प्रेम भर्सेस परम्परा
प्रेमको चरम अभिव्यक्ति यौन हो। जीवशास्त्रीय दृष्टिले प्रेमको गन्तव्य यही हो। पूर्वी समाजले विवाहरहित अवस्थामा यसलाई पाप र कानुनले समेत अपराध ठान्छ। भारतीय सिनेमा ‘मसान’ले प्रेमी युवायुवतीको प्रेम र यौनसम्बन्धी यस्तै तिखा काँडाजस्ता सहस्र सवाल उठाउँछ। निर्देशक निरज घवनले पहिलो सिनेमाबाटै व्यावसायिक निर्देशकले कैयन् सिनेमाबाट नपाउने प्रशंसा पाएका थिए। सन् २०१५ मा यो सिनेमा संसारप्रसिद्ध क्यान्स फिल्म फेस्टिबलमा पुरस्कृत भयो।
प्रेम : एक रिहर्सल
झट्ट हेर्दा ‘मसान’ बनारस निवासी दुई जोडी प्रेमीको दुःखान्त र अन्तरसंघर्षको मार्मिक कथा हो। तर, यो त्यतिमै सीमित छैन। अन्तर्यमा यसले सिस्टम र प्रचलित संस्कृतिमाथि प्रश्न उठाउँछ। भौतिक युगमा विपरीत लिंगीबीच प्रेमको उत्कर्ष शारीरिक सम्बन्धबाटै व्यक्त हुन्छ। होटलको कोठामा युवाजोडी देवी पाठक र पीयूष सहवासमा लीन हुन्छन्। यो विवाहपूर्व यौन सम्बन्धलाई अवैधानिक ठानिने समाजमा प्रेमी जोडीले लुकिछिपी गर्नुपर्ने क्रियाकलापको अभिव्यक्ति हो। कथाको प्रस्थान विन्दु नै त्यहीँ छ। तिनीहरू पक्राउ पर्छन्। हेर्नुस्, यहाँ कति ठूलो वर्गभेद छ !
धन हुनेहरू फाइभ स्टार होटल पुग्छन्। त्यहाँ खुलमखुला उच्च मूल्यमा वेश्यावृत्ति चलिरहेकै हुन्छ। धनीमानीले रामरमाइलो गर्ने यी ठाउँमा प्रहरीले छापा मार्दैन। धन नहुने प्रेमीहरू सानातिना होटल, रेस्टुराँ, गेस्टहाउस, उपवन र वनजंगलको शरणमा पुग्छन्। त्यहाँ प्रहरीले सजिलै छापा मार्छ। अनि तिनको चोखो प्रेम अवैध घोषित भएर पक्राउ पर्छ। होचो सतहतिर बग्नु नदीको प्रकृति हो। मर्यादाका नाममा प्रेमी जोडीलाई पक्रनु नदीलाई अग्लो सतहतिर बगाउन खोज्नु हो।
प्रहरी यातना र सामाजिक कलंकको डरले प्रेमीले आत्महत्या गर्छ। बाँकी रहन्छ देवीको अथक संघर्ष र भ्रष्ट प्रहरीको बदनियत। देवीले आफूलाई दोषी नठान्नु स्वाभाविक हो। दुवैको सहमतिमा उनीहरूबीच शारीरिक सम्पर्क भएको थियो। हुतिहारा भएर प्रेमीले आत्महत्या नगरेको भए ऊ समाजको मध्ययुगीन रीतविरुद्ध बलियो भएर लड्न सक्थी। यता प्रहरी अधिकृत मोबाइलमा खिचिएको देवीको नग्न भिडियो देखाएर उसको बाबुसँग तीन लाख रुपैयाँ घूस माग्छ।
सिनेमामा समानान्तर रूपमा अर्को जोडी दीपक चौधरी र शालु गुप्ताको अन्तर्जातीय प्रेमकथा छ। दीपक मसानमा मुर्दा पोल्ने चाण्डालको छोरा हो। यही कुरामा उसलाई हीनताबोध छ। वर्ण व्यवस्थामा आधारित समाजले उसलाई दिएको उपहार यही हो। त्यही पेसा गरेर बाबुले उसलाई इन्जिनियरिङ पढाइरहेको हुन्छ। दीपक स्वयंलाई पनि लास जलाउन सधैँजसो व्यस्त हुनुपर्छ। यो रहस्य खुलिसकेपछि पनि शालु उसलाई साथ दिन्छे। पारिवारिक सहयोग नहुँदा भागेरै दीपकसँग जान तयार हुन्छे।
