साउदी राजकुमार मोहम्मदविरुद्ध मुद्दा हाल्ने तयारी
वासिङटन : साउदी राजकुमार मोहम्मद बीन सलमानले यमनमा सम्भावित युद्ध अपराध गरेको र पत्रकार जमल खसोग्गीको हत्यामा संलग्न भएको भन्दै उनीमाथि अनुसन्धान गर्न अर्जेन्टिनामा कुरा उठेको छ ।
न्युयोर्कमा रहेको मानवअधिकार सम्बन्धी एक संस्थाले अर्जेन्टिनाका संघीय न्यायाधीश एरियल लिजोलाई सोमबार आग्रह गरेको हो । मानवअधिकार सम्बन्धि संस्था ‘ह्यूमन राईट्स वाच’का मध्य पूर्व तथा उत्तर अफ्रिका निर्देशक सराह ली विन्स्टनका अनुसार अन्तर्राष्ट्रिय अधिकारवादी समूहले उक्त मुद्दा अर्जेन्टिनामा दायर गरेको हो ।
यही साता अर्जेन्टिनाको ब्योनस एइरसमा हुने जी २० सम्मेलनको उद्घाटन कार्यक्रममा साउदी राजकुमारको पनि सहभागिता हुने भनिएपछि अर्जेन्टिनामै मुद्दा दायर भएको हो । अर्जेन्टिनाको संविधानले युद्ध अपराध तथा यातना विरुद्ध अन्तर्राष्ट्रिय न्यायलाई सुरक्षित गरेको छ । यस्ता अपराध जुनसुकै स्थानमा गरेको भए पनि मुद्दा दायर गर्नमिल्ने भनी अर्जेन्टिनाको कानुनमा उल्लेख छ ।
साउदीका पत्रकार तथा लेखक जमल खसोग्गीको हत्यामा मोहम्मदको हात हुनसक्ने प्रमाण बारे अन्तर्राष्ट्रिय मिडियाहरुले प्रमाण सार्वजनिक गर्दा पनि यसबारे चासो नदेखाइएपछि अन्तर्राष्ट्रिय समुदायमा उनको चौतर्फी आलोचना भएको हो । अर्जेन्टिना जाने तयारीमा रहेका मोहम्मदलाई त्यहाँ मुद्दा दायर गर्दा असहज अवस्था आउने अन्तर्राीष्ट्रय मिडियाहरुले टिप्पणी गरेका छन् ।