भूकम्पले क्षति पुर्याएको घर भत्काउँदा असर पर्ने घरले समेत अनुदान पाउने
काठमाडौं : सरकारले भूकम्पपीडितको घर भत्काउँदा सँगै टाँसिएको घरलाई असर पर्न गएमा सो घरले पनि भूकम्पपीडित सरहनै अनुदान पाउने व्यवस्था गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण घर भत्काउँदा सँगै जोडिएको घर भत्कन गएमा वा जोडिएको घरलाई असर परेमा भूकम्प पीडित सरहनै अनुदान पाउने व्यवस्था सरकारले गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
साथै सरकारले भूकम्पले भत्किएका घर पुनर्निर्माण गर्दा मौलिक परम्परा कायम राखेमा थप ५० हजार रुपैयाँ अनुदान दिने भएको छ। नेपाली मौलिक परम्पराअनुसार घर निर्माण गरेमा सो लाभग्राहीले थप ५० हजार अनुदान स्वरुप पाउने ज्ञवालीले बताए।
भूकम्पपीडिलताई सरकारले तीन किस्ता गरी तीन लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। 'नेपालको मौलिकता कायम राख्न तथा नेपाली मौलिक परम्परालाई जीवन्त दिन सरकारले यस्तो व्यवस्था गरेको हो।'
भूकम्पपीडितलाई प्रोत्साहन गर्न सो रकम उपलब्ध गराउने निर्णय भएको छ', उनले भने, 'परम्परा जर्गेना गर्न सरकारले सो व्यवस्था गरेको हो।'