९५ वर्षमा बल्ल नागरिक ! भने : सिंहदरबार गाउँमै आएछ
बेसीशहर : बुढ्यौलीले अनुहार मुझा परेका छन् । झुस्स फुलेका दारी काट्ने कुनै जाँगर छैन । दिशापिसाव गर्न शौचालय जानसमेत सहारा चाहिन्छ ।
९५ वर्षको बुढ्यौलीले गलेका बेसीशहर–१ उदीपुर पौडेल गाउँ निवासी सूर्यप्रसाद वस्तीको अनुहारमा बुधबार एकाएक चमक आयो । खुसी नहुन् पनि किन, जब उनले ९५ वर्षमा नागरिकता पाए ।
सूर्यप्रसादलाई आजसम्म नागरिकता चाहिएकै थिएन । जिन्दगीमा उनले आफ्नो परिचय दिन कतै नागरिकता देखाउनु परेन । ७० वर्षदेखि वृद्धभत्ता बुझ्दै आएका थिए, त्यसका लागि नागरिकता अनिवार्य थिएन । ‘बुवाले अस्थायी निस्साको आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनुभएको थियो,’ कान्छा छोरा नारायणप्रसाद वस्तीले बताए ।
सरकारले चालु आर्थिक वर्षदेखि वृद्धभत्ता लिन नागरिकता अनिवार्य गर्यो । स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थाल्यो, अनि मात्रै सूर्यप्रसादका लागि नागरिकता जरुरी पर्यो । ‘अहिलेसम्म अस्थायी निस्साले चलेको थियो, उनले भने, ‘नागरिकता नभई बैंकमा खाता खोलिदोँरहेनछ, बल्ल चाहियो ।’
हिंडडुल गर्न नसक्ने वस्तीलाई प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले घरमै पुगेर नागरिकता दिएका हुन् । यसअघि २०३७ सालमा गाउँमा आएको टोलीबाट उनले अस्थाई निस्सा लिएका थिए ।
‘वृद्धाअवस्थामा रहेका वस्तीलाई घरमै आएर नेपाल सरकारले दिने सुविधा दिन पाउँदा खुसी छु, प्रजिअ ढकालले भने, ‘जेष्ठ नागरिक, असक्तलाई कार्यालयसम्म आउनु पर्दैन । पक्रिया पुगेपछि फिल्डमै सेवा दिन सकिन्छ ।’
सबै पक्रिया पुरा गराएर नागरिकता फाँटको अभिलेख किताबसहित प्रजिअ ढकालको टोली कार्यालय समयपछि वस्तीको घर पुगेको थियो ।
बैँकले नेपाली नागरिकता खोजेपछि विगत १ बर्षदेखी बस्तीले बृद्धा भत्ता बुझेका छैनन । ‘बृद्ध अवस्थाका बुबालाई के दुःख दिने भनेर नागरिकता बनाउन सदरमुकाम गएका थिएनौ’, छोरा नारायणप्रसादले भने, ‘अहिले सिडियो सर घरमै आएर नागरिकता दिँदा धेरै सहज भयो । सिंहदरबार गाउँमा होइन घरमै आएको अनुभूति भयो ।’ १९७९ मा जन्मिएका वस्तीले २०३६ सालमा लिएको अस्थायी निस्सामा जन्म मिति १९९१ जेठ २० रहेको छ । त्यसै मितिलाई आधार मानेर नागरिता दिइएको प्रशासनले जनाएको छ ।
१९९० सालको भूकम्पपछि वस्तीका परिवार तनहुँको भन्सारबाट लमजुङको उदिपुर बसाई सरी आएको थियो । वस्तीका २ छोरा र ३ छोरी छन् ।