माथि घर, मुनि गुफा !
म रातमा उठेँ
र नजन्मिएकाको गुफामा घुमेँ
भीडका आकारहरूले मलाई घेरे
जीवनको जानकारीको निम्ति
जसले
लामो समयदेखि
मौन शिरलाई पुज्दै आएका थिए
प्रतीक्षित बिहानीलाई नजिक पाउन
आँखामा कलाविहीन विशेषता बोकेर
उनीहरूका हरेक उच्चारणमा आशा भरिएको छ ः
“एउटा रमणीय ठाउँ हैन र रु
एउटा अपार आनन्द, एउटा अनुपम ठाउँ
जहाँ हरेक चीज शालीन, शुद्ध र न्यायिक छन् र हिंसाको लागि कुनै स्थान छैन ? ”
(नजन्मिएकाको गुफा : थोमस हार्डी )
अंग्रेजी साहित्यका कवि तथा उपन्यासकार थोमस हार्डीको ‘द केभ अफ द अनबर्न’ शीर्षकको कविता उनका स्तरीय र चर्चित कवितामध्येमा पर्दैन तर पनि यस कवितामा उनको कल्पनाशीलता विशेषीकृत बनेर उपस्थित भएको छ। उनले ‘गुफा’लाई विषय बनाएर, ‘गुफा’कै माध्यमबाट आफ्नो कल्पनाशीलताको प्रयोग गरेका छन्। स्वच्छन्द जीवनका लागि उनको काव्यात्मक अभिव्यक्ति बढी प्रतीकात्मक र सांकेतिक लाग्दछ। ‘गुफा’को प्राकृतिक सौन्दर्य, त्यसको आकर्षण र मौन-शालीनताबाट उनी मोहित देखिन्छन्। त्यसैले उनी नजन्मिएका मानिसको ‘गुफा’का बारेमा स्वच्छन्द कल्पना गर्न पुग्छन्। उनले ‘गुफा’लाई माध्यम बनाएर नजन्मिएका मानिस र तिनको भविष्यलाई कल्पनामा उतारेका छन्।
अंग्रेजीका प्रमुख स्वच्छन्दतावादी कवि विलियम वर्डस्वर्थबाट विश्वका धेरै कवि प्रभावित छन्। थोमस हार्डी पनि वर्डस्वर्थबाटै प्रभावित स्वच्छन्दतावादी कवि हुन्। उनका कविता र उपन्यास वर्डस्वर्थको स्वच्छन्दतावादी प्रभावका दर्बिला उदाहरण हुन्। यहाँ उद्धृत कविता-अंशमा पनि स्वच्छन्दतावादको प्रभावलाई महसुस गर्न सकिन्छ।
भूगर्भशास्त्री र पुरातत्वविद्मात्र होइन लेखक, साहित्यकार र दार्शनिकहरूको चर्चामा पनि ‘गुफा’ ले महत्व पाउँदै आएको छ। ‘गुफा’ लाई अनेक अर्थमा बुझ्ने र अभिव्यक्त गर्ने कुरा आम प्रचलनजस्तै बनेको छ। अन्धकार, बन्धन, जेल, स्वतन्त्रताविहीन अवस्था, निरंकुशताजस्ता विषयमा लेख्नु पर्दा कतिले ‘गुफा’लाई माध्यम बनाएको देखिन्छ भने गुफाको रोमाञ्चकारी परिवेशलाई पनि कतिले महत्वका साथ वर्णन गरेका छन्। गुफालाई ‘प्राकृतिक रहस्य’ ‘आश्चर्य’, ‘रोमाञ्चकता’ का रूपमा प्रस्तुत गर्ने काम पनि हुँदै आएको छ।
