राप्रपाको सहायक प्रवक्तामा मोहन श्रेष्ठ
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक प्रवक्तामा मोहन श्रेष्ठ मनोनित भएका छन् । पार्टी अध्यक्ष कमल थापाले प्रचार विभाग प्रमुखसमेत रहेका श्रेष्ठलाई सहायक प्रवक्तासँगै पदाधिकारी पदमा पनि मंगलबार मनोनयन गरेका हुन् ।
दुई महिना अघि केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट अध्यक्ष थापाले सबै पदाधिकारीलाई पदमुक्त गरेका थिए । त्यसलगत्तै उनले महामन्त्री र कोषाध्यक्ष भने मनोनयन गरेका थिए । तर अन्य पदाधिकारी हालसम्म रिक्त थियो ।
श्रेष्ठको नियुक्तिपछि राप्रपामा पदाधिकारी संख्या चार पुगेको छ । उनी पार्टीको प्रचार विभाग प्रमुखसमेत हुन् । 'पदाधिकारी थप गर्ने प्रक्रिया शुरु भएको छ', श्रेष्ठले भने, 'अब अरु नियुक्ति पनि हुँदै जानेछन् ।'