शृंखलाबाट धेरै आशा
मिस नेपाल २०१८ को ताज पहिरिएसँगै शृंखला खतिवडाको चर्चा बढ्दो छ। यस वर्षको मिस वर्ल्डमा सहभागी हुन उनी यतिबेला चीनको सान्यामा छिन्। सामाजिक सञ्जालमार्फत शृंखलाले लगातार आफ्नो गतिविधि जानकारी गराउँदै छिन्।
उनले पोस्ट गरेका फोटो, भिडियो र स्टेटस भाइरल भएको छ। शृंखला कहिले सहभागीहरूसँग रमाइलो गरेको फोटो राख्छिन् त कहिले नाच्दै गाउँदै गरेको। उनले अन्य सहभागी सुन्दरीहरूलाई नेपाली बोल्न सिकाएका भिडियोहरू पनि धेरैले मन पराएका छन्। पेसाले आर्किटेक्ट शृंखलाको इन्ट्रोडक्सन भिडियो पनि भाइरल भएको थियो।
ब्युटी विथ प्रपस टाइटलमा उनले चेपाङ समुदायका लागि स्वास्थ्य भवन निर्माण गरेकी थिइन्। उक्त भवन शृंखला आफैंले डिजाइन गरेकी हुन्। यस वर्षको मिसवर्ल्डमा एक सय २१ प्रतिस्पर्धी छन्। प्रतियोगितामा उनी उत्कृष्ट ३० मा छनोट भइसकेकी छन्। क्षमता र सुन्दरता दुवै भएकी शृंखलालाई यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूले पच्छ्याइरहेका छन्।
मिस नेपाल बनेदेखि नै मोडलिङ र फिल्म नगर्ने बताइसकेकी शृंखलाले यो वर्ष नयाँ विषयवस्तुका साथ मिसवर्ल्डमा सहभागी भएकी छन्। उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमि भएकी शृंखलाको मिसवर्ल्ड यात्रालाई पूरै विश्वले निकै चासोको रूपमा लिएको छ। शृंखलाको चर्चा चुलिएसँगै उनीबाट नेपालीले धेरै आशा गरेका छन्।
भोटिङमा मिस नेपाल शृंखला सबै सहभागीमध्ये अगाडि छिन्। उनले अहिलेसम्म एक लाख ३९ हजार ६१ भोट पाएकी छन्। भोटिङकै आधारमा युनाइटेड स्टेडकी सुन्दरी मरिसा बट्लर ४० हजार दुई सय ४८ भोटका साथ दोस्रो स्थानमा छिन्। फ्रान्सकी सुन्दरी माव कौक ३४ हजार सात सय २७ भोट पाएर तेस्रो स्थानमा छिन्।
हेड टु हेड च्यालेन्जका लागि भोटिङ अवधि बुधबारसम्म मात्र थियो। मिसवर्ल्ड २०१८ को ग्रान्ड फिनाले ८ डिसेम्बर, शनिबारका दिन हुँदैछ।