भान्जी दिदीका दुःख
उसले खुकुरी कम्मरमा लुकायो। बेलुका सँगै ल्याएर राखेकी केटीसँग फुसफुस गरी साउती गर्यो। मतानबाट झर्यो। बिरालाको चालमा भाइको घरतिर लाग्यो। बारीको कान्लामा छलिएर भाइ घरमा भए नभएको यकिन गर्यो। आँगनको पर्खालमा एकछिन उभियो।फटाफट गयो र भैंसीको दाम्लो फेर्न निहुरिएको भाइको घुँडामुनि छप्कायो। त्यसपछि ऊ पूर्वतिरको जंगल पस्यो। (यस बीभत्स घटनाको एकमात्र जीवित साक्षी, भान्जी दिदीले घटनाको बाँकी फेहरिस्त बताउनु हुनेछ।)
●●●
गत साल माघमा हामी भान्जी दिदीलाई भेट्न गयौं। डरैडरमा गेट खोलेँ। २५ वर्षअघि तिहारमा मैले भान्जी दिदीको हातको टीका लगाएको थिएँ। त्यसयता दिदीसँग भेट भएको छैन। कम्पाउन्ड छिर्नासाथ महलका कुकुरले सातो लिन्छन्।
मूल ढोकाको डोरबेल थिच्छु। मिनेटसम्म पनि कोही बाहिर निस्किँदैन। यो मानवविहीन घर त हैन ? कि म गलत घरमा छिरेँ ? हैन, यै घर हो। चाइनिज रातो इँटाले बनेको। होटेल द्वारिकाको आसपासमै छ, गौशाला नजिक। तर मान्छे किन निस्कँदैनन् ? मान्छे नबसेको घर त हैन? कम्पाउन्डतिर निस्कन्छु। साथमै रहेकी जीवनसंगिनी सुशीला बेञ्चीमै बसेकी छिन्। कुकुर कता थन्किए, थाहा छैन। मनमा कुकुरको डर भने थन्किएको छैन। घरको दक्षिणपट्टिको भुइँतलामा मसिनो गुनगुन सुन्छु। पर्दाले नढाकेको चेपबाट हेर्छु। ६०-७० उमेरका लोग्नेमान्छेहरू तास खेलिरहेका छन्। पर्दा हटाएर बोलाऊँ कि जस्तो लाग्छ। अर्काको घरमा त्यो धृष्टता गर्दिनँ।
केहीले ढाकाटोपी लगाएका छन्। पेन्सनवाला सरकारी कर्मचारीजस्तो लाग्छ। सायद तिनीहरूलाई बुढ्यौलीका दिनहरू बोझिला भएका छन्। दिन कटनीको मेलो तासबाहेक अरू के हुन सक्छ हाम्रो समाजमा ! बुढ्यौलीमा दिन काट्न गरिबलाई मात्र हैन, धनीलाई पनि गाह्रो हुने रहेछ। तासको सहारा। म उनीहरूको तास तन्मयमा हात हाल्नु उचित ठान्दिनँ। फर्किन्छु। फेरि थिच्छु डोरबेल। मूल ढोकाबाट मन्दमन्द पदचापका साथ घरमालिक्नी बाहिर आउँछिन्। ७५ कटेको बूढो शरीरमा ताज्जुबको स्फुर्ति देखिन्छ उनको। म भन्छु, ‘लक्ष्मी दिदीलाई भेट्न आएको, बोलाइदिनु न।’ ‘को लक्ष्मी, किन लक्ष्मी, कहाँबाट आएको, उनको को हो तपाईं ? ’
●●●
भान्जी दिदी मेरो हजुरबाकी भान्जी हुनुहुन्छ। हजुरआमा भान्जी दिदीलाई असाध्यै माया गर्नुहुन्थ्यो। भान्जी दिदीसित मेरा अनेक किस्सा जोडिएका छन्। २००३ सालमा हजुरबा र कान्छो हजुरबा दोलखा, मेलुङबाट मिल्ती खोलापारि रामेछापको फुलासी सर्नुभयो। जेठो हजुरबाको परिवार मेलुङमै बस्यो। २००८ सालमा भान्जी दिदी हाम्रो घरमा आउनुभएको रहेछ। उहाँ हाम्रोमा आएको ६ वर्षपछि म जन्मिएको रे। भान्जी दिदी २०३८ सालसम्म हाम्रोमा बस्नुभयो। गाउँमा टिक्नै नसक्ने भएपछि भान्से बस्न सहर हान्निनु भएछ।
