अपरहणपछि बालकको हत्या
काठमाडौं : राजधानीको मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित स्वस्तिका त्रिवेणी होटलका सञ्चालक प्रवीण कुवँरका आठबर्से छोरा प्रयास कुवँरको अपहरणपछि हत्या भएको छ। मृतक प्रयास कुँवर दम्पतीका एक्लो सन्तान हुन्।
बालकको अपहरणपछि हत्यामा गेस्ट हाउस सञ्चालककै ड्राइभर २२ बर्से महेन्द्र एसके संलग्न रहेको प्राराम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।
बालकको हत्यामा संलग्न भएको आरोपमा एसकेलाई प्रहरीले गोंगबुस्थित उनको डेराबाटै पक्राउ गरेको छ। उनकै बयानका आधारमा बालकको शव मित्रनगरबाट म्हेपी पुलतर्फ ५० मिटर तल खोला किनारमा फोहोरको थुप्रोमाथि भेटिएको हो। बालकसँगै एसके पनि मंगलबार साँझ पौने ६ बजेबाट गेस्ट हाउसबाट बेपत्ता भएपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले खोजी तीव्र पारेको थियो।
बाबुआमा स्वास्थ्य जाँचका लागि अस्पताल गएको अवस्थामा गेस्ट हाउसमै खेलिरहेका बालक बेपत्ता भएका थिए। प्रयासका बाबु प्रवीणले प्रहरीलाई खबर गरेर छिमेकीको सहयोगमा खोजी थालेका थिए। ‘बालक हराएपछि मंगलबार रातिदेखि बुधबार राति १ बजेसम्म निरन्तर खोज्यौं’, वीरेन्द्र ऐश्वर्य मार्गका स्थानीय कृष्ण गौडेलले अन्नपूर्णसँग भने, ‘होटलका ड्राइभरसमेत हराएपछि घटना शंकास्पद देखिएको थियो। चकलेट दिएर बालकलाई ड्राइभरले नै लगेको खुलेको छ। बालकको शव भएको जेब्रा झोलाबाट चार वटा चक्लेट पनि भेटिएको छ।’
ओठ र छातीभन्दा केहीमाथि रगत लतपतिएको अवस्थामा बालकको शव भेटिएको छ। अपहरण गरेकै राति बालकलाई रानीबारी वनमा लगेर हत्या गरेको बयान एसकेले दिएका छन्।
‘पोस्टमार्टम भइनसकेकाले बालक हत्याको विस्तृत विवरण खुलिसकेको छैन’, महाशाखाका प्रवक्ता उप्रेतीले भने, ‘बालकको शव हेर्दा मुख थुनेर, घाँटी थिची हत्या भएको देखिन्छ। अहिलेसम्मको अनुसन्धानमा बालकको हत्यामा एसके एक्लै संलग्न भएको खुलेको छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएका छौं।’
प्रहरीका अनुसार ड्राइभर स्याङ्जाको भीरकोटका एसके र पर्वतको बिहादी गाउँपालिका–३ स्थायी घर भएका गेस्ट हाउस मालिकबीच विवाद भएको देखिएको छैन। दसैं मनाउन गएका पुराना ड्राइभर नआएपछि उनलाई गेस्ट हाउस सञ्चालकले एक महिनाअघि मात्रै राखेका थिए। एसकेले गेस्ट हाउसमा आउने यात्रु स्कार्पियो जिपबाट ल्याउने÷लाने गर्थे। तर उनले मन लगाएर काम नगरेपछि गेस्ट हाउस मालिकले उनलाई कामबाट निकाल्ने भन्न थालेका थिए।
‘घटनाको प्राराम्भिक अनुसन्धानमा ड्राइभरलाई गेस्टहाउस सञ्चालकले कामबाट निकाल्न खोजेको देखिन्छ। त्यहीकारण बालकको अपहरण गरेको हुनसक्छ’, उप्रेतीले भने, ‘तर उनले मालिकसँग फिरौती या अन्य माग राखेको देखिएन। ड्राइभर एसकेले पनि बयानमा मालिकसँग कुनै माग नराखेको बताएका छन्।’
प्रयास टाउन प्लानिङस्थित वेलमेन्ट इन्टरनेसनल स्कुलमा १ कक्षामा पढ्थे। प्रहरीले बालक हराएपछि मंगलबारबाटै खोजी थालेको थियो। अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहको नेतृत्वमा पुगेको प्रहरी टोलीले बिहीबार दिउँसो बालकको शव दुई वटा जेब्रा झोलाभित्र प्याक गरेको अवस्थामा फेला पारेको थियो।
यसअघि राजधानीकै काँडाघारीबाट गत साउन २१ मा ११ बर्से बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो। हत्यामा संलग्न दुई जना प्रहरीको इन्काउन्टरमा मारिएका थिए।