विश्वकै ठूलो च्याउ नेपालीले गरे पोर्चुगलमा सार्वजनिक

विश्वकै ठूलो च्याउ नेपालीले गरे पोर्चुगलमा सार्वजनिक

लिस्बन : विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ। 

चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक भएको हो।

पोर्चुगलका राष्ट्रिय सञ्चार माध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले च्याउको सार्वजनिक गर्दै उक्त च्याउ पाँच वर्षयताकै विश्वमै सबैभन्दा ठूलो भएको दाबी गरे।

सो अवसरमा सापकोटाले च्याउको प्रकृति, स्वाद, विश्व बजारमा यसको महत्व लगायतको विषयमा जानकारी दिए। 

उक्त च्याउको तौल एक किलो १५३ ग्राम रहेको छ। विश्वमै इटाली र क्रोएसियामा मात्र पाइने उक्त प्रजातिको ह्वाइट ट्रफल च्याउ विश्व बजारमा लाखौँ मूल्यमा खरीद बिक्री हुने गर्दछ। 

विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई ‘ह्वाइट डायमण्ड्य’ भनेर पनि चिनिन्छ। 

खरीद मूल्य सार्वजनिक नगरिएको भएपनि तौल र यसको बजार मूल्यका आधारमा सर्वाधिक महङ्गो मूल्यको ठूलो च्याउ पोर्चुगल भित्र्याउने सापकोटा अहिलेसम्मकै दोश्रो व्यक्ति बनेका छन्।

यसअघि सन् २०१६ मा एक पोर्चुगिज नागरिकले ६१८ ग्रामको ट्रफल च्याउ ३० हजार युरो अर्थात् करीब रु ३८ लाख नेपालीमा पहिलोपटक पोर्चुगल भित्र्याएका थिए। 

गत साता मात्रै इटालीमा भएको लिलाम बिक्रीमा ८८० ग्रामको सोही प्रजातिको च्याउ हङ्कङका एक नागरिकले ८५ हजार युरो अर्थात् करीब एक करोड १० लाख नेपालीमा खरीद गरि हङ्कङ लगेका थिए। सो प्रजातिको च्याउ इटालीमा हरेक वर्ष नोभेम्बर ११ मा लिलाम बिक्री हुने गर्दछ। 

जहाँ विश्वभरका च्याउसँग सम्बन्धित ठूला व्यापारीहरु सो प्रजातिको च्याउ खरीद गर्न इटाली पूग्ने गर्दछन्। यस्तै प्रजातिका सानो–सानो कमसल प्रकृतिको च्याउको बजार मूल्य भने गत वर्ष चार हजार ५०० युरोे अर्थात् झण्डै रु छ लाख नेपालीप्रति किलो रहेको थियो। यो प्रजातिको धेरै तौल भएको च्याउ विश्व बजारमा दूर्लभ र बहूमूल्य मानिन्छ। 

खरीद मूल्य सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा सापकोटाले च्याउ अमूल्य भएको प्रतिक्रिया दिए। सापकोटाले च्याउको खरिद मूल्यभन्दा पनि विश्वकै ठूलो च्याउ प्राप्ति नै आफ्नो लागि सौभाग्य भएको बताए। बचतमध्येको हिस्साबाट लगानी गरेर च्याउ खरीद गर्न सफल भएको उनको भनाइ थियो। 

‘विश्वमा यो च्याउको आफ्नै महत्व र मूल्य छ। यो च्याउ प्राप्त गर्न सक्नु मेरो व्यवसायीक जीवन कै सबैभन्दा ऐतिहासिक र खुशीको क्षण हो’, उनले भने। 

यस्तो दूर्लभ प्रजातिको च्याउ प्राप्तिले अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धी हात पारेको अनुभूति भएको उनले बताए। सर्वाधिक महंगो र ठूलो च्याउ आफ्नो कब्जामा पार्न सफल हुँदै गर्दा एउटा नेपाली भएको नाताले नेपाल र नेपालीको गौरव बढेको महशुस भएको सापकोटाले बताए।

मान्छेले फलाउन र खोज्नसमेत नसक्ने उक्त प्रजातिको च्याउ विशेष तालीम प्राप्त कुकुरबाट खोज्ने गरिन्छ। यो एक प्रकारको च्याउका रुपमा परिचित ‘ह्वाइट ट्रफल’ गिट्ठा जस्तै जमीनमुनि फल्ने ढुसीजन्य खाद्य वनस्पती हो। 

यसलाई इटालीयन खानामा मिसाएर विशेष परिकारका साथमा खाने प्रचलन छ। खानामा विशेष सुगन्ध र स्वादका रुपमा प्रयोग गरिने उक्त च्याउलाई पानीले पखालेर नपाइकन खानाको परिकारमाथि खुर्केर हाल्ने गरिन्छ। विश्वमै सर्वाधिक महंगो खानाको परिकारका रुपमा यसलाई लिने गरिन्छ। 

यसैबीच सापकोटा इटालीमा सम्मानित भएका छन्। च्याउसम्बन्धी खानाको प्रचार प्रसारमा विशेष योगदान पूर्‍याएको भन्दै विश्वभरका २० जनामध्ये पोर्चुगलबाट सापकोटालाई सम्मान गरिएको हो। सापकोटा च्याउ खानासम्बन्धी पोर्चुगलका लागि ब्राण्ड एम्बेस्डरसमेत नियुक्त हुन सफल भएका छन्। 

सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालीयन र दुई नेपाली गरि पाँच ठूला रेष्टुरा सञ्चालनमा रहेका छन्। सापकोटाले सञ्चालन गरेका र्फोनो दी ओरो रेष्टुरा विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुरामध्येको एक हो। जहाँ सुनको चुल्होमा खाना पकाइन्छ। 

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले सापकोटाले सञ्चालन गरेका दुई वटा पिज्जा रेस्टुरालाई पिज्जा बनाउने (अद्धितिय सांस्कृतिक र खानपानको परम्परा) कलालाई विश्व सम्पदामा समेत समावेश गरेको छ। सापकोटा बिगत २० वर्षदेखि पोर्चुगल बस्दै आएका छन्। –भरत प्रधान/रासस  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.