‘गुफा’ का बारेमा अहिलेमात्र होइन उहिल्यैदेखि चर्चा हुँदै आएको छ। प्लेटोले समेत ‘गुफा’ का बारेमा लामो चर्चा गरेका छन्। ‘एलिगोरी अफ द केभ’ भन्ने उनको रचना, जसलाई एउटा महत्वपूर्ण निबन्धको रूपमा चर्चा गर्ने गरिएको छ, त्यसमा ‘गुफा’ का माध्यमबाट चिन्तनपरक विचारहरू प्रस्तुत गरिएका छन्। ‘गुफा’ लाई लिएर अनुरूपता, प्रतीक कथा, रूपक कथा वा उपमाका अर्थमा प्लेटोले दार्शनिक अभिव्यक्ति प्रस्तुत गरेका छन्। दार्शनिक अभिमुखीकरणका दृष्टिले यस निबन्धलाई गहिराइपूर्ण अभिव्यक्ति मानिन्छ। मानव समाजलाई अँध्यारोबाट उज्यालोतिर उन्मुख गराउने सांकेतिक अभिप्रायमा उनले ‘गुफा’को अनुरूपता वा रूपक कथालाई दार्शनिकता प्रदान गरेका छन्। तथापि, ‘भित्ता’लाई मात्र सत्य ठान्ने उनको व्याख्या आलोचनामुक्त भने छैन।
प्राकृतिक गुफाको महत्व प्रत्यक्षतः भूगर्भशास्त्र र पुरातत्वसँग बढी होला। यद्यपि चासो र सरोकारका दृष्टिले अन्य क्षेत्रबाट पनि गुफाको महत्वलाई उजागर गर्ने काम हुँदै आएको छ। अरू पनि धेरै विधाहरू छन्, जससँग गुफाका चर्चा र प्रसंगहरू जोडिने गरेका छन्। गुफाले साहित्यिक महत्व पनि त्यत्तिकै पाउँदै आएको छ। ग्रिक दुखान्तकदेखि अहिलेसम्म गुफाको चर्चा साहित्यमा धेरै भएको छ। थुप्रै चर्चित कवि, कथाकार, उपन्यासकारलगायत साहित्यका सबैजसो विधाका साहित्यकारहरूले आफ्ना सिर्जनामा गुफालाई महत्व दिएका छन्। उनीहरूले अनेक अर्थमा गुफाको चर्चा गरेका छन्। आफ्ना रचनाहरूमा गुफालाई बिम्ब र प्रतीक बनाएका छन्। कतिले गुफालाई नै प्रमुख विषय बनाएर पनि लेखेका छन्। कतिले आफ्ना आख्यानमा गुफा विशेषको रोमाञ्चकारी वर्णन गरेका छन्। गुफालाई नै शीर्षक बनाएर पनि धेरै रचनाहरू प्रकाशित छन्।
गुफाको सम्बन्ध प्रकृति र भूगर्भसँगै मानव समाजको उत्पत्ति, विकास र सभ्यतासँग पनि जोडिएको मानिन्छ। यस विषयका अध्येताहरूले गुफाको महत्वलाई पर्यटकीय आकर्षणका दृष्टिले मात्र हेरेका छैनन्, पुरातत्व, इतिहास, भूगर्भ, धर्म, संस्कृति र सभ्यताको दृष्टिले पनि हेर्ने गरेका छन्। विश्वका कतिपय गुफाको अध्ययन, अनुसन्धान र अन्वेषणबाट मानव जातिसँगका अनेकन् पुरातात्िवक महत्वहरूको उद्घाटन भएको छ।
गुफा कुनै दैवीलीला र रहस्यको कुरा होइन। यो कुनै दैवी चमत्कारको कुरा पनि होइन। यो रहस्यभन्दा पनि वास्तविकता हो। यो मनगढन्ते कल्पनाभन्दा पनि कौतुहलता, खोज, अनुसन्धान, अन्वेषण र उत्खननको विषय हो। गुफा अलौकिक आश्चर्य होइन, प्राकृतिक यथार्थ हो। यो दैविक लीला होइन, भौगर्भिक तथ्य हो।
●●●
