घट्यो बैंकको प्रतिसेयर आम्दानी
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूका सेयरधनीले १५ प्रतिशत आम्दानी गरेका छन्। यसको अर्थ सेयर लगानीकर्ताले एक सय रुपैयाँ बैंकमा लगानी गर्दा १५ रुपैयाँ कमाइ भएको छ। यस्तो कमाइलाई सेयरधनीको आम्दानी अर्थात् रिटर्न अन इक्विटी (आरओई) भनिन्छ। चालु आवमा २८ वटा वाणिज्य बैंकको १५.२४ प्रतिशत आरओई छ। गत आर्थिक वर्ष वाणिज्य बैंकका सेयरधनीले प्रतिसेयर १५.३८ प्रतिशत आम्दानी गरेका थिए।
चालु आवको पहिलो त्रैमासमा नेपाल बैंक वाहेक सबै वाणिज्य बैंकले नाफा बढाएका छन्। अधिकांश बैंकको नाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको छ। नाफाकै तुलनामा प्रतिसेयर आम्दानी पनि बढ्दै जानुपर्ने सैद्धान्तिक मान्यता हो। तर, छोटो समयमै चुक्ता पुँजी वृद्धि गर्नु र प्रतिस्पर्धी बजारका कारण यस्तो अवस्था आएको हो।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बढेको पुँजीले सेयर संख्या थप्दा प्रतिसेयर आम्दानी घटेको जानकारी दिए। ‘पुँजी बढ्यो तर त्यस अनुपातमा नाफा बढ्न सकेन’, उनले भने, ‘त्यसैले आम्दानी घटेको हो।’ राष्ट्र बैंकले तीन वर्ष अघि दुई अर्बको चुक्ता पुँजी बढाएर आठ अर्ब पु¥याउने योजना ल्याएको थियो। यो योजनाअनुसार बैंकमा पुँजीसँगै सेयर संख्या पनि थपिएको छ। अहिले नै सेयर धनीले राम्रो प्रतिफल पाउन नसके पनि अबका भने प्रतिसेयर आम्दानी बढ्दै जाने ढुंगाना बताउँछन्।
उनका अनुसार चुक्ता पुँजी वृद्धिले सेयर संख्या पनि धेरै बढ्यो तर नाफा एकैपटक त्यही दरमा बढ्न सक्ने भएन, यसको असर प्रतिसेयर आम्दानीमा परेको हो। पुँजी बढाउन बैंकहरूले ठूलो परिमाणमा हकप्रद सेयर जारी गर्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको हो। चालु आवको पहिलो त्रैमासमा एनआईसी एसिया बैंक र प्रभु बैंकले उल्लेख्यरूपमा प्रतिसेयर आम्दानी वृद्धि गरेका छन्।
एनआईसी एसियाले गत असारसम्म १५ रुपैयाँ ४३ पैसा रहेको प्रतिसेयर आम्दानी पहिलो त्रैमासमै नौ रुपैयाँभन्दा बढीले बढेर २५ रुपैयाँ २४ पैसा पुगेको छ। बैंकको आरओई गत आवको पहिलो त्रैमासमा भने करिब ११ रुपैयाँमात्रै थियो। प्रभु बैंकले पनि गत असारमसान्तको तुलनामा नौ रुपैयाँभन्दा बढीले प्रतिसेयर आम्दानी बढाएको छ। बैंकको गत आवको अन्त्यमा नौ रुपैयाँ २३ पैसा रहेको प्रतिसेयर आम्दानी यस आवको पहिलो त्रैमासमा बढेर १९ रुपैयाँ १६ पैसा पुगेको छ।
अधिकांश बैंकको नाफा बढे पनि प्रतिसेयर आम्दानी घटेको छ। छोटो समयमै चुक्ता पुँजी वृद्धि गर्नु र प्रतिस्पर्धी बजारका कारण यस्तो अवस्था आएको हो।
प्रमु, प्राइम, सानिमा, हिमालय, माछापुच्छ«े, कुमारी, जनता, नेपाल बैंक, मेगा र सिभिल बैंकले केही मात्रामा प्रतिसेयर आम्दानी बढाए पनि अन्यको घटेको छ। प्रतिसेयर आम्दानी सबैभन्दा थोरै सिभिल बैंकले बढाएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक, सिटिजन, सेन्चुरीले भने केही हदसम्म प्रतिसेयर आम्दानी सन्तुलनमा राखेका छन्। गत आवको अन्त्यको तुलनामा अन्य बैंकको आरओई भने घटेको देखिन्छ।
बैंकर्सहरूका अनुसार पुँजी वृद्धिपछि बैंकको व्यवसाय सोही अनुपातमा बढ्न सकेको छैन। पहिलो त्रैमासमा नेपाल बैंक वाहेक अन्य २७ वटाको नाफा बढेको छ। नेपाल बैंकको नाफा घटे पनि प्रतिसेयर आम्दानी बढेको छ। राष्ट्रिय वाणिज्य बैंकले पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाए पनि बैंकको प्रतिसेयर आम्दानी घटेको छ। बैंकले गएको त्रैमासमा एक अर्ब ११ करोड रुपैयाँ नाफा गरेर अत्यधिक नाफा कमाउने बैंक बनेको छ।
गत आवमा पुँजी वृद्धि योजनाले अधिकांश बैंकको प्रतिसेयर आम्दानी घटेको छ। बैंकहरूको सेयर संख्या बढ्दा प्रतिसेयर आम्दानी घटेको हो। पहिलादेखि नै बलियो पुँजी आधार भएर लगानी गर्ने बैंकले प्रतिसेयर आम्दानी बढाए पनि अन्यले आफ्ना सेयर लगानीकर्तालाई थोरैमात्र प्रतिफल दिने भएका छन्। सेयरको प्रतिफल लागनीकर्तालाई बाँड््न नपर्ने राष्ट्रिय वाणिज्य बैंकले पनि पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी घटाएको छ। बैंकहरूको लगनशिलता, राष्ट्रिय बैंकको नीतिगत सुविधा र ग्राहकले ऋण असुलीमा सहयोग गरेकाले नाफा बढेको हो।