फर्किदैनन् भारत पुगेका बाघ
बर्दिया : वासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफिर्ने पाइएको छ। सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले आहारा र वासस्थान पर्याप्त विस्तार गरेपछि नेपालका बाघ उतै बस्ने गरेको पाइएको हो। नेपालबाट बाघ भारत जान नदिन वासस्थान सुधार, आहाराको विकास र वनक्षेत्र विस्तार गर्नु आवश्यक भएको विश्व वन्यजन्तु कोषका म्यानेजर भरत गोतामेले बताए।
बाघका लागि भालेलाई ६० वर्गकिमि र पोथीका लागि २० वर्गकिमिसम्म क्षेत्र आवश्यक पर्छ। बाघ बढेसँगै नेपालका संरक्षण क्षेत्र अभाव हुन थालेको छ। उता भारततर्फ बिहारको वाल्मीकि टाइगर रिजर्भ र उत्तर प्रदेशको कर्तरनियाघाट पशु विहारले संरक्षण क्षेत्र विस्तार, वासस्थान र आहाराजन्य प्रजाति विस्तारको कार्यक्रमलाई तीव्रता दिएको छ। यसले पनि सिमावर्ती क्षेत्रका बाघलगायत वन्यजन्तु भारततिर पलायन हुने गरेका हुन्।
सीमा जोडिएका पर्सा राष्ट्रिय निकुञ्जमा सुक्खा क्षेत्र बढी हुँदा पानीको समस्या भएको र क्षेत्रफल सानो भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। गत वर्ष पर्सामा फोटो खिचिएको बाघ यस वर्ष भारतको वाल्मीकि पुगेको उनको भनाइ छ। वासस्थानका लागि घाँसेमैदान निर्माण, पानीपोखरी, आगलागी, चोरीसिकारी नियन्त्रण र दुवै देशबीच सहयोग आदानप्रदान गरेर बाघको संरक्षणमा जोड दिनुपर्ने उनले बताए।
बर्दिया क्षेत्रका बाघ खारा संरक्षण क्षेत्रको बाटो हुँदै भारत गएर चार महिनासम्म बस्ने गरेको समेत भेटिएको छ। संरक्षण नीति नहुँदा सामान्य घटनामा पनि अपनाउनुपर्ने प्रक्रिया झन्झटिलो भएकाले समस्या भएको निकुञ्जका कर्मचारीको गुनासो छ। स्थानीय र दुवै देशका निकुञ्जका अधिकारीबीच समन्वय गरी नयाँ कार्यक्रम ल्याएर, गार्ड पोस्ट र वाच टावर निर्माण गरेर नियमित बाघका गतिविधि अवलोकन गर्नुपर्ने पर्सा मध्यवर्ती क्षेत्र सुनखरी उपभोक्ता समिति अध्यक्ष भीमबहादुर पाख्रिनले बताए।
भारतको सीमाक्षेत्रका निकुञ्जले आहारा प्रजाति विस्तार गर्न थालेपछि बाघ पलायन हुने क्रम बढेको हो।
बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा ५० बाट बाघको संख्या ८७ पुगेको छ। पर्सामा भने १८ वटा बाघ छन्। बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा रहेका चार बाघ भारतको कर्तरनियाघाट पशु विहारमा पुगेर लामो समयसम्म बसेको पाइएको कर्तरनियाघाट पशु विहारका फरेस्टर मोहम्मद आस्फाक्यूले जानकारी दिए।
विश्व वन्यजन्तु कोषको तथ्यांकअनुसार एउटा बाघ तीन सय किलोमिटर टाढासम्म पुग्ने गरेको छ। आहार, पानी र भरपर्दो वासस्थानको खोजीमा बाघ आफ्नो क्षेत्र छाडेर हिँड्ने गर्छन्। प्रविधि अभावले भारत पुगेका बाघ नेपाल नफर्किने हुन् कि भन्ने चिन्ता परेको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। विश्व वन्यजन्तु कोषले सीमाक्षेत्रमा बाघ संरक्षण प्रभावकारी बनाउन स्थानीय उपभोक्तादेखि दुवै देशका निकुञ्जबीच समन्वय गर्दै आएको छ। सन् २०१३ को गणनामा १ सय ९८ वटा रहेका बाघ अहिले दुई सय ३५ पुगेका छन्।
आहारा प्रजाति पनि घटे
विश्वमै दुर्लभ पाटेबाघको संख्या दोब्बर बनाउने अभियानमा आहारा बाधक बनेको छ। नेपालमा संरक्षण गरिएको पाटेबाघको संख्या बढे उनीहरूका आहारा प्रजाति घटेको तथ्यांक सार्वजनिक भएको छ। सडक र्दुघटना, घाँसे मैदानको कमी, पानी अभावलगायत चोरी सिकारका कारण आहारा प्रजाति घटेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए।
९ सय ५१ वर्गकिलोमिटर क्षेत्रफल रहेको चितवन राष्ट्रिय निकुञ्जमा प्रतिवर्गकिमिमा ७७ वटा, ९ सय ६८ वर्गकिमि क्षेत्रफल रहेको बर्दियामा प्रतिवर्गकिमिमा ८० वटा र ५ सय ५० वर्गकिमि क्षेत्रफल रहेको बाँके राष्ट्रिय निकुञ्जमा प्रतिवर्ग किलोमिटर ८ वटा मात्र आहारा प्रजाति भेटिएको उनले बताए। यी निकुञ्जमा सन् २०१७ मा अनुगमन गरिएको थियो।
बर्दियामा ११ प्रकारका आहारा प्रजातिमध्ये चित्तल र बाँदरबाहेक अन्य जनावर घट्दो क्रममा छ। ‘बर्दिया राष्ट्रिय निकुञ्जमा पानीको समस्याका कारण पनि चुनौती थपिएको हो। कर्णालीमा कुलेरिया रानीजमरा सिँचाइ आयोजना निर्माण र पूर्वी भँगालोमा पानीको बहाव नभएपछि निकुञ्जमा दिगो पानीको समस्या खट्किएको छ’, उनले भने।
खौराहा खोलामा आएको पानी परम्परागत कुलोका रूपमा स्थानीयले समेत प्रयोग गर्ने भएपछि हिउँदमा निकुञ्जभित्र पानीको हाहाकार हुने गरेको छ। यसले घाँसे मैदान व्यवस्थापन, आहारा प्रजातिलगायत वन्यजन्तुलाई समस्या हुने गरेको उनले प्रस्ट्याए। एउटा वयस्क वाघले २०/२२ पटकको प्रयासबाट मात्र एक पटक सिकार गर्न सक्छ।
एउटा बाघले १८ किलो मासु आहाराका रूपमा खान सक्छ। १० दिनसम्म भोकै बस्न सक्ने क्षमता भएको बाघले वर्षभरमा सरदर ३६ दशमलव ५ दिन नखाइ बस्न सक्छ। चित्तल, जरायो, लघुना, मृग, नीलगाई, बँदेल, खरायो र मजुर बाघका मनपर्ने आहारा हुन्।