नेकपामा सचिवालय बैठक बस्नै सकस

नेकपामा सचिवालय बैठक बस्नै सकस

काठमाडौं : सत्तारूढ नेकपामा पार्टी बैठक नियमित बोलाउन नेताहरूले दबाब बढाए पनि अझै बैठक बस्न सकेको छैन। केन्द्रीय सदस्यको कार्यविभाजनको एजेन्डामा अड्किएको सचिवालय बैठक पार्टी अध्यक्षले गृहकार्य गर्न नभ्याएको भन्दै दुई दिनयता लगातार स्थगित भएका छन्।

मंसिर ८ मा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनको गृहकार्य गर्न दुई अध्यक्ष (प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल)लाई एक दिनको समय दिएका थिए। मंसिर ९ मा दुई अध्यक्षले मापदण्ड निर्धारण गरी केन्द्रीय सदस्यको कार्यविभाजनको गृहकार्य गर्ने र मंसिर १० को सचिवालयले कार्यविभाजन प्रस्ताव टुंगो लगाई जनवर्गीय संगठनको एकीकरण प्रस्तावमा छलफल गर्ने कार्यसूची निर्धारण भएको थियो। तर अझै त्यसपछि सचिवालय बैठक बस्न सकेको छैन। सोमबार र मंगलबार दुवै दिन बैठक बोलाउँदै अन्तिम समयमा स्थगन गरिएको थियो। बुधबार दिउँसो पुनः बैठक बस्ने सचिवालय सदस्यलाई जानकारी गराइएको छ।

‘अध्यक्षद्वयले कार्यव्यवस्तता बढेको र गृहकार्य नपुगेको भन्दै दुई दिनयता लगातार बैठक स्थगन गरिरहनुभएको छ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनालले अन्नपूर्णसँग भने, ‘अब बुधबारको बैठक पनि बस्ने÷नबस्ने थाहा छैन।’

जेठ ३ मा तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भए पनि पार्टीका प्रदेशदेखि तल्लो तह र जनवर्गीय संगठनहरूको एकता प्रक्रिया टुंगिएको छैन। तल्ला कमिटी र जनवर्गीय संगठनमा अझै नेकपाका पूर्व दुवै घटकका आआफ्नै पार्टी संरचना छन्। प्रदेश कमिटी एकताको प्रस्ताव सचिवालयले टुंगो लगाए पनि स्थायी समिति बैठकबाट अन्तिम निर्णय भई कार्यान्वयनमा जान बाँकी छ। केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, केन्द्रीय विभाग र सल्लाहकार समिति गठन, जनवर्गीय संगठनहरूको एकता, सरकारको समीक्षालगायत विषय सचिवालय बैठकका एजेन्डा छन्।

पार्टी बैठक नबस्ने, सरकार–पार्टीबीच सम्बन्ध टुट्ने र सरकारदेखि पार्टीसम्म पनि नेतृत्वले स्वेच्छाचारी ढंगले निर्णय लिन थालेको भन्दै नेकपाभित्र असन्तुष्टि चुलिँदो छ। मंसिर ५ मा मात्रै वरिष्ठ नेता माधव नेपाल पक्षका २१ केन्द्रीय सदस्यले पार्टीको सुझाव लिएर सरकारले निर्णय लिन र विधि पद्धति बनाएर पार्टी निर्णय गर्न माग गर्दै महासचिवमार्फत अध्यक्षद्वयलाई ६ बुँदे ज्ञापान बुझाएका थिए।

केन्द्रीय सदस्य डा. विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरेलगायत नेताले सचिवालयलाई सर्वाेसर्वा नबनाउन, महत्वपूर्ण राजनीतिक निर्णय स्थायी समिति बैठकबाट गर्न र तत्काल केन्द्रीय समितिसम्मको बैठक बोलाउन माग गर्दै आएका थिए। उनीहरूले मंगलबार मात्रै पनि अध्यक्ष पुष्पकमल दाहाललाई भेटी दबाब बढाएका थिए। यसअघि महासचिव विष्णु पौडेलमार्फत दुई अध्यक्षलाई ज्ञापनपत्र पनि बुझाएका थिए।

आफ्नै निवास खुमलटारमा असन्तुष्टिसहित पुगेको केन्द्रीय सदस्यलाई दाहालले भने सचिवालय बैठकमा तिनै एजेन्डामा केन्द्रित रहेर गम्भीर छलफल गर्ने आश्वासन दिएर फर्काएका थिए।

अर्का केन्द्रीय सदस्य डा. विजय पौडेलले सरकारले गरेको नियुक्ति, राजदूतको सिफारिसलगायतका विषयमा पार्टीसँग सरकारले कुनै छलफल नगरेको, सरकारको काम पनि प्रभावकारी नदेखिएको विषयमा पार्टीभित्र गम्भीर छलफलको मागसहित आफूहरू शीर्ष नेतालाई भेट्न पुगेको बताए।

असन्तुष्ट समूहले सचिवालयका अन्य नेतासँग पनि भेटेर दबाब बढाउने तयारी गरेको छ। ‘हामी अन्य नेतासँग पनि छलफल गर्न खोज्दै छौं। समय मिलाउँदै छौं,’ खतिवडाले भने, ‘अध्यक्ष दाहालसँग प्रारम्भिक सुरुवात हो।’

नेकपामा २१ असारयता स्थायी समिति बैठक बस्न सकेको छैन। पार्टी एकीकरणयता एक पटक मात्र जेठमै केन्द्रीय समिति बैठक बसेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.