आईक्याप कार्यक्रममा कांग्रेसको आपत्ति

आईक्याप कार्यक्रममा कांग्रेसको आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको सहआयोजनमा आईक्यापसहितले गर्न लागेको ‘एसिया प्यासिफिक समिट–२०१८’ मा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पत्रकार सम्मेलन गरी कार्यक्रम आयोजनामा सरकार चुकेको भन्दै योे राष्ट्रिय लज्जाको विषय भएको दाबी गरे।

प्रवक्ता शर्माले निम्तो कार्डमा समेत संसद्को लोगो अपमान हुने गरी तल प्रयोग गरिएको भन्दै आपत्ति जनाए। ‘यस प्रकारका कार्यक्रममा कांग्रेसको संस्थागत सहभागिता हुने छैन’, उनले भने। शर्माले बाहिर चर्चा भएजस्तो एउटा संस्थाले धर्म प्रचारका लागि गर्न लागेको कार्यक्रमले देशकै बेइज्जत हुने भन्दै सरकारलाई सचेत हुन आग्रह गरे। मंसिर १५ गते हुने कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनसहित दर्जनौं देशमा मन्त्री काठमाडौं आउँदै छन्।

विवादास्पद संस्थाले कार्यक्रम आयोजना गरेको छ। सरकार, प्रतिनिधिसभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा सम्मेलन हुँदैछ। ‘देशमा सरकारको उपस्थिति कहीँ नदेखिएका बेला सरकार यस्तो कार्यक्रममा देखिनु दुखद हो’, उनले भने, ‘निर्मला पन्तका बुवाआमा बहुलाएको अवस्था छ। कपिलवस्तुमा प्रदेशसभा सदस्यको हत्या भएको छ। सुनसरीमा फिदा हुसेन मियाँको हत्या भएको छ। सरकार छ भन्ने प्रत्याभूति दिन छाडेर सरकार यस्ता काममा लागेको छ।’

राजधानीस्थित होटल हायातमा सम्मेलनको तयारी भइरहेको छ। सम्मेलनमा प्रधानमन्त्री केपी ओली, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, तुभालुका राष्ट्रप्रमुख लाकोबा टाइया इटालेनीलगायत सहभागी हुने भनिएको छ। सरकारले अतिथि स्वागतको जिम्मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएको छ। सरकारले आयोजना गरेको बिम्स्टेक शिखर सम्मेलनमा पोखरेलले नै विशिष्ट पाहुनाको स्वागत गरेका थिए। सरकारले बिम्स्टेकसरह हैसियत दिएर यो सम्मेलन गर्न लागेको छ।

बैठकको तयारी पूरा

कांग्रेसको आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको तयारी पूरा भएको प्रवक्ता शर्माले बताए। उनले बैठकमा विधान मस्यौदा समितिले प्रतिवेदन पेस गर्ने बताए। केन्द्रीय सदस्यलाई विधान मस्यौदा अध्ययन गर्न २/३ दिनको समय दिइनेछ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान समिति शनिबार राति अबेरसम्म बैठक बसेको थियो। केही बुँदामा समितिभित्र पनि फरक मत देखिएकाले मस्यौदा विकल्पसहित बनाइएको छ। केन्द्रीय सदस्यको धारणापछि त्यसलाई अन्तिम रूप दिने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.