नेपाल गुफा नै गुफाको देश होइन। गुफा नै नेपालको प्रमुख परिचय पनि होइन तर पनि अन्वेषण भएका र अन्वेषण हुन बाँकी रहेका कतिपय गुफाका कारण पनि नेपाल रोमाञ्चकारी गुफाहरू भएका देशको रूपमा चित्रित छ। अन्यत्र पनि गुफाहरू भेटिएका छन् तर पोखरा र पर्वतमा रहेका गुफाकै कारण पनि नेपाल गुफाहरूको देशका रूपमा चित्रित हुने गरेको छ।
प्राकृतिक दृष्टिले आफैंमा सुन्दर सहर हो पोखरा। यो सहर रमणीय रहनुका अनेक कारणहरू छन्। भ्रमणका लागि जोसुकैका निम्ति पोखरा प्राथमिकतामा पर्ने गरेको छ। बाहिरबाट झ्वाट्ट देखिने पोखराको सौन्दर्यले त मान्छेलाई आकर्षित गर्छ नै, त्यसबाहेक यहाँ रहेका गुफाका कारण पनि पोखराप्रतिको आकर्षण बढेको छ। गुफाहरूमध्ये पनि महेन्द्र गुफाका नाममा चर्चित पोखरामा अहिले गुप्तेश्वर गुफा पनि चर्चामा रहन पुगेको छ। पोखराको महत्वलाई अझै बढाउने काम गुप्तेश्वर गुफाले गरेको छ। विश्वका गहिरा र लामा गुफाहरूको गणनामा गुप्तेश्वर गुफाको नाम लिने गरिएको छ।
गुफालाई कृत्रिम-कलाहरूबाट देवत्वकरण गरेर आम्दानी बढाउन व्यापार-व्यवसाय गर्न थालियो भने गुफाको प्राकृतिक महत्व नै के रहँला र ?
पोखराको दक्षिण पश्चिमको यो ठाउँ पहिले फड्केको खत्री तराका नामले चिनिँदो रहेछ। पहिले यहाँ एउटा खाल्डो थियो रे। त्यहाँबाट पानीको बाफ निस्कन्थ्यो रे। स्थानीय मानिसका अनुसार केही आँटिला युवाहरू आफ्नो साहसको प्रदर्शन गर्दै त्यस खाल्डोमा हाम फाल्थे अनि त्यहाँबाट माछा निकाल्थे। फड्केको खत्री तरा यसैमा रमाइरहेको थियो। यो ठाउँमा के छ भन्ने कुरामा मानिसहरूमा खासै चासो थिएन।
पछि आएर यस ठाउँको नाममात्र फेरिएन, परिचय पनि फेरियो। पहिले यो ठाउँ लुकुमस्वाँरा गाउँ विकास समितिअन्तर्गत थियो। २०३४ सालपछि यो ठाउँ गाउँबाट नगरमा प्रवेश गर्यो। लुकुमस्वाँरा गाउँ पोखरा नगरपालिकामा फेरियो। अहिले त यो ठाउँ उपमहानगरपालिका हुँदै महानगरपालिकामा उक्लिइसकेको छ। पोखरा उपत्यकाको मुख्य बजारबाट अलि परैको गाउँजस्तो यो ठाउँ अहिले सहर बजारमा परिणत भएको छ। पहिलेको गोरेटो बाटो अहिले फराकिलो सडकमा परिवर्तन भएको छ। पर्यटकीय एवम् धार्मिक परिचयमा यस ठाउँले अहिले धेरैलाई तान्ने गरेको छ। गुप्तेश्वर गुफा र डेभिज फल यतिबेला यस ठाउँका बलिया आकर्षण बनेका छन्।
पोखरा महानगरपालिकाको छोरेपाटनमा डेभिज फलदेखि एक-डेढ सय मिटरको दूरीमा रहेको छ- गुप्तेश्वर गुफा। ४०, ४५ वर्षअघिसम्म यस ठाउँका बारेमा अध्ययन-अनुसन्धान गर्ने चासो कसैले लिएको थिएन। यद्यपि यस ठाउँमा गुफा हुन सक्ने अनुमान र चर्चा भने पहिलेदेखि नै थियो। पछि आएर यस गुफाको अन्वेषण कसले, कसरी र कहिले गर्यो भन्ने कुरा पनि तथ्यगत आधारमा प्रामाणिक छैन। यसको अन्वेषणमा देश-विदेशका विभिन्न व्यक्ति÷व्यक्तित्वको संलग्नता रहेको अपुष्ट उल्लेख भने केही सन्दर्भ-सामग्रीहरूमा भेटिन्छ।
