काठमाडौंका ८० प्रतिशत शिक्षक 'हाटा'

काठमाडौंका ८० प्रतिशत शिक्षक 'हाटा'

काठमाडौं  : सरकारी कर्मचारीबीच बोलीचालीमा एउटा शब्द प्रचलित छ– हाटा । हाटा अर्थात् हाजिर गर्दै, टाप ठोक्दै । बोलीचालीमा मात्रै होइन, व्यवहारमा समेत कर्मचारीले हाटा गर्छन् । काठमाडौं महानगरमा त ८० प्रतिशत शिक्षक हाटा पाइएका छन् ।

महानगरको शिक्षा विभागले गरेको अनुगमनमा सामुदायिक विद्यालयका अधिकांश शिक्षक कक्षामै अनुपस्थित भेटिए । महानगरभित्रका केही सामुदायिक विद्यालयमा हाजिर गरे पनि विद्यार्थी नपढाएको भेटिएको हो । विभागले गरेको छड्के अनुगमनमा शिक्षकहरू विद्यालयमा हाजिर हुने प्रवृत्ति अत्यन्त न्यून रहेको, हाजिर भए पनि विद्यालयमा नभएको तथा विद्यालयमा हुँदा समेत पूरा समय कक्षामा नबसेको पाइयो ।

शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार अनुगमन गरिएका विद्यालयमध्ये केहीमा ८० प्रतिशतसम्म शिक्षक अनुपस्थित भेटिए । विभागले आधा दर्जनभन्दा बढी स्कुलमा अनुगमन गरेको थियो । ती विद्यालयमा २३ जना शिक्षक अनुपस्थित भेटिए । अनुगमन गरिएका विद्यालयको नाम भने खुलाइएको छैन ।

‘कुनै एक विद्यालयमा कक्षा नौ र दशको पढाइ बिहान हुँदो रहेछ । बिहान ६ बजेर तीस मिनेटमा स्कुल सुरु हुनुपर्ने रुटिन बने पनि साढे सात बजेसम्म पनि शिक्षकहरू देखेनौं’, कोइरालाले भने, ‘हामी जाँदा दुई चार विद्यार्थी खेलिरहेका थिए । विद्यालय आउनुपर्ने शिक्षकमध्ये असी प्रतिशत अनुपस्थित थिए ।’

अरु स्कुलको अवस्था पनि उस्तै रहेको कोइरालाले बताए । विद्यालय निरीक्षक, स्रोत व्यक्ति र आफूसमेत अनुगमनमा जाँदा यस्तो पाइएको उनले जानकारी दिए । अनुगमनमा आउने अग्रिम सूचना दिंदा विद्यालय प्रशासन सतर्क हुन्छ भन्ने अनुमानमा टोलीले छड्के जाँच गरेको थियो ।

शिक्षक नदेखेपछि प्रधानाध्यापकमार्फत ती शिक्षकलाई २४ घण्टे स्पष्टिकरण पठाइएको छ । स्पष्टिकरण चित्त नबुझे विभागीय कारवाही गर्ने महानगरको तयारी छ । महानगरपालिकाभित्र ९१ वटा सामुदायिक विद्यालय सञ्चालित छन् ।

विद्यालय संरचना र जनशक्ति प्रशस्त भए पनि विद्यार्थी संख्या कम रहेको र पढाइको स्तर खस्केका लगायत समस्या यी विद्यालयमा छ । समस्याको मुख्य कारक शिक्षक रहेको महानगरको आरोप छ । कोइरालाले भने, ‘विद्यालयको अवस्था यस्तो दर्दनाक छ, जुन हामीले कल्पना पनि गर्न सक्दैनौं । केही विद्यालयलाई तत्काल पुनःसंरचना गर्नुपर्ने आवश्यकता छ । यसबारे महानगरपालिकालाई पनि जानकारी गराउँदैछौं ।’

महानगरपालिकाको शिक्षा स्तर सुधार्न शिक्षा विभागले गत साता ३० बुँदे सोचपत्र सार्वजनिक गरेको थियो । बदमासी गर्ने शिक्षकलाई कारवाही गर्ने, कार्यसम्पादन गर्न नसक्ने प्रधानाध्यापकलाई जिम्मेवारी खोस्नेदेखि सरुवाको व्यवस्था उक्त सोचपत्रमा छ । कोइरालाले भने, ‘अब पनि सामुदायिक विद्यालयको स्तर उकास्न विशेष अभियान सञ्चालन नगर्ने हो भने एक दुई वर्षमा महानगरको सार्वजनिक शिक्षा तहसनहस हुने अवस्थामा पुगेको छ । यसलाई सुधार्न बेलैमा सबै सजग हुनु जरुरी छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.