थांका चित्रमा रंगीन जीवन

थांका चित्रमा रंगीन जीवन

काठमाडौं : पाटन दरबार स्क्वायरबाट बगलामुखी मन्दिर जाने बाटो। भत्केको मन्दिर परिसरमा केही थांकाका पसल लहरै सजिएका छन्। सफा चिटिक्क परेको पसलभित्र विभिन्न आकारप्रकारका थांका चित्र राखिएको छ। पाँच सयदेखि पाँच लाख रुपैयाँसम्मका थांका चित्र लहरै झुन्ड्याइएको छ। कुनै पसलमा विदेशी पर्यटकको घुइँचो छ त कुनैमा नेपाली गाइडले मोलमोलाइ गरिरहेका छन्।

थांका स्कुल लेखिएको बोर्ड बाटैमा छ। साँघुरो सिँढी चढेपछि थांकैथांकाले भरिएकोे सोरुम देखिन्छ। सोरुमका भित्ताभरि साना ठूला थांका सजाइएको छ। छेउको खाली ठाउँमा केही महिला र पुरुष थांकामा बुट्टा भरिरहेका छन्। कुनै चित्र तयार भएर सुकाइएको छ, कुनैमा आधा चित्रमा रङ भरिएको छ।

सेतो कपडालाई एक प्रकारको माटो र केमिकलको पेस्टले लेपन गरेपछि चित्र कोर्ने सेट तयार हुन्छ। सेटिङ गर्ने, बुट्टा भरेर स्केच बनाएपछि अन्तिममा रङ भरिन्छ। थांका चित्रको बीचमा भगवान्को चित्र हुन्छ। छेउछेउमा अन्य भगवान्का विभिन्न भावभंगीका कलाकृति छन्। थांका चित्रलाई कलाकारिताको उत्कृष्ट नमुना मान्न सकिन्छ। कलाकारले हातबाटै विभिन्न आकारप्रकारका थांका बनाउँछन्। एउटा थांका बन्न धेरै व्यक्तिको श्रम र सीप खर्चिएको हुन्छ। थांका चित्र एउटा बौद्ध परम्परा हो। थांकामा चित्रकलामार्फत ईश्वरीय शक्ति अभिव्यक्त भएका हुन्छन्। थांका सुती वा रेशमको बुट्टेदार कपडामा बनाइएको चित्र हो जसमा प्रायः बौद्ध धर्मका देवता, दृश्य वा मण्डला कोरिएको हुन्छ।

थांकाको माध्यमबाट बौद्ध दर्शनको प्रचारप्रसार र व्याख्या गरिएको हुन्छ। कुनै चित्रले मेडिटेसनका सिम्बोल देखाउँछ त कुनैले बुद्धको महिमाको चर्चा गर्छ। कलाकारिताको बेजोड प्रस्तुति थांका साताैं शताब्दीमा नेपालमा फैलिएको मानिन्छ। चित्रकै माध्यमबाट धर्मशास्त्रको ज्ञान दिलाउने उद्देश्यका साथ पाँचाैं शताब्दीमा यो चित्रकलाको विकास भएको मान्यता छ।

सिन्धुपाल्चोकका देव तामाङले थांकासँग संगत गरेको तीस वर्ष भयो। १२÷१३ वर्षको हुँदा घरबाट भागेर पैसा कमाउन काठमाडाैं आएका देव अहिले थांका व्यापारी बनेका छन्। काठमाडाैंको चाबहिलमा महिनाको एक सय १५ रुपैयाँ पाउने गरी उनले थांका चित्र बनाउन सुरु गरेका थिए। उनले गाउँमै थांका बनाउन सिकेका थिए। करिब तीन वर्ष साहूको पसलमा थांका चित्र कोर्दै यो सीपमा आफूलाई पोख्त बनाए। पछि आफ्नै लगानीमा थांका बनाएर बेच्न थाले। अहिले पाटनमा रहेका आफ्ना दुईवटा पसलमा थांका बेच्न व्यस्त छन्। उनको पसलमा रामेछाप र सिन्धुपाल्चोकका कलाकारले बनाएका थांका पाइन्छ।

थांका चित्रको व्यापारमा अनेकौं समस्या छन्। रातदिन मेहनत गरेर थांका चित्र बनाउनेहरूले भनेजस्तो रकम पाउँदैनन्। थांका किन्न विदेशी पर्यटक ल्याइदिने टुर गाइडलाई व्यापारीले ४० देखि ६० प्रतिशतसम्म कमिसन दिनुपर्छ। देव भन्छन्, ‘नेपालीले थांका त्यति किन्दैनन्। आम्दानी हुने भनेको विदेशीबाट नै हो। उनीहरूलाई पसलसम्म ल्याउने टुर गाइडले नै हो। गाइडलाई जुन पसलले बढी कमिसन दिन्छ, त्यहीँ लैजान्छन्।’

ग्राहक ल्याउन गाइडको माग पूरा गर्न बाध्य भइने र यसको असर थांकाको मूल्यमा पर्ने देवको भोगाइ छ। थांका बनाउने कलाकार, व्यापारी र ग्राहकबीच तालमेल हुन नसक्दा यसको व्यापार र मूल्य अस्तव्यस्त छ।

रामेछापकी सञ्चली तामाङले थांका चित्र बनाउन थालेको ६/७ वर्ष भइसक्यो। उनले पाटनको च्यासलमा तीन महिना यो कला सिकेकी हुन्। मसिना आकारका बुट्टामा उनले रङ थपिरहेकी थिइन्। उनका श्रीमान् पनि यही काम गर्छन्। माइतीका सबै जना थांका बनाएर बेच्ने गर्छन्। सञ्चली पाटनकै साहूको पसलमा दैनिक ज्यालादारीमा थांका बनाउँछिन्। थांकाको साइज हेरेरे एउटा चित्र बनाएबापत एक हजार पाँच सयदेखि दुई हजारसम्म आम्दानी गर्छिन्। एउटा थांका चित्र तयार पार्न तीनदेखि चार दिन लाग्छ।

दिनभर भुइँमा बसेर चित्र बनाउँदा ढाड दुखेर करकर खान्छ। एकोहोरो एउटै काम गर्दा आँखा पोल्ने, टाउको दुख्नेजस्ता समस्या देखा पर्छन्। अस्मिता लामा १८ वर्षकी भइन्। उनी आदर्श कन्या स्कुल पाटनमा १२ कक्षामा अध्ययन गर्दै छिन्। उनका बुवा थांका चित्र बनाएर बेच्छन्। उनी बुवालाई सघाउन चित्र बनाउन आएकी हुन्।

थांका चित्र धेरै प्रकारका हुने भए पनि मुख्यतः पाँचवटा समूहमा बाँडेर बनाइएको हुन्छ। उल अफ लाइट ‐तिब्बती शैली) लाइफ अफ बुद्ध, ट्रेडिसनल मण्डला, कालो चक्र ‐मेडिटेसन चित्र जुन दलाइ लामाले तयार पारेका हुन्), गड गणेश (जहाँ धेरै प्रकारका भगवान्का आकारप्रकार हुन्छन्) नेपालमा प्रचलित थांका चित्र हुन्। थांका मौलिक चित्र हो। पछिल्लो समय यसको व्यापार व्यवसाय फस्टाएको छ। नेपालीको तुलनामा थांकाका ग्राहक धेरैजसो विदेशी हुन्। थांकालाई शानदार स्वरूप दिन केही थांकामा सुन वा चाँदीको लेप गरिन्छ। यसरी धातु लेपन गरिएको थांका अन्यको तुलनामा महँगो हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.