भान्जी दिदीको सात वर्षमै बिहे भएछ। बिहेअघि लक्ष्मी घिमिरे, बिहेपछि लक्ष्मी पोखरेल। काभ्रे, मैनापोखरी माइती। घर दोलखाको मालु। अनुहार यादै नभई लोग्नेले माटो खाएछन् ! २ वर्षमा विधवा। त्यसपछि मावलीको शरण। अनि सुरु भएछ, दुःखको अनन्त शृंखला। ती दुःखका पहाडहरूमा यौवनमा आँखा लगाउनेहरूसँग जोगिएर हिँड्नुभयो। २० वर्ष मावली बस्नुभयो। मेरी आमालाई घरव्यवहार पढाउनुभयो। मेरा काकाहरूलाई हुर्काउनुभयो। मलाई तातेताते गराउँदै हिँड्न सिकाउनुभयो। निरक्षर भए पनि खासमा भान्जी दिदी एक असल ‘गुरुआमा’ बन्नुभयो।
अग्लाअग्ला रूखबाट घाँस झार्न भान्जी दिदी। मुरीको धानको धोक्रो बोक्न भान्जी दिदी। नाम्लेफेराका मुढा चिर्न भान्जी दिदी। हलो समात्नबाहेक सबै काममा भान्जी दिदी। दिदीले सबैलाई रिझाएर बस्नुभयो। बुहारीहरू भित्रिएपछि दिदी अरूका लागि ‘अर्घेलो’ बन्नुभयो। छुट्ट्याएर राखियो, मतानमा। सम्झन्छु, भान्जी दिदीका ती कष्टका दिनहरू। भान्जी दिदी मेरी आमासँग गिठ्ठाभ्याकुर खोज्न वनमा जानुहुन्थ्यो। भात खान दसैंतिहार र तिथि सराद्धै पर्खनुपथ्र्यो। गरिबीको त्यो दुर्दान्त कथाले आज पनि मुटु हल्लाउँछ बेलाबेलामा।
एकपटक भान्जी दिदी कान्छी बहिनी भेट्न चरीकोट जानुहुने भयो। मलाई साथी लैजान मेरी आमासँग अनुमति माग्नुभयो। म भान्जी दिदीसँग चरीकोट जाने भएँ। हिँउदको बेला थियो, म दिदीको अघि लागेर हिँडेँ। बिहानै हिँडेको, घाम पहेँलिएर डुब्नै लाग्दा हामी किराँतीछाप पुग्यौं। मैले सडकको मुख देखेको थिइनँ, सडक देखेँ। तलबाट ढर्रर्र गर्दै दुई पाङ्ग्रे आयो। म डरले थुरथुर भएर झाडीतिर पसेँ। त्यो दुई पाङ्ग्रेले मलाई नै लखेटेझैँ लाग्यो। दिदीले भन्नुभयो, ‘बाटो छाड्दिनुपर्छ, त्यसले केई गर्दैन।’
दुई पाङग्रेको कर्कश आवाज सेलाउन नपाउँदै चार पाङ्ग्रे आइपुग्यो। अब कता भाग्ने होला रु म खोलातिर हाम फाल्न लागेको देखेर दिदीले च्याप्पै समात्नुभयो। हत्तेरी ! दिदीले नसमातेको भए सायद खोलाबाट मेरो लास निस्कन्थ्यो। हामी उक्लिँदो छौं। जाडो बढ्दो छ। मुटु काम्दो छ। पिलपिले कमिज सुरुवालले के धानोस् ! तल्लो घरको रामकिस्नका कपडाका जुत्ता मागेर लगाएको छु। मोजा छैनन्। खुट्टा झर्नै लागेजस्तो भएको छ। साँझमा हामी कान्छी दिदीको घरमा पुग्यौं। तीन दिन चरीकोटको कंश जाडो खाएर हामी घर फर्कियौं।
मतानको साँघुरोमा भान्जी दिदीको भान्सा थियो। छेउमा बाख्राको खोर, नजिकै गाई। कहिले त दिदीकोे अगेनु गोबर र बड्कुँलाले पुरिएको हुन्थ्यो। गोबर र बड्कुँला पन्छाएर दिदी आगो जोर्नुहुन्थ्यो। आगोमा प्राण भर्न फोक्सो फुल्ने गरी फुक्नुहुन्थ्यो।
●●●
