सरस्वतीको पहिलो जित
काठमाडौं : अफ्रिकी खेलाडीले दमदार प्रदर्शन गरेपछि सरस्वती युथ क्लब बल पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगका पहिलो जित हात पारेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो।
सरस्वतीको जितमा सबै गोल विदेश खेलाडीले गरे। पहिलो हाफमा १–० को अग्रता बनाएको सरस्वतीले दोस्रो हाफमा दुई गोल थपेको थियो। १२औं मिनेटमा सरस्वतीका अफ्रिकन खेलाडी भिक्टोरले खाता खोले। उनले डीबक्स भित्र फ्रेन्ड्सका रक्षकलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए। ७३आंै मिनेटमा फ्रान्सिसले गोल गर्दै सरस्वतीको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा एकपछि अर्को गोलको अवसर बनाएको सरस्वतीका ओलुसो इब्राहिमले तेस्रो गोल गर्दै टोलीको जित सहज बनाए।
खेलभर सरस्वतीको दबाब झेलेको फ्रेन्ड्सले गोल गर्न लायक अवसर बनाउन सकेन। खेलमा पहिलो गोल गरेका सरस्वतीका भिक्टोर म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। जितसँगै सरस्वतीले तीन अंक बनाएको छ। यसअघिका दुई खेलमा यसअघि संकटा र हिमालयन शेर्पा क्लबसँग पराजित भएको थियो। लिगमा कमजोर देखिएको फ्रेन्ड्सले भने लगातार तीन खेलमै हार खेपेको छ। फ्रेन्ड्स यसअघि थ्रीस्टार र एपीएफसँग पराजित भएको थियो।
जाउलाखेलमाथि शेर्पाको सनसनी
हल्चोक मैदानमै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले जाउलाखेल युवा क्लबमाथि सनसनी पूर्ण जित हात पारेको छ। शेर्पाले जाउलाखेललाई २–१ गोलले पराजित हरायो। शेर्पाको जितमा दुवै गोल कर्ण लिम्बूले गरे। उनले ६६औं मिनेटमा गोल गर्दै टोलीको उत्साह बढाएका थिए। ७५औं मिनेटमा अर्को गोल थप्दै कर्णले शेर्पाको जित सुनिश्चित बनाएका थिए। कर्ण खेलको म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पनि पाए।
जावलाखेलले आत्मघाती गोल सहयोग पाए पनि अर्को गोल फर्काउन सकेन। ८६औं मिनेटमा बल बचाउनले क्रममा शेर्पाका आशिष गुरुङको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो। शेर्पाको तुलनामा कमजोर देखिएको जावलाखेलले अन्तिम सममा बराबरी गोल फर्काउने मौका गुमाएको थियो। जितसँगै तीन खेलबाट सात अंक बनाएको शेर्पा तालिकाको चौथो स्थानमा उक्लिएको छ।
यसअघि शेर्पाले पहिलो खेलमा एपीएफसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा शेर्पाले सरस्वती क्लबलाई १–० गोलले हराएको थियो। जाउलाखेलले अझै खाता खोल्न सकेको छैन। तीनवटै खेलमा पराजित जाउलाखेल पहिलो खेलमा नेपाल पुलिससँग १–० गोलले पराजित भएको थियो। दोस्रो खेलमा पनि जाउलाखेलले १० खेलाडीमा सीमित संकटासँग २–० गोलको हार खेपेको थियो। ०००