२०२६/०२७ सालतिर बेलायतीहरूको ‘ब्रिटिस कोर्स रिसर्च केभ एक्सपिडिसन’ भन्ने संस्थाका तर्फबाट यस ठाउँको अध्ययन गरिएको थियो। त्यसयता ९-१० वर्षसम्म यसका बारेमा थप अध्ययन-अनुसन्धान भएन। बेलायतको उही नै संस्थाले २०३६ सालतिर पुनः यस ठाउँको अध्ययन सुरु गर्यो। दुई वर्षपछि सोही संस्थाले गुफाको थप अन्वेषण गरेको थियो। उक्त अन्वेषणपश्चात् त्यही नै संस्थाले यस गुफाका बारेमा ‘एटलास अफ द ग्रेट केभ्स अफ द वल्र्ड’ नाममा महत्वपूर्ण जानकारीहरू प्रकाशित गरेको थियो। यस क्रममा बेलायतका भूगर्भवेत्ता रिचार्ड कार्डको भूमिका उपलब्धिपूर्ण रह्यो। उनले २०३५ सालदेखि दुई वर्ष लगाएर यस गुफाको अन्वेषण गरेका थिए।
गुफाको अन्वेषण भएको १० वर्ष बितिसकेपछि स्थानीय व्यक्तिहरू यस ठाउँको अवस्थालाई देखेर केही जागरूक बने। एउटा महत्वपूर्ण प्राकृतिक सम्पदा सिस्नुघारी र डम्पिङ साइटमा परिणत हुन थालेको देखेर उनीहरू चिन्तित बने। गुफा सञ्चालनका लागि स्थानीय व्यक्तिहरू आफैं अग्रसर भए। उनीहरूकै सक्रियतामा २०५० सालबाट यस गुफाको सञ्चालन सुरु भयो।
गुफाको नाम पहिले ‘गुप्तेश्वर गुफा’ थियो। पछि प्राकृतिक गुफाभित्र महादेवको कृत्रिम मूर्ति राखेर गुफाको नाम ‘गुप्तेश्वर महादेव गुफा’ राखियो। यस गुफाको नाम पहिले ‘गुप्तेश्वर गुफा’ चाहिँ कसरी रह्यो त रु यस बारेमा चित्तबुझ्दो उत्तर कसैसँग छैन।
एक स्थानीयका अनुसार- धेरै पहिले यस ठाउँका एकजना दलित केटा र बाहुनी केटीबीच प्रेम-सम्बन्ध भयो। उनीहरूबीचको प्रेम सबैतिर फैलियो। गाउँलेहरूले पिटेर गाउँ निकाला गर्ने भएपछि उनीहरू डराए। उनीहरू लुक्नका लागि गोप्य ठाउँको खोजीमा लागे। त्यसक्रममा दुवैजना त्यस गुफाभित्र छिर्न पुगे। गाउँलेहरू उनीहरूलाई धुइँधुइँती खोज्न थाले। त्यसरी खोज्ने सिलसिलामा ती दुई प्रेमीलाई गुप्त अवस्थामा गुफाभित्रै भेटे। त्यसपछि यो गुफाको नाम ‘गुप्तेश्वर गुफा’ रहन गएको हो। तर यो भनाइलाई मनगढन्ते कथा मान्नेहरू पनि छन्।
गुप्तेश्वर गुफा समुद्र सतहदेखि आठ सय मिटरको उचाइमा छ। अवस्थितिका दृष्टिले पनि गुफास्थल रमणीय छ। गुप्तेश्वर गुफा र डेभिज फलका कारण मानिसको आवत्जावत र गतिशीलता बढे पनि यहाँको वातावरण भने स्वच्छ नै देखिन्छ। यद्यपि, ‘पर्यटन-क्षेत्र’ का सम्पूर्ण मापदण्डको पालना गर्ने-गराउने र सोही मापदण्ड अनुरूपका आधारशिलाहरू तयार गर्ने काम भने बाँकी नै देखिन्छ।
