क्रिकेटको सही ‘भेन्यु’
सर्वाधिक पुरस्कार राशिको घरेलु फ्रान्चाइज टीट्वेन्टी क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) हालै सम्पन्न भयो। तुलनात्मक रूपमा क्रिकेट कम लोकप्रिय मानिएको पोखरामा पीपीएल आयोजना त्यसका लागि चाहिने भौतिक पूर्वाधारको अभावले पनि सहज थिएन।
खेल्ने पिचको निशाना थिएन। आउटफिल्डमा लामो घाँस र उबडखाबड थियो। त्यसका बीच आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको मेहनतबाट पोखरामा पीपीएल भव्य रूपमा मात्रै सम्भव भएको छैन, नेपाली क्रिकेटको नयाँ र सही ‘भेन्यु’समेत पहिचान भएको छ। आफ्नो प्राकृतिक सुन्दरताले मात्रै हैन अन्य सुविधा र हरेक कुराले पोखराले अन्तर्राष्ट्रिय क्रिकेटकै नयाँ गन्तव्य बन्ने सम्भावना देखाएको छ।
माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सामुन्ने अवस्थित मैदान। मनै लोभ्याउने गरी खुलेका यी दुई हिमालको दृश्यअघि क्रिकेटरहरूले देखाउने बल र ब्याटको कल, खेल्नेलाई मात्रै हैन हेर्नेलाई पनि फरक महसुस हुनेछ। पीपीएलको दौरान यही दृश्यले सबैको मन लोभ्यायो। त्यसकै चर्चाले अखबारका पानादेखि सामाजिक सञ्जाल भरिए।
पोखराको क्रिकेट मैदानमा यसअघि पनि राष्ट्रिय स्तरका प्रतियोगिता भएका हुन्। तर, खेलकुदसँग जोडिएर पोखराले सायदै यत्तिको चर्चा पाएको थियो, जत्ति यसपटक पीपीएलले दिएको छ। खेलाडीलाई दिनभरिको खेलको थकान मेटाउन मात्रै हैन, खेल हेर्न त्यहाँ पुग्ने दर्शकलाई समेत मनोरञ्जनको प्रशस्तै विकल्प दिन तयार छ पोखरा। प्याराग्लाइडिङ, अल्ट्रा फ्लाइटदेखि फेवातालको मनोरम दृश्यले दिने आनन्द साँच्चिकै अनुपम छ। लेकसाइडका घरैपिच्छे खुलेका सामान्यदेखि अन्तर्राष्ट्रिय स्तरका होटल र रेस्टुरेन्टहरूले सबैखाले ग्राहकको इच्छा पूरा गर्न सक्छन्।
राजधानी काठमाडौं र अन्य ठूला सहरबाट समेत नजिकको दूरीमा रहेकाले पोखराले आफूलाई अन्तर्राष्ट्रिय स्तरमै खेलकुद गन्तव्यका रूपमा अघि बढाउने सम्भावना देखाएको हो। यद्यपि त्यसका लागि पोखराको क्रिकेट मैदानको स्तरोन्नति हुन आवश्यक छ। आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले झन्डै दुई महिनाको मेहनतमा प्रारम्भिक चरणमै रहेको पोखरा मैदानको पिच र आउटफिल्डलाई लगभग अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न मिल्ने स्तरको बनायो। प्रत्येक दिन दुई÷दुई खेल खेलाउँदासमेत पिचको स्वरूपमा परिवर्तन देखिएन।
काठमाडौंबाहिर पहिलोपटक यही मैदानमा खेलाडीहरूले स्पाइक सुज (काँडा भएको जुत्ता) लगाएर खेल्न पाए। प्रतियोगिताको समाप्तिसम्म पनि मैदानको आउटफिल्डमा क्षति पुगेन।
यही मैदानमा थप मेहनत गरेर अन्य सुविधा थप्ने हो भने पोखरा र यो मैदानले अन्तर्राष्ट्रिय क्रिकेटका लागि ‘न्युट्रल भेन्यु’कै रूपमा मान्यता पाउन सक्छ, जसको सपना गण्डकी प्रदेशले देखेको छ। पीपीएल उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आफैंले पनि पोखरालाई क्रिकेटको न्युट्रल भेन्युका रूपमा अघि बढाउन चाहेको बताएका थिए। अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामसमेत अघि बढिरहेको अवस्थामा पोखरा न्युट्रल भेन्युका लागि थप योग्य बन्नेछ।