तालिबान विद्रोहीङको हमलामा २२ अफगानी प्रहरी मारिए
हेरात : पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा कम्तीमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ। फराह प्रान्तमा आइतबार प्रहरी चढेको सवारीसाधनमा आक्रमण हुँदा कम्तीमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले बताएका छन्।
तालिबानले दुवै आक्रमणको जिम्मेवारी लिएको छ। तालिबानले २५ जना प्रहरी मारिएको र चारजना घाइते भएको दाबी गरेको छ। तालिबानका प्रवक्ता क्वारी युसुफ अहमादीले चारवटा सवारीसाधन ध्वस्त भएको र ठूलो परिमाणमा हातहतियार जफत गरिएको बताए।
हालैका महिनाहरुमा तालिबानले सरकारी फौजमाथि आक्रमण तिब्र बनाएका छन्। तालिबानसँग शान्तिवार्ता गर्ने प्रयत्न भइरहे पनि आक्रमणका सिलसिला रोकिएका छैनन्।