मान्छेको बस्तीका बीचमा, घरैमुनि गुफा !यो कुरा धेरैको अनुमानभन्दा फरक लाग्न सक्छ किनभने मान्छेको बाक्लो बस्तीका बीचमा, मान्छेका घरैमुनि गुफाको कल्पना कसैले गर्दैन।
गुफाको प्रवेशद्वारबाट छिरेपछि अलिकति खुल्ला ठाउँ पार गर्नुपर्छ गुफा-यात्राका लागि। गुफा व्यवस्थापनसम्बन्धी कार्यालय तथा टिकट काउन्टरलाई अर्कैतिर छोडेर तलतिर झर्न थालेपछि सुरु हुन्छ एउटा रोमाञ्चक र कौतुहलतापूर्ण यात्रा। अर्थात गुप्तेश्वर गुफा-यात्रा। प्रकृति आफैं सौन्दर्य हो। प्राकृतिक रूपहरूको आफ्नै महत्व हुन्छ। गुप्तेश्वर गुफाको आकर्षण भनेको पनि प्राकृतिक नै हो। तथापि प्राकृतिक महत्वलाई अझै राम्रोसँग झल्काउने प्रयासमा प्रवेशद्वारसँगै निर्मित ‘कृत्रिम कला’हरूले गुफाको प्राकृतिक महत्वलाई नै विस्थापित गर्न खोजेको अनुभव हुन्छ।
गुफाको गहिराइतिर झर्नका लागि पक्की सिँढी बनाइएको छ। गुफा अवलोकनकर्ताहरूका लागि सुविधाजनक छ यो सिँढी। खुल्ला र उज्यालो भागबाट सुरुङभित्र छिर्दा अलिकति अत्यास पनि लाग्छ। तल, अझै तल। तेर्सो, सानो उकालो अनि फेरि ओरालो। फेरि तल, अझै तल। गुफाको गहिराइसँगै झर्दै जाँदा अनौठो मात्र लाग्दैन, कतिलाई डर पनि लाग्न सक्छ।
झन्डै ४० मिटर जति झरिसकेपछि अलि फराकिलो ठाउँ आइपुग्छ। त्यहाँ शिव, पार्वती, गणेश, नाग र मुसा सबैलाई समेटेर शिला-मूर्ति स्थापना गरिएको छ। यस मन्दिरको स्थापनाबाट प्राकृतिक गुफालाई धार्मिक स्वरूपमा ढाल्न खोजिएको अनुभव हुन्छ। गुफाभित्र मानव निर्मित कामधेनु गाईले दूध र गहुँत दिँदै गरेको दृश्य पनि देख्न सकिन्छ। यसलाई मानव निर्मित आकर्षणको रूपमा गुफाभित्र सजाइएको छ। प्राकृतिक आकर्षणका विरुद्ध कृत्रिमतालाई किन प्रोत्साहित गरिएको होला रु अवलोकनकर्ताहरूमध्ये कतिपयमा यस्तो प्रश्न उब्जिने आधारहरू पनि गुफाभित्र भेटिन्छन्।
गुफा अवलोकनकै क्रममा ‘प्राकृतिक ठाउँमा कृत्रिम कुराहरूको उपस्थिति कति नसुहाएको १’ कुमार नगरकोटी टिप्पणी गर्दै थिए। त्यही टिप्पणीमा सहमति जनाउँदै थिए घिमिरे युवराज, दीपक सापकोटा, राजकुमार बानियाँ, अभय श्रेष्ठ, गुरुङ सुशान्त र ईश्वर बुढाथोकी। कतिपय ठाउँमा ‘धर्मको नाममा व्यापार’ गर्ने प्रचलन पनि देखिएको छ। एउटा प्राकृतिक गुफाभित्र नवनिर्मित कृत्रिम-कलाहरू पनि त्यसैका आधार त होइनन् रु हामी सबैको प्रश्न थियो।