मालिक्नी भान्जी दिदीलाई बोलाइदिन भित्र पस्छिन्। दिदी आउनुभयो। हल्का हरिया आँखा, गोरो छाला। ७८ वसन्तले पाको बनाएको सेतो तर बाक्लो कपाल। मुजा परेको अनुहार। मलाई ठम्याउन सक्नुभएन। आफैँले आफ्नो नाम र नाता भनिदिएपछि खुसीका आँसु तरक्क खसाल्नुभयो। अनुहारमा रुन्चेहाँसो देखियो। दिदीको हेरचाहको लागि साहिँली दिदी आइरहनु हुँदोरहेछ। साइली दिदीको पनि कथा उस्तै छन्, दर्दनाक। केटाकेटीमै लोग्नेले सौता हालेपछि घर छाडेर भान्से बस्न सहर पस्नुभएको हो साइली दिदी पनि।
दुइटी दिदीको सामुन्नेमा हामी छौं। अलिपर घरमालिक्नी छिन्। पाण्डे थरका रहेछन् उनीहरू। मालिक नेपाल सरकारको माथिल्लै तहको कर्मचारी भएर रिटायर्ड भएका रहेछन्। मालिक्नी हाम्रा कुरा नसुनेझैँ गरी सुनिरहेकी थिइन्। दिदी दीर्घ रोगी हुनुहुन्छ। स्तन क्यान्सर भएको छ। ६ वर्ष भयो रोगले भेटेको। उपचारमा लागेको खर्चको के हिसाब ! सबै खर्च मालिकहरूले नै बेहोरेका छन्। अहिले दिदीलाई नियमित किमो दिनुपर्ने रहेछ। मैले अलि बढी भावुक भएर मालिक्नीलाई सोधेँ, ‘तपाईंहरूको सद्व्यवहारको कुरा कतै पत्रिकामा लेखौं हजुर रु मानवताको खडेरी परेको बेला, यस्तो सेवाभाव विरलै पाइन्छ।’
उनले ‘हुन्छ, लेख्नुस्’ भनिन्। तर उनको मन तत्कालै बदलियो। भनिन्, ‘३५ वर्ष एउटै परिवार भएर बसेका छौं। पहिले उनले हाम्रो सेवा गरिन्, अहिले हामी उनको सेवा गर्दैछौं। के नौलो भएको छ र ? उनको सेवा गर्न पाइरहुँ। हामीलाई पत्रिकामा आउने रहर छैन।’ओहो सहरमा मानवताको सम्पूर्ण अवशान भएको रहेनछ। बाँकी रहेछ बीउ कतैकतै। सबै महल खराब महल हैन रहेछन्।
●●●
भान्जी दिदी सानो स्वरमा आफ्नो विगत पोख्न थाल्नुभयो। गाउँका मानिसको सोधखोज गर्नुभयो। आँखामा टिलपिल आँसु देखियो। हामीले पनि आँसु थाम्न सकेनौं। भान्जी दिदी पोखिन थाल्नुभयो, ‘भाइ, दुःख त कति गरियो कति। तिम्री आमा र मैले जति दुःख त कसले गर्यो होला र ! हामीले दुइटीले ढुंगा बोकेर, माटो मुछेर बनाएको घर भुइँचालोले भत्कायो होला। त्यो घर बनाउँदा एकजना ज्यामी पनि लगाएको हैन। त्यसबेला तिम्रा बुबा र काकाहरू सानै पनि थिए।’
दिदीले अझै भन्नुभयो, ‘असोज लागेको मात्र थियो। जेठो मामाले अर्की स्वास्नी ल्याएको हामी कसैलाई थाहा थिएन। राति दुवैजना अलि माथिको मतानमा बास बसेछन्। अघिल्लो दिन माइलो मामा मेलुङको बुधबारे हाट जानुभएको थियो। हाटमा दसैंका कपडा किनेर बालीको दमाईकोमा पुर्याउन जानुभएको रहेछ। बेलुका आउनुभएन। भोलिपल्ट आउनुभयो। दाजुभाइको त्यस्तो नराम्रो केही थिएन। भैंसी आँगनमै बाँधिएको थियो। चुँडिन लागेको दाम्लो फेर्न निहुरिँदा पछाडिबाट पिँडुलामा खुकुरीले छप्काइहाले। भाइलाई काटेपछि दाइ भागे। अर्को कोही त्यहाँ भैदिएको भए उनलाई समात्न सकिन्थ्यो। होसै हराइहाल्यो। तिम्री आमा माइतबाटै खोलातिर घाँस काट्न आएकी रहिछन्। जेठा ससुरालाई देखिछन्। ढोगुँभन्दा कुलैकुला चप्पट कसेछन्। ज्यान मारेर भागेको मान्छे किन अडिन्थ्यो !
