देउबा इतरका नेताको पुनः लन्च बैठक

देउबा इतरका नेताको पुनः लन्च बैठक

काठमाडौं : सभापति शेरबहादुर देउवाको कार्यशैली र गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका देउवा इतरका नेताले नेत्री सुजाता कोइराला निवासमा पुनः लन्च बैठक गरेका छन्।कोइराला निवासमा नेता कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापालगायत भेला भएर कांग्रेसको नेतृत्वबारे बहस गरेका हुन्।

 केही दिनअघि पनि नेत्री कोइरालाकै निवासमा उनीहरू भेला भएका थिए। त्यसअघि महामन्त्री शशांक कोइरालाको निवासमा पनि उनीहरूले छलफल गरिसकेका छन्। पछिल्लो समय शेखर कोइराला, शशांक कोइराला र सुजाताले पनि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

छलफलमा नेता सिटौलाले विधानबारे केन्द्रीय समितिमा आएका विचार सुनेर सामूहिक धारणा बनाउनुपर्ने र सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। बैठकमा नेता सिटौलाले पार्टीको विधानबारे केन्द्रीय सदस्यले राख्ने धारणाका आधारमा महासमितिको रणनीति बनाउने बताए। नेता गगन थापा र प्रदीप पौडेलले पार्टी सञ्चालन पद्धति एवं विधानका विषयमा ध्यान दिएर अघि बढ्न सुझाएका छन्।

‘एकातिर दुईतिहाइको दम्भ र अर्कोतिर पार्टीमा देउवाको बहुमतले समस्या उत्पन्न भएको छ’, थापाको धारणा उद्धृत गर्दै बैठकमा सहभागीले भने, ‘हामीले यस्ता विषयलाई चिर्न सक्नुपर्ने बेलामा अहिले कांग्रेसको नेतृत्वप्रति नै वितृष्णा रहेको छ।’ महामन्त्री डा. कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा. शेखर कोइराला उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित भएनन्।

नेविसंघ महाधिवेशन पुस २८ देखि

नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२औं महाधिवेशन पुस २८ देखि हुने भएको छ। महाधिवेशनबारेको निर्णय गर्न नेविसंघले मंगलबार आन्तरिक बैठक बोलाएको थियो। बैठकपछि पत्रकार सम्मेलन गरेर उसले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो।

नेविसंघ अध्यक्ष नैनसिंह महरले मंसिर २२ देखि नै तल्लो तहका अधिवेशन सुरु हुने बताए। ‘पुस २८ देखि ३० मा महाधिवेन हुने निश्चित भएको छ,’ उनले भने, ‘महाधिवेशनको स्थान छिट्टै तय हुनेछ। हामीले दुई दिनभित्रै केन्द्रीय प्रतिनिधिसमेत पठाउने तयारी गरिरहेका छौं।’

नेविसंघले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर २२ देखि उच्च माध्यमिक र जिल्ला तहका क्याम्पसको अधिवेशन हुनेछ। मंसिर २५ गते स्थानीय तह स्तरका अधिवेशन र पुस ८ गते उपत्यकाका क्याम्पसको अधिवेशन गरिने पनि बताइएको छ। पुस १४ मा जिल्ला र २० गते प्रदेश स्तरीय अधिवेशन गरिनेछ। सबै स्तरका अधिवेशन सकिएपछि पुस २८ देखि ३० सम्म केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी अघि बढेको महरको दाबी छ।

सार्वजनिक कार्यतालिकाअनुसार अधिवेशन नगर्ने समिति स्वतः खारेज हुने निर्णयसमेत नेविसंघले गरेको संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। कांग्रेस केन्द्रीय समितिले नेविसंघमा ३२ बर्से उमेरहद लगाएपछि आगामी महाधिवेशनलाई चासोसाथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.