मन्दिरबाट अगाडि बढेपछि गुफा अझै चमकदार देखिन्छ। चुनयुक्त ढुंगाका कारण विभिन्न ठाउँमा अनेक किसिमका कलात्मक आकृतिहरूको कल्पना गर्ने अवसर पनि अवलोकनकर्ताहरूले पाउँछन्। तिनै ढुंगाबाट तपतप खस्ने कमेरे पानीका थोपाको सेचनले गुफाका अवलोकनकर्ताहरूलाई अर्को आनन्द दिन्छ।
गुफाभित्र गर्मी हुनुपर्ने तर हुँदैन। उकुसमुकुसको अनुभव हुनुपर्ने, त्यस्तो पनि हुँदैन। सास फेर्न गाह्रो हुनुपर्ने, त्यस्तो पनि हुँदैन। गुप्तेश्वर गुफा-यात्रामा जति अगाडि बढ्यो त्यति नै शीतल अनुभव हुन्छ। श्वासप्रश्वासमा पनि कुनै समस्या पर्दैन। बरु उल्टै शीतल हावाले आनन्द दिइरहेको जस्तो लाग्छ। अगाडि बढ्दाबढ्दै गुफाभित्र अचानक एउटा ठूलो छहरा देखा पर्छ। पूर्व आभासबिना गुफाको अवलोकन गर्नेहरू एक्कासि आश्चर्यमा पर्न सक्छन्- ‘गुफाभित्र यति ठूलो छहरा रु कस्तो मनोरम १ यस्तो कसरी भयो रु ’
गुफा अवलोकनको अन्तिम दृश्य वास्तवमै रोमाञ्चक अनुभव हुन्छ। गुफाको गहिराइसँगै सांगीतिक आवाजमा छङछङ गर्दै खसेको छ यो छहरा। गुफाभित्रको यो सुन्दर छहरा अगाडि उभिएर मुग्ध नहुने मान्छे को होला र रु केहीबेर उभिएर छहराको बाछिटाबाट भिज्नुको मज्जा अझ बेग्लै छ। यो उही डेभिज फल हो, जुन गुफाको गहिराइबाट हेर्दा झनै ठूलो, सुन्दर र रोमाञ्चक लाग्छ।
गुफाभित्रबाट देखिने डेभिज फलको सुन्दर छहरा गुफाभित्रै तलाउमा परिणत भएको छ। तलाउसम्म पुग्नेहरू भन्छन्- त्यहाँ गुफाभित्रै तीनतिर तीनवटा तलाउ छन् र ती अत्यन्तै सुन्दर छन्। दुईवटा तलाउ अलि वरै छन् भने एउटा तलाउ अलि पर छ। ती तलाउको अवलोकन भने अलि जोखिमपूर्ण पनि छ। छहरा रहेको ठाउँबाट तीनतिर गुफा देखिए पनि त्यहाँबाट अगाडि बढ्नका लागि सजिलो भने छैन। थोरैमात्र अगाडि बढ्न सक्नेले गुफाभित्रका सुन्दर तलाउहरूको अवलोकन गर्न सक्ने रहेछ।
यही छहरासम्म मात्र पुगेर टुंगिँदैन यो गुफा। गुफा कति लामो छ र यसको सीमा कहाँसम्म छ भन्ने कुराको अन्तिम अन्वेषण हुन अझै बाँकी छ। तथापि यो गुफाको लम्बाइ दुई हजार नौ सय ५९ मिटर रहेको अनुमान छ। गुफाभित्रबाट देखिने छहराको तल्लो तहबाट उत्तरतर्फ एक किलोमिटरको सुरुङ र दक्षिणतर्फ पनि एक-एक किलोमिटरका दुई सुरुङ देखिन्छन्। यी सुरुङ फुस्रे खोलासम्म पुगेर दोभानको रूपमा रहेको बताइन्छ। दक्षिणतर्फको एउटा सुरुङ त दक्षिण-पश्चिम हुँदै फेवातालसम्मै पुगेको र फेवातालको मुनिमुनि भएर अझै अगाडिसम्म फैलिएको हुन सक्ने अनुमान समेत कतिपयको छ। भूगर्भविद्हरूले पनि यसलाई दक्षिण एसियाकै सबैभन्दा लामो गुफाको रूपमा दाबी गरेको देखिन्छ।