पूर्वी समाजमा युवावर्गले प्रेममा छुत, अछुत र जात व्यवस्थालाई चुनौती दिन थालेको यो सुन्दर संकेत हो। तर, तीर्थ यात्रामा जाँदा दुर्घटनामा परेर शालुको पूरै परिवारको मृत्यु हुन्छ। आफूले जलाउन लागेको लास आफ्नै प्रियतमाको हो भन्ने जब चाण्डाल प्रेमीलाई थाहा हुन्छ, त्यस्तो बेला उसको हालत के होला ? दीपक चौधरी यही कहालीलाग्दो समयसँग साक्षात्कार गर्छ।
यस्तो विषादमा सामाजिक कलंकविरुद्ध संघर्ष गरिरहेकी एक्ली देवी र घाइते दीपक बाँकी क्रूर समयको सामना कसरी गर्लान् ? ‘मसान’ले त्यही उच्च संवेदनालाई मर्मस्पर्शी शैलीमा उठाउँछ। तर, देवी पाठक व्यवस्थालाई चुनौती दिन सक्दिन। ऊ धैर्य त गुमाउँदिन, सामाजिक कलंकको डरले व्यवस्थाको अन्याय पनि चुपचाप सहिदिन्छे। व्यवस्थासँगको आत्मसमर्पण अत्यन्त घातक छ। आलोचनात्मक चेतना भएका कलाकृतिले सामाजिक समस्या उठाउनेमात्र होइन, समाधानका केही संकेत पनि गर्छन्। ‘मसान’ले यस्तो कुनै संकेत गर्दैन। आफ्नो प्रेम गर्ने अधिकारमाथि धावा बोल्ने, प्रेमीलाई आत्महत्या गर्न बाध्य पार्ने र उल्टै त्यसबापत घूस माग्ने प्रहरीको भण्डाफोर गर्न देवीले किन सकिन ? यहीँनिर प्रश्नको पीरो धुवाँले आँखा पोल्छ।
हो, व्यवस्थासँग एक्लो व्यक्ति सधैँ पराजित हुन्छ। तर, देवीले आँट गरेको भए उसलाई मिडिया र सामाजिक संघसंस्थाले सघाउँथे। प्रहरीलाई तीन लाख बुझाउन बाबुलाई सघाएपछि ‘बनारसको साँघुरो मानसिकताबाट मुक्त हुन’ देवी इलाहावाद जान्छे। प्रेममा चोट खाएको दीपक चौधरी पनि जागिरको सिलसिलामा त्यहीँ पुगेको हुन्छ। हरेक यात्राको अन्त्य अर्को यात्राको सुरुवात हो। समान भोगाइका मानिसहरू नै आखिर सबैभन्दा असल सहयात्री बन्न सक्छन् ! सिनेमाले दीपक र देवीको मिलनको सुन्दर संकेत गर्छ।
विवाह : यौनलाई सामाजिक स्वीकृति
सभ्यताको विकास क्रममा यौनलाई मर्यादित राख्न र सामाजिक स्वीकृति दिन विवाह संस्था खडा भयो। यो, परम्परावादी समाजमा यौन सम्पर्कका लागि लाइसेन्स दिने संस्था हो। महिलालाई पनि समान प्रजनन अधिकार वा विवाहको स्वतन्त्रता हुने हो भने यसलाई खराब भन्नुपर्ने कुनै कारण छैन। यो तब मात्र सम्भव हुन्छ जब महिलालाई पनि समान आर्थिक अधिकार प्राप्त हुन्छ। महिलाले समान आर्थिक अधिकार पाउने हो भने वेश्यावृत्तिको समस्या स्वतः हल हुँदै जान्छ। तर, परम्परावादी समाजमा निष्पाप उद्देश्यको विवाह संस्था कतिलाई झ्यालखाना भइदिन्छ।
