शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड
काठमाडौं : देशको शोधनान्तर घाटा बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर घाटा बढेर ३५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। चालु वर्षको दोस्रो महिनाको तुलनामा झण्डै १० अर्ब रुपैयाँ शोधनान्तर घाटा बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा शोधनान्तर घाटा चार अर्ब २७ करोड बचतमा थियो। शोधनान्तर मुलुकमा भित्रिने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो।
‘आयातको तुलनामा निर्यात न्यून भएका कारण लामो समयदेखि वस्तु व्यापारमा ठूलो घाटा व्यहोर्दै आएको नेपालले पछिल्ला वर्ष सेवा व्यापारतर्फसमेत घाटा व्यहोर्दै आएको छ, यसको असर भुक्तानी सन्तुलनमा परेको हो’, पूर्वअर्थसचिव डा.शान्तराज सुवेदीले भने। रेमिट्यान्स, प्रत्यक्ष वैदेशिक लगानी, बैंक वित्तीय संस्थाले विदेशी बैंकमा राखेको सञ्चितिबाट भएको आम्दानी, अनुदान तथा सहयोगबाट भित्रिएको रकमले शोधनान्तर बचतमा राख्न मद्दत गर्छन्। तर, अहिले आयातका लागि विदेशिने रकम, विदेश भ्रमण तथा अध्ययनमा जानेले देश बाहिर लैजाने रकम तथा विदेशी लगानीकर्ताले फिर्ता लैजाने नाफा, वैदेशिक ऋणको साँवाब्याज भुक्तानीमार्फत बाहिरिने रकम उच्च हुँदा शोधनान्तर घाटामा गएको हो। सेवा व्यापारतर्फको घाटा १९ अर्ब ८१ करोड छ।
रेमिट्यान्स बढे पनि त्यसले मात्रै धान्न नसक्ने अवस्था देखिएको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको यस आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीयस्थिति सम्बन्धी प्रतिवेदनले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ। समीक्षा अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन हुँदा ‘विनिमय लाभ’ का कारण पनि रेमिट्यान्सको वृद्धिदर उच्च देखिन्छ। समीक्षा अवधिमा रेमिट्यान्सको वृद्धिदर ३७ दशमलव ३ प्रतिशत छ।
आयात उच्चदरमा बढेका कारण शोधनान्तर घाटामा गएको जनाउँदै पूर्वअर्थसचिव सुवदीले भने, ‘के–कस्तो वस्तु आयात भएको छ विश्लेषण गर्नुपर्छ। पुँजी निर्माणमा सहयोग गर्ने वस्तुको आयात बढेकाले शोधनान्तर घाटा बढेको भए खासै डराउनु पर्दैन । त्यसको विपरीत उपभोग्य र विलासिताका वस्तुको आयात बढेको भए त्यसको असर बढी हुन्छ ।’ केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा मुलुकले तीन खर्ब ७३ अर्ब रुपैयाँको आयात गरी २३ अर्ब ७४ करोड रुपैयाँको निर्यात गरेको छ। व्यापारघाटा तीन खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ।
शोधनान्तर घाटा बढ्दै गए त्यसको प्रत्यक्ष असर विदेशी विनिमय सञ्चितिमा पर्छ। हामीकहाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दर नभएको भए विदेशी विनिमय सञ्चिति घट्दा मुद्रासमेत कमजोर हुन्थ्यो। विनिमय सञ्चिति कमजोर हुँदा विदेशी लगानीकर्ता निरुत्साहित हुन्छन्। चालु आर्थिक वर्षको सुरुवातदेखि तीन महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति ५ दशमलव २ प्रतिशतले घटेर नौ अर्ब ५६ करोड अमेरिकी डलर छ। राष्ट्र बैंकका अनुसार यो विनिमय सञ्चितिले नौ महिनाको वस्तु र आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ।
अर्थविद् केशव आचार्य लगातार शोधनान्तर घाटा चुलिँदै जानु अर्थतन्त्रका लागि जोखिमपूर्ण हुने बताउँछन् । बढ्दो शोधनान्तर घाटाले मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति घट्दै जाने भएकाले समग्र अर्थतन्त्रमा राम्रो नगर्ने उनले बताए। ‘शोधनान्तर घाटा बढिरहँदा यथार्थ विनिमयदरमा चाप पर्छ’, उनले भने, ‘यसले विदेशी लगानीकर्तालाई निरुत्साहित गर्छ । स्वदेशी मुद्राप्रतिको विश्वास खलबलिन सक्छ।’
चालु आवको पहिलो तीन महिनामा चालु खाता घाटा ८१ अर्ब ९६ करोड पुगेको छ। गएको आवको यो अवधिमा यस्तो घाटा २५ अर्ब ५२ करोड मात्र थियो। समीक्षा अवधिमा सरकारको नगद प्रवाहमा आधारित बजेट ३२ अर्ब ८३ करोड बचत भएको छ। सरकारले खर्च गर्न नसक्दा यस्तो बचत बढेको हो। अघिल्लो आवको ११ अर्ब ६३ करोड बचतमा थियो।यस्तै, यस वर्षको समीक्षा अवधिमा उपभोक्ता मूल्य वृद्धि बढेको छ। गएको आर्थिक वर्षको असोजमसान्तमा ३ दशमलव १ प्रतिशत रहेको मूल्य वृद्धि चालु आर्थिक वर्षको यो अवधिमा ४ दशमलव ७ प्रतिशत पुगेको छ। अघिल्लो महिना (भदौ) मा मुद्रा स्फिति ३ दशमलव ९ प्रतिशत थियो। यस अवधिमा खाद्यान्न, तरकारी, माछामासु, र पेय पदार्थको मूल्य तथा घरभाडा बढेका कारण मूल्य वृद्धि भएको राष्ट्र बैंकले जानकारी गराएको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले २९ खर्ब १२ अर्ब निक्षेप संकलन गरेर २५ खर्ब ९७ अर्ब कर्जा प्रवाह गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ दशमलव २ प्रतिशतले बढेको छ।