मान्छेको बस्तीका बीचमा, घरैमुनि गुफा ! यो कुरा धेरैको अनुमानभन्दा फरक लाग्न सक्छ किनभने मान्छेको बाक्लो बस्तीका बीचमा, मान्छेका घरैमुनि गुफाको कल्पना कसैले गर्दैन होला। मुनि त्यति गहिरो गुफा छ, माथि घर र निर्भयसाथ घरमा बसिरहेका मान्छे १ कसैमा कुनै डर-त्रास छैन। सबै भयमुक्त छन्। कोही आफ्ना काममा छन्। कोही गफगाफमा छन्। कोही हाँसखेलमा छन्। कोही सुतिरहेका छन्। कोही खाइरहेका छन्। कोही हिँडिरहेका छन्।
जुन ठाउँको जमिनमुनि गुफा छ, त्यहाँ बस्नका लागि अलिकति डर पनि त हुनु पर्ने रु तर यहाँ कसैलाई कुनै डर छैन। गुफामाथिको जमिनमा बस्तीमात्र छैन, बेतोडले गाडीहरू दौडिने फराकिलो सडक पनि छ। यहाँको बस्तीलाई घना बस्तीभन्दा पनि हुन्छ। यस ठाउँमा ठूल्ठूला आधुनिक घरहरूसमेत बनेका छन्। ठाउँठाउँमा भासिएको, कतिपय ठाउँमा भासिने सम्भावना रहेको भनिने पोखराको यस ठाउँमा तल त्यति लामो र गहिरो गुफा हुँदाहुँदै पनि मानिसहरू गुफामाथि घर बनाएर, पसल थापेर र होटेल चलाएर बसिरहेकै छन्। सबै आआफ्नै व्यवसायमा ब्यस्त छन्। जमिन भासिएर केही हुने हो कि भन्ने डर कसैमा छैन। गुफामा देखिने वज्रभन्दा वज्र, अत्यन्तै कडा चट्टानले पनि उनीहरूको आत्मबल बढाएको हुन सक्छ।
यस ठाउँमा नयाँ घरहरू पनि बनिरहेकै छन्। पुरानाका ठाउँमा आधुनिक घरहरूको निर्माण पनि भइरहेकै छ। पहिलेका साना र कच्ची घरका ठाउँमा ठूला र पक्की घरहरूको निर्माण पनि जारी नै छ। एउटा घनाबस्तीको रूपमा विकसित भएको छ- गुप्तेश्वर गुफामाथिको यो ठाउँ।
गुप्तेश्वर गुफा देशकै एउटा महत्वपूर्ण सम्पदा हो। यो गुफा प्राकृतिक दृष्टिले एउटा विशिष्ट आकर्षण हो। नेपालका अन्य गुफाको तुलानामा यो गुफा भिन्न छ। प्राकृतिक दृष्टिले यो गुफा जति महत्वपूर्ण छ, यसको प्राकृतिक स्वरूपको मौलिकतालाई जोगाएर राख्नु त्यत्तिकै चुनौतीपूर्ण छ। कृत्रिम कुराहरूको निर्माण र स्थापनाबाट प्राकृतिक सम्पदाको महत्व कमजोर बन्न पुग्ने कुरातर्फ ध्यान दिनु जरुरी छ। देवीदेवताका कृत्रिम मूर्ति स्थापनाद्वारा प्राकृतिक सम्पदाको देवत्वकरण गरियो भने त्यो सम्पदाको महत्व रहँदैन। गुफालाई लिपपोत र सिँगारपटार नगरीकन आफ्नो प्राकृतिक स्वरूपमै रहन दिनुपर्छ। गुफालाई कृत्रिम-कलाहरूबाट देवत्वकरण गरेर आम्दानी बढाउन व्यापार-व्यवसाय गर्न थालियो भने गुफाको प्राकृतिक महत्व नै के रहला र ?