपलब्धि हासिल गर्ने पक्षमै छौं।’

मलेठ घटनाको प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गर्ने मन्त्री यादवले जानकारी गराउँदै घटनाका दोषीलाई कारबाही गरिने बताए। घटनाको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले झूठो प्रतिवेदन दिएको भन्दै प्रदेश सरकारले यसको पुनः छानबिन गर्न समिति बनाएको थियो।

योगी भ्रमण र रेल उद्घाटन

विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउन लागेका भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको विषयमा पनि सांसदले प्रश्न उठाएका थिए। प्रतिपक्षी कांग्रेस सांसद शिवचन्द्र चौधरीले जनकपुरमा आउने पाहुनाबारे यथार्थ जानकारी दिन सभामुखसँग माग गरे।

जनकपुर–जयनगर रेल उद्घाटनमा दुवै देशका प्रधानमन्त्री वा सम्बन्धित मन्त्रालयबाट गराउन सुझाव दिए। तर, मन्त्री यादवले भने योगीको जनकपुर भ्रमण र रेल उद्घाटनबारे भइरहेको कुरा वास्तविक नभएको बताएका थिए। उनले भने, ‘रेल उद्घाटनमा को आउने को नआउने विषय संघीय सरकारसँग सम्बन्धित हुन्छ। यसबारे जानकारी प्राप्त भएको छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.