टी-१० क्रिकेट लिग : आक्रामक दुई ब्याट्सम्यान सन्दीपको शिकार, खेल नतिजाविहीन
काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई) जारी क्रिकेटको सबैभन्दा छोटो स्वरूपको प्रतियोगिता टी–१० क्रिकेट लिग अन्तर्गतको अाफ्नो तेस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका छन् । वर्षाका कारण खेल भने नतिजाविहीन बन्न पुग्यो ।
आइतबार राति सन्दीप आवद्ध टोली केरला किंग्सले न्युजल्याण्डका ब्रेन्डन म्याक्लुमको कप्तानीमा रहेको राजपुतसँग प्रतिस्पर्धा गरेको थियो ।
२ ओभर बलिङ गर्दा सन्दीपले २३ रन खर्चिएर २ विकेट लिन सफल भए । यस खेलमा सन्दीपले राजपुतका दुई आक्रामक ब्याट्म्यानलाई पेभिलियन फर्काउन सफल भए । पहिलो ओभर मै अफगानिस्तानका मोहमद शाहजादलाई क्याच आउट गराएका सन्दीपले सातौं ओभरमा वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान कार्लाेस ब्रेथवेटलाई पनि क्याच आउट गराए । दुवैजना २ बलमा एक रन बनाएको अवस्थामा पेभिलियन फर्किए । मोहमद शाहजादले यसै प्रतियोगिताको सिन्धीविरुद्धको खेलमा १६ बलमा ७४ रन हानेका थिए ।
सारजाह क्रिकेट एसोसियसन मैदानमा भएको खेलमा केरलाले टस जिति पहिले फिल्डिङ रोजेको थियो । राजपुतले राजपुतले ९ ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा दुवै टोलीले १–१ अंक बाँडे । सन्दीप आबद्ध टोली केरला ३ खेलमा ३ अंक बनाएर समूह ए को तेस्रो स्थानमा रहेको छ ।