ओशो रजनिश यसलाई भ्रष्ट संस्था मान्छन्। जब प्राकृतिक आवश्यकतालाई सामाजिक र नैतिक पर्खालहरूले जबर्जस्ती छेक्न खोजिन्छ, त्यहाँ केही न केही विस्फोट हुन्छ। नभए, चोरीसिकार हुन थाल्छ। पश्चिमा समाजमा यो संस्था कठोर छैन। त्यसैले त्यहाँ यो ठूलो समस्या पनि होइन। विवाहबिना पनि ती सँगै बस्छन्। मन फाटिन थालेपछि छुट्टिन्छन्। बच्चा भइसकेपछि पनि विवाह गरिहाल्नु जरुरी ठान्दैनन्। जब तिनको प्रेम परिपक्व हुन्छ, अनि विवाह हुन्छ। विवाहपछि पनि मन फाटिए सजिलै छुट्टिन्छन्। सजिलै अर्को पार्टनर खोज्छन् वा विवाह गर्छन्।
पूर्वी समाजमा विवाह जन्मजन्मान्तरको सम्बन्ध हो। विवाहमा तिनले यस्तै सपथ लिएका हुन्छन्। यौवनमै पत्नीको निधन भएमा पुरुषका हकमा यो बन्धन सजिलै तोडिन्छ। पत्नीको वर्षे काजकिरिया नसकी पतिलाई अर्की पत्नी ल्याउने सामाजिक स्वीकृति प्राप्त हुन्छ। यही कुरा महिलाका हकमा बन्धन हुन्छ। कुनै पुरुषसँग खुलेर हँसीमजाक गर्दासम्म उसमाथि चरित्रहीनताको आरोप लाग्छ। सामाजिक बन्धन तोडेर भागीचोरी गर्नेको कुरा बेग्लै, नत्र कुनै पनि विधवाले विवाह गर्ने कल्पना गर्नसम्म मुस्किल पर्छ।
विवाह त समाज निर्मित संस्था भयो। प्रेम र यौन प्राकृतिक कुरा। विवाह संस्था बन्नुअघि प्रकृतिमै यी कुरा थिए। विवाहबिना पनि यी कुरा रहनेछन्। अतः हिन्दु समाजमा सतिसाध्वी विधवा यो प्राकृतिक आवश्यकताबाट वञ्चित भएर अनेक मानसिक जटिलतामा फस्न बाध्य हुन्छे। कि उसले भागीचोरी विवाह गर्नुपर्ने हुन्छ। कि ऊ पनि ‘लुकीचोरी’ गर्न बाध्य हुन्छे। जब उसको चोरीसिकार पक्राउ पर्छ, उसले आफ्नो थातथलो छाडेर हिँड्नुपर्ने हुन सक्छ।
यौन अर्थात् प्रकृति
दर्शनशास्त्रीहरू विपरीत लिंगीबीचको प्रेम सम्बन्धलाई दुई भागमा विभाजित गर्छन्। प्लाटोनिक र फिजिकल रिलेसनसिप। प्लाटोनिक रिलेसनसिपको दायरा व्यापक हुन्छ। कतिले यसलाई ममता, मित्रता, करुणा र बन्धुत्वका रूपमा पनि अथ्र्याउँछन्। कतिले चाहिँ यस्तो प्रेमलाई आत्मिक र आध्यात्मिक ठान्छन्। जीवशास्त्रीहरूले यस्तो सम्बन्धलाई महत्व दिँदैनन्।
आधुनिक युगमा युवायुवतीको प्रेमको उत्कर्षचाहिँ फिजिकल रिलेसनसिपमै व्यक्त हुन्छ। त्यसैले यौनलाई मानवअधिकार मानिएको हो। अन्नपूर्ण राणाको मुद्दामा हाम्रो अदालतले बिहे नगरे पनि महिला आमा बन्न सक्छिन् भन्ने फैसला सुनायो। यसले बिहेअघिको शारीरिक सम्बन्धलाई अवैध ठानिदैन भन्ने नजिर स्थापित गर्छ। तर, धर्मभीरु समाजमा कानुनभन्दा सामाजिक नियमहरू अत्यन्त बलवान् हुन्छन्। सामाजिक रीत लत्याएर कोही पनि समाजमा टिक्न सक्दैन। त्यस्तो परिस्थितिमा पनि धैर्य नगुमाई जीवनको लडाइँमा होमिनु महत्वपूर्ण कुरा हो। ‘मसान’ मा देवीले यही गर्छे। उसको प्रेमीले आत्महत्या गर्यो। तीन लाख घूस नदिए प्रहरीले प्रेसलाई निम्त्याएर केस सार्वजनिक गरिदिने भयो। हिन्दु कर्मकाण्डका प्राध्यापक पिताका लागि यो रकम सानो थिएन। सामाजिक कलंकबाट बच्न र छोरीलाई बचाउन ऊ किस्ताबन्दीमा यो रकम बुझाउन तयार भयो। यस्तो स्थितिमा पनि छोरीले जागिर खाएर बाबुलाई सघाउन छाडिन।
