हाटबजारले किसानलाई सहज
सुर्खेत : पञ्चपुरी नगरपालिकास्थित बरैचे निवासी हरिकला अधिकारीले हिजोआज धानको साटो पिडालु खेती सुरु गरेकी छन्। कुनैबेला घरायसी प्रयोगका लागि मात्र पिडालु खेती गर्दै आएकी उनले पछिल्लो समय व्यावसायिक रूपमा नै यसको उत्पादनमा लागेकी हुन्। नजिकैको हाटबजारले सामान बिक्री गर्न समस्या नभएपछि उनले धानखेती हुने बारीमा अहिले पिडालु लगाउन थालेको बताइन्।
सालकोटका किसान धनीराम सापकोटा हरेक शनिबार बाबियाचौरमा लाग्ने हाटबजारमा पुग्छन्। उनले यसरी नै बारीमा उत्पादन भएको टमाटर र खुर्सानी बिक्री गर्न थालेको तीन वर्ष भयो। पहिला उत्पादन खेर जाने गरेको सुनाउने उनले अचेल हाटबजारले बिक्री गर्न समस्या नभएको बताए। हाटबजारमा ल्याएको दुई घण्टामै बिक्री हुने र भनेको मूल्य पाइने उनले सुनाए।
पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा हरेक शनिबार लाग्ने हाटबजारका कारण पश्चिम सुर्खेतका किसानलाई पनि सहज भएको छ। त्यतिमात्र होइन, कृषि उत्पादन साटासाट गर्ने माध्यम पनि हाटबजार नै बनेको हो। हाटबजारमा हरेक शनिबार उत्पादक र खरिदकर्ताको भीड नै लाग्छ। हाटबजारमा खसीबोकादेखि सिन्कीसम्म बिक्रीका लागि ल्याउने गरिएको छ। हाटबजारमै खसी खरिदका लागि पुगेका बराहताल–५ का नरेन्द्र खड्काले भने, ‘यो हाटबजारले हामीलाई सजिलो भएको छ। हामी किसानका घरघरमा पुग्नुपर्ने बाध्यता छैन। किसानले खसीबोका यहाँ ल्याउँछन्, हामीले मोलमोलाइ गरेर खरिद गर्छौं।’
उनले हाटबजारबाट खरिद गरिएका खसीबोका पोखरा र काठमाडौंसम्म लगेर बिक्री गर्ने गरेको सुनाए। व्यापारीहरू हाटबजारमा नै पुग्ने भएपछि किसानलाई पनि बिक्री नहुने चिन्ता हराएको छ। चाहेकै मूल्यमा सामान बिक्री हुन थालेपछि यस क्षेत्रका किसान उत्पादन बढाउनेतर्फ लागेका छन्। डोकोमा हरियो तरकारी बोकेर हाटबजार जाँदै चन्द्रा रावतले भनिन्, ‘पहिला त बारीमा आफूलाई खान मात्र खेती गथ्र्याैं, अहिले हाटबजारमै ल्याएर बिक्री गर्छौं।’
यहाँ किसानले उत्पादन गरेका तरकारी, फलफूल, जडीबुटी र पशुपंक्षी बिक्रीका लागि ल्याउने गरिन्छ। हाटबजार सञ्चालनमा आएपछि स्थानीय किसानले हिजोआज आफ्नो उत्पादन बढाएका छन्। विगतमा गुजाराका लागि मात्र उत्पादन गर्दै आएका किसानले अहिले व्यावसायिक रूपमा नै उत्पादन गर्न थालेका हुन्। यसले बजारको माग पूर्णरूपमा धानेको छ भने आयात पनि घटेको छ। हाटबजारमा सस्तो मूल्यमा तरकारी उपलब्ध हुने भएपछि जिल्लाबाहिर पनि पठाउने गरेका छन्। हाटबजारले स्थानीयको आम्दानीमा पनि वृद्धि भएको छ।
हाटबजारका कारण किसानको आयस्तर वृद्धि भएपछि पञ्चपुरी नगरपालिकाले यसलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ। हाल साताको शनिबार एकदिन मात्र सञ्चालन हुँदै आएको हाटबजारलाई हप्ताको दुईदिन बनाइने नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले भने, ‘हाटबजारले स्थानीय उत्पादनमा वृद्धि भएको छ, आयात हुन छोडेको छ। अब हामी हप्ताको दुईदिन हाटबजार सञ्चालन गर्ने योजनामा छौं।’