प्रेमिका फकाउने ‘कोके’ नृत्य
जुम्ला : अधिकांश युवायुवती ‘गेन’, ‘थाङवा’, ‘गउ’लगायत आर्कषक गहनाले सजिएर लामबद्ध भएर नाचिरहेका थिए । पोशाकले नृत्यलाई थप आकर्षक बनाएको थियो । प्रत्येक युवतीले लनक (बर्को) ओडेका थिए । युवा भने मुगुम पोशाकले सजिएका थिए।
मुगु र जुम्लाका विभिन्न क्षेत्रमा मुगुम युवायुवती लस्कर भएर गीत गाउँदै नाच्ने गर्छन् । जुम्ला बजारमा २० बढी युवायुवती वरीपरी घुम्दै आफ्नै भाषाको गीतमा नाचेर रमाइलो गरिरहे । दर्शकका लागि पनि यो नृत्य रमाइलो थियो ।
मुगुम जातीका दौतर युवायुवती पे्रम साटासाट गर्न यसरी ‘कोके’ नाच नाच्ने प्रचलन छ । गाउँमा असल प्रेमको शुरुवात नै ‘कोके’ नाचेर हुने गर्दर्छ । त्यसपछि मात्र विवाहको कुरा चल्छ । यो नाच शुभकार्य र उत्सवमा मात्र नभएर गाउँ छाडेर जाँदा पनि नाचिन्छ ।
‘कोके’को अर्थ घुम्न जाँदा मन पराएकी युवतीसँग प्रेम साटासाट गर्ने संकेत हो । पश्चिम हिमाली क्षेत्रमा बसोवास गर्ने मुगुम जाती प्रत्येक वर्ष शरद ऋतुको शुरुवातसँगै एक महिनासम्म गाउँ छाडेर अन्यत्र जाने चलन छ । गाउँ छाडेर जानु अघि र गएर फर्केर गाउँ आएपछि पनि लामवद्ध भएर ‘कोके’ नाचेर छुटिने प्रचलननै भएको जुम्ला गुम्वाका अध्यक्ष नुर्वु ओङदी लामाले बताए ।
परम्परागत भेषभूष र गरगहनमा सजिएर विषेश गरी मुगुम जातीका युवायुवती यो नृत्यमा सहभागिता जनाउने गर्छन् । यो जातिमा लामा, तामाङ र कर्मरोङको सबै भन्दा महत्वपूर्ण नृत्य ‘कोके’ भएकाले यसको अस्तित्व अझै कायमै रहेको माथिल्लो मुगुका खेन्पो सेल्नाङ ग्याम्जोले बताए ।
‘कोके’ नाचलाई असल प्रेमको पर्यायको रुपमा लिइन्छ । प्रेमपत्र, वार्तालगायतका प्रेमका अनेक शैली यो जातीमा पाइदैन त्यसैले पनि यो नाचको महत्व बढेको सेल्नाङको भनाइ छ ।
किशोर उमेर समूह देखिनै यहाँका केटाकेटीले नाचमा सहभागिता जनाउने गर्छन् । वैवाहिक कार्यक्रमदेखि गाउँमा हुने अन्य उत्सवमा मुख्य आकर्षणनै ‘कोके’ नृत्य बन्ने गर्छ । जुम्ला, मुगु, डोल्पा जिल्लामा पनि यो नृत्य हिजोआज लोपहुँदै गएकाले यसको संरक्षण गर्नु पर्ने खेन्पो सेल्नाङको भनाइ छ ।