पूर्वी समाजको यो ठूलो व्यंग्य हो। देवीले आफ्नो प्रेम गर्ने अधिकार उपयोग गरेबापत यस्तो सजाय भोग्नुपर्यो। नैतिकता, मूल्य र मान्यता सबै समाज निर्मित कुरा हुन्। यी कुरा नहुँदा पनि संसारमा प्रेम र यौनको अस्तित्व थियो। संसारका सारा प्राणीमा पुलिंग र स्त्रीलिंगबीच सहअस्तित्व हुन्छ। त्यहाँ विवाह आवश्यक हुँदैन। कति प्राणी त सेक्स र सन्तान उत्पादनकै लागि बाँचिरहेका हुन्छन्। जस्तो भाले मौरी। रानी मौरीसँग आकाशको उचाइमा पुग्न सक्ने भाले मौरी रानीसँग सहवास गर्छ र मर्छ। डा. योगी विकाशानन्द भन्छन्, ‘प्रकृतिमा विवाह कहीँ छैन, यौन जहीँतहीँ। मान्छेमा नियोकर्टेक्स ब्रेन हुनाले यौनपछि हुने सन्तान र लालनपालनमा पनि उसको दायित्व हुन्छ।’ ओशोका अनुसार यौनलाई माध्यम बनाएर मुक्तिको यात्रा पनि गर्न सकिन्छ।
अलिकति आध्यात्मिक हुने हो भने समाधिमा पुगेपछि यौनको आवश्यकता पर्दैन। तर, जब प्रेम र यौनलाई सामाजिक मान्यता र नैतिकताको डोरीले कस्न खोजिन्छ, त्यसका अनेक असरहरू देखिन्छन्। यस्तो समाजमा प्रेम र यौन सधैँ दमित हुन्छ। दमनले अनेक समस्या निम्त्याउँछ। देख्दा समाज मूल्य, मान्यता र नैतिकतामा चलिरहेको हुन्छ। तर, भित्रभित्र त्यहाँ लुकीचोरीका अनेक घटनाहरू भइरहेका हुन्छन्। प्रेम र यौनको अधिकार उपयोग गर्न विवाह अनिवार्य सामाजिक सर्त नबनाइएको भए देवी र पीयूषले लुकीचोरी सहवास गर्नु पर्दैनथ्यो।
महिलालाई पनि समान प्रजनन अधिकार हुने हो भने विवाहलाई खराब भन्नुपर्ने कुनै कारण छैन। यो तब मात्र सम्भव हुन्छ जब महिलालाई पनि समान आर्थिक अधिकार प्राप्त हुन्छ। महिलाले समान आर्थिक अधिकार पाउने हो भने वेश्यावृत्तिको समस्या स्वतः हल हुँदै जान्छ। तर, परम्परावादी समाजमा निष्पाप उद्देश्यको विवाह संस्था कतिलाई झ्यालखाना भइदिन्छ।
ओशो रजनीशले पूर्वी समाजमा आइन्सटाइन र मेरी क्युरी बन्नुपर्ने युवाहरू किन असफल छन् भन्नेबारे अत्यन्त रोचक व्याख्या गरेका छन्। उनका अनुसार यहाँका युवकको दिमाग चौबीसै घन्टा युवतीहरूको स्कर्टवरिपरि घुमिरहेको हुन्छ। अनि युवतीहरू चौबीसै घन्टा युवकलाई कसरी आफ्नो स्कर्टवरिपरि घुमाउने भनेर तल्लीन रहन्छन्। जब तिनको दिमागमा चौबीसै घन्टा यौनको मनोदशाले कब्जा गरिरहेको हुन्छ, त्यस अवस्थामा तिनीहरू कसरी आइन्सटाइन वा मेरी क्युरी बन्न सक्छन् ?
