विभागीय भिडन्तमा आर्मीलाई सफलता
काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गरेको छ। आर्मीको अपराजित यात्रा कायम राख्न टेकबहादुर बुढाथोकीले गरेकोे एकमात्र गोल निर्णायक बन्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुआतदेखि नै पुलिसलाई दबाबमा राखेको आर्मीले ३०औं मिनेटमा अग्रता लिएको थियो। लगातार आक्रमण बुनेको आर्मीले गोलका धेरै अवसर खेर फालेको थियो। यसैगरी पुलिस पनि गोल गर्ने सुन्दर अवसरबाट चुकेको थियो। ६५औं मिनेटमा आर्मीका सुमन लामाले अग्रताको अवसर गुमाएका थिए। उनको प्रहार गोल पोस्ट माथिबाट बाहिरिएको थियो। पुलिसका भरत शाहले ७५औं मिनेटमा उत्कृष्ट प्रहार गरे पनि आर्मीका गोलरक्षक विकेश कुथुले विफल पारेका थिए।
जितपछि लिगमा आर्मीले सात अंक बनाएको छ। आर्मीले पहिलो खेलमा एनआरटीसँग २-२ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा च्यासल युथ क्लबलाई १-० गोलले पराजित गरेको थियो। आर्मी लिगको तेस्रो स्थानमा छ। अहिलेसम्म तीन खेल खेलिसकेको पुलिस चार अंकसहित लिगको सातौं स्थानमा छ।
संकटाको लगातार तेस्रो जित
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले लगातार तेस्रो जित निकालेको छ। सशस्त्र प्रहरी बल हलचोक मैदानमा भएको खेलमा संकटाले मच्छिन्द्र क्लबलाई २-० गोलले पराजित गर्यो। खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको संकटाले दोस्रो हाफमा दुई गोल गरेको थियो। संकटाका लागि खेलको ६४औं मिनेटमा नितिन थापाले हेड गोल गरेका थिए। यस्तै ८६औं मिनेटमा अमित तामाङले गोल गर्दै संकटाको अग्रता दोब्बर पारेका थिए।
यसअघिका दुवै खेलमा जित निकालेको संकटा नौ अंकका साथ लिगको दोस्रो स्थानमा छ। नौ अंक नै जोडेको मनाङ मस्र्याङ्दी क्लब गोल भिन्नतामा शीर्ष स्थानमा छ।
एपीएफ स्तब्ध
लिगअन्तर्गत नै शुक्रबार भएको खेलमा नवप्रवेशी बिग्रेड ब्वाइज क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-१ गोलको प्रभावशाली जित निकालेको छ।
लगातार दुई खेलमा हार बेहोरेको ब्रिगेड ब्वाइजले तेस्रो खेलमा एपीएफलाई स्तब्ध बनायो। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६०औं मिनेटमा रूपबहादुर लामाको गोलमार्फत एपीएफले अग्रता बनाएको थियो। पहिलो गोल खाएपछि खेलमा फर्किएको बिग्रेड ब्वाइजले लगातार तीन गोल गर्दै जित हात पार्यो। मनोज राईले ६४औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए। त्यसपछि ६९औं मिनेटमा ताजुदेन अदखुलेने, ७६औं मिनेटमा काजिम आदेगोकेले उत्कृष्ट गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए। जितसँगै बिग्रेड ब्वाइजले महत्वपूर्ण तीन अंक बटुलेको छ।