काम नगर्ने ठेकेदारको लाइसेन्स रद्ध हुन्छ : मन्त्री बोहरा
अछाम : सुदूरपश्चीम प्रदेशका आर्थिक तथा योजनामन्त्री झपटबहादुर बोहराले काम नगर्ने ठेकेदारको लाइसेन्स रद्ध हुने बताएका छन्।
बिहीबार प्रेस संगठनले साँफेबगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बोहराले विभिन्न सडकखण्डलाई विशेष रुपमा अगाडि बढाइएको भन्दै यस्तो बताएका हुन्।
उनले सुर्खेत बड्डीचौर हुँदै जंगलघाट, मेल्लेख बाजुरा सडक, रामारोशन हुँदै रारा, सेती लोकमार्गलगायतका सडकलाई विशेष रुपमा अघि बढाइएको बताए। मन्त्री बोहराले विकास निमार्णको कार्यमा ढिलासुस्ती गर्ने र कामै नगर्ने ठेकेदारको लाइसेन्स रद्ध हुने बताएका हुन्।
‘विकास निमार्णको काममा ढिलासुस्ती गर्ने ठेकेदारको लाइसेन्स रद्ध गर्ने नीति ल्याउने तयारी प्रदेश सरकारले गरिरहेको छ’, उनले भने, ‘अब नीति बनाएरै काम नगर्नेको लाइसेन्स रद्ध हुन्छ।’
बोहराले युवालाई स्वरोजगार बनाउनका लागि युवा स्वरोजगार कोष प्रदेशको बजेटमै व्यवस्था गरेको बताए। ‘युवालाई माघ मसान्तभित्र शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत व्याजमा ऋण दिने व्यवस्था गर्न लागेका छौं', उनले भने, ‘युवालाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याउने तयारी प्रदेश सरकारले गरेको छ।’
उनले प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ६८ स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलिसकेको र बाँकीमा खोल्ने क्रममा रहेको जानकारी दिए। बाँकी स्थानीय तहमा तीन महिनाभित्र शाखा खुल्ने उनको भनाइ छ।