पूर्वी समाजमा सेक्स यति दमित नभएको भए तिनको दिमागमा बारम्बार त्यही कुरा घुमिरहने थिएन। देवी पाठक र पीयूषले पनि विवाहित जोडीको नाटक गरेर सहवास गर्नैलाई होटलको शरण लिनुपर्ने थिएन। तर, वर्गीय खाडल गहिरिँदै गएको समाजमा कैयन् युवायुवती कलेजको मुख देख्न नपाई पढाइ छाड्न बाध्य हुन्छन्। आइन्सटाइन वा मेरी क्युरी बन्नसक्ने तिनको सम्भावनाको हत्या गर्भमै भइसकेको हुन्छ।
ओशोको विचारको सार्थकता कहाँनिर छ भने यौन दमित भइरहेको समाजमा अवैध, कहाँसम्म भने हाडनाता करणी समेत लुकीचोरी भइरहेकै हुन्छ। रामरहिम वा आशाराम बाबुहरू किन जन्मन्छन् ? त्यसको जवाफ पनि ओशोकै विचारमा पाइन्छ। जहाँ मान्छेले आफ्नो प्राकृतिक आवश्यकता पूरा गर्न पाउँदैन, त्यहाँ चोरीसिकार हुनु स्वाभाविक हुन्छ। नेपाल, भारतजस्ता देशमा किन यति धेरै बलात्कारका घटनाहरू भइरहेका छन् ? एक, यी पुरुष सत्ता भएका पुँजीवादी देश हुन् जहाँ शब्दमा महिलालाई शक्ति स्वरूपा देवी भनिन्छ। व्यवहारमा पुरुषको उपभोग्या सामान मात्र ठानिन्छ। महिला पनि ठाँटबाँट र हाउभाउले त्यसैअनुरूप बन्न अभ्यस्त हुन्छन्। अतः यहाँ महिलाले बलात्कार गरेको घटना लगभग सुनिन्न। दुई, यो समाज दमित र कुण्ठित छ। यस्तो समाज बलात्कारका लागि सधैँ गोप्य अवसरको खोजीमा हुन्छ।
अन्त्यमा
‘मसान’ मा देवी र दीपकको प्रेमयात्रा सुरु भए पनि समस्या भने फेरि पनि यथावत रहन्छ। जब तिनीहरू पनि शरीरमार्फत प्रेम प्रकट गर्न खोज्छन्, त्यहाँ फेरि सामाजिक मर्यादा र नैतिकता सुरसाको मुख बाएर खडा हुन्छन्। सायद फेरि दीपकले आत्महत्या गर्नुपर्छ र देवीले फेरि उस्तै संघर्ष गर्नुपर्छ। अथवा देवीले आत्महत्या गर्नुपर्छ र दीपकले अनेक समस्या झेल्नुपर्छ।
पात्र र भूमिका फेरिए पनि समस्या जस्तातस्तै रहन्छ। यो सम्झनु मात्र पनि कति कहालीलाग्दो छ ! तर, न्यूनतम सामाजिक मर्यादा मात्र कायम गरेर यौनलाई यति वर्जित नगरे आधा समस्या त्यसै हल हुन्छ। नत्र, जति कडाइ गरे पनि समाजमा ‘चोरीसिकार’ चलिरहन्छ।