कविता : शीतयुद्ध
यी निषेधित पर्खालहरू मनको
ज्वारभाटालाई सधैंसधैं छेकेर
राख्न कहाँ सक्षम छन् र
कोलाहलको कोलाजमा भर्भराएका
आगोको आदिम कथासँगै
एकान्तमा सजिलै भंग हुँदो रहेछ त
समाधि पनि
अनि किन लुकीलुकी मानव बस्तीमा
फेरि लाउँदै
गुनगुनाएर मन्त्रहरू
बुटी चोर्नु जैविक आवश्यकताको ?
पिएर एकान्तले मदहोश भएको बेला
को चाहिँदो र’छ र
स्त्री, पुरुष, नपुंसक,
पशु, लास, बच्चा
कोही चाहिँदैन
आगोको राप निभाउन
निषेधित पर्खालका कुनाकाप्चामा
लेउ लागेर बसेका एकान्तहरू काफी छन
स्खलित भएर
अग्र्याजमका झंकारहरू निधारमा लिप्दै
सपनाको डढेलोहरूबाट भाग्दैभाग्दै
शिथिल अवयवहरू शीतकालीन निद्राबाट
ब्यूँझिएर भोक तापेर बसिरहेका छन्
बसलगाम खोलिदेऊ घोडाहरूको
एक हात मुनि रहरहरू
रमाउँदै चर्न थाल्नेछन्— हरिया घाँसहरूमा
पशुहरू आगो बालेर आगोमा जल्दै
आगोको खेती गर्दैननपशुहरू स्वभावैले ध्यानस्थ छनतर मान्छेहरू किन बारबार
भत्काएर समाधि आफैंले
नाघेर पर्खाल आफैंले
पराधीन आँखाहरू आँसुले छोपेर हिँड्छन् हँ ?
एक्ला एकान्तहरू पनि अब कहाँ एक्ला छन् र ?
दूषित भइसके
कुमारी पहाडको जाँघमुनि
अग्र्याजमको खोजीमा निस्किएका
मानिसका अमिलो पसिना, दुर्गन्धित श्वास
र मलमूत्रले ।
भन्न गाह्रो छ,
मृगतृष्णाको यो मायावी छाँगाबाट खसेर
को समाधिस्थ हुने हो पहिले ?
मान्छे
या
मान्छेभित्र बसेर मान्छेलाई ढुंगा हानिरहने
फुच्चे मान्छे ?