सबै राजनीतिक दलबीच सहमति आवश्यक छ : प्रचण्ड
चरौदी (धादिङ) : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई गति दिनका लागि सबै राजनीतिक दलबीच सहमति आवश्यक रहेकोे बताएका छन्।
धादिङ उद्योग वाणिज्य संघ दक्षिण क्षेत्रीय समितिले आयोजना गरेको कृषि पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दैै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई राजनीतिक दलबीचको सहमतिका आधारमा टुंगो पु¥याउन नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए।
नेकपाको नेतृत्वमा सरकार बनेपछि देशमा निकै परिवर्तन भएको दाबी प्रचण्डले गरेका छन्। ‘निकै ठूलो संघर्ष त्याग तपस्यापछि राजनीतिक प्रणाली प्राप्त भएको छ’, दाहालले भने, ‘अबको हाम्रो लडाईं आर्थिक समृद्धि र सुशासनको हो।’
धादिङ र गोरखाको सिमानमा रहेको बहुप्रतिष्ठित बुढीगण्डकी आयोजनाको तिब्र ढंगले अगाडि बढिरहेको उनले प्रष्ट पारे।
राजमार्गलाई चार लेन बनाइने, रेलमार्ग निर्माण गर्ने र कृषिको सुपर जोन बनाउने विषयमा आफ्नो चासो भएको उनको भनाइ छ। सरकारले गरेका राम्रा कामको प्रस्तुत गर्दै प्रचण्डले चार वर्षभित्र काठमाडौंमा रेल पुग्ने गरी पूर्वाधार विकासका योजना बनिसकेको बताए।
औद्योगिक मेला १० दिनसम्म सञ्चालन हुनेछ। मेलामा जिल्लाका कृषिजन्य, जडीबुडी, हस्तकला, चेपाङ संस्कृति मुख्य आकर्षण रहेका छन्।