मामालाई काट्दा माइजु मात्रै घरमा हुनुहुन्थ्यो। तिम्रो बुवा र म बारीमा घाँस काट्न गएका थियौं। माइजू चिच्याएपछि हामी कुदेर पुग्यौं। मलाई पुलुक्क हेर्नुभयो। ‘भान्जी !’ भन्नुभयो। माइजू एकदमै हडबडाउनुभएको थियो। मैले मामालाई पानीमा तुलसीको पात हालेर पियाएँ। नलीखुट्टाको हाड मात्रै छिन्न बाँकी थियो। रगतको भुल्का पाँच हात पर पुग्यो। आँगन रगतको आहाल भयो। काटेको ठाउँमा मैले लुगा कोचेँ। खुकुरीले पूरै ढुंग्रो बनाएको थियो। रगत के रोकिन्थ्यो ! हेर्दाहेर्दै मामाको सास गइहाल्यो।
के गर्ने, कसो गर्ने सोच्नै सकेनौं। गाउँका मानिसहरू जम्मा हुन थाले। बेलुका माइतबाट तिम्री आमा आइपुगिन्। लास उठाउने कुरा भएन। डोर ९सरकारी कर्मचारी० लिन चरीकोट पुग्नुपथ्र्यो। गर्मीले लास बेल्काबाटै गन्हाउन थाल्यो। डोर आज आउला, भोलि आउला भन्दाभन्दै ६ दिन बित्यो। लास गलेर फतक्कै भयो। गन्धले गाउँमै बस्न नसकिने भयो। कठप्वालमा तीतेपाथी खाँद्यौँ। ढोका बन्द गरेर झ्यालबाट भित्र पस्न थाल्यौं। ६ दिन ६ रात मामाको लास रुग्यौं !
सात दिनपछि एक हूल डोर आइपुग्यो। केके लेख्दालेख्दै दिन बितिगो। डोरले लास उठाउन दिएन। केराको घरी, एउटा बोको र केही पैसा टक्र््याएपछि लास ‘सद्गत गर्नु’ भन्यो। भन्भन्ती झिंगा भन्केका थिए। नाकै फुट्लाभैंm हुँदा पनि फतफत भुईंमा झरेको लासका टुक्रा जम्मा पार्र्यौं। प्लास्टिकमा हालेर पल्लो गैरोमा लगेर सद्गत गर्यौं।’
●●●
भान्जी दिदीले एउटा परिवारको बीभत्स इतिहास बताउनुभयो। रगतले पोतिएको कहानी सक्नुभयो। सुन्दासुन्दै गालाभरि आँसु लत्पतिएछ। हामी हिँड्ने तरखरमा लाग्यौं। अन्तिममा भान्जी दिदीले भन्नुभयो, ‘भाइ, अहिलेसम्म भत्ता लिएको छैन। के गर्नुपर्छ, सक्छौ भने मालुतिर बुझ है ! ’ मैले भनेँ, ‘हुन्छ दिदी। म बुझौंला।’
भान्जी दिदीको वृद्धभत्ताको लागि म प्रमाण पुर्याउन सक्दिनँ। कसकी छोरी ? कसकी बुहारी ? कता नागरिकता रु कता नाता(प्रमाण रु नेपालको ढिट कर्मचारीतन्त्र जनताको भावना छाम्दैन, रगत-पसिना छाम्छ।