जसले बालकको हत्या गरे, उनै खोज्न निस्किए
काठमाडौं : राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठवर्षीय बालकको ज्यान लिएको खुलेको छ। गेस्ट हाउसका मालिक प्रवीण कुँवर र आठवर्षीय छोरा प्रयाससँग बदला लिने नाममा बालकको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ।
स्याङ्जाको भीरकोट नगरपालिकाका–२२ वर्षीय महेन्द्र एसकेले प्रहरीलाई दिएको बयानमा छोराले आफूलाई कुटेको र बाबुले हप्काएको रिस फेर्न बालकलाई उठाएर हत्या गरेको बताएका छन्।
आठवर्षीय बालक प्रयास कुँवरको एसकेले मंगलबार साँझ गेस्ट हाउसबाटै उठाएर नागार्जुन जंगलस्थित एकान्त सडकमा पु¥याई घाँटी र नाकमुख थिचेर हत्या गरेका थिए। उनले बालकलाई नागार्जुन लैजानुअघि मित्रनगरकै डीआर फेन्सी स्टोर र अर्को कपडा पसलबाट दुइटा जेब्रा झोला पनि किनेर लगेका थिए।
एक महिनाअघि मात्रै १४ हजार रुपैयाँ तलबमा गेस्ट हाउसका पाहुना ओसार्ने स्कोर्पियो चलाउने जिम्मा पाएका उनले काममा लापरबाही गरेको भन्दै मालिक प्रवीण कुँवरले पटकपटक निकालिदिने भनेका थिए। गेस्ट हाउसको गाडीले अरु होटलका पनि मान्छे लुकीलुकी बोक्न थालेपछि रिसाएका गेस्ट हाउस मालिकले हप्काएदेखि नै एसकेले बदला लिने योजना बनाएको खुलेको छ।
हत्या आरोपी एसकेले आफूलाई रिस उठेपछि मान्छेलाई नै जे पनि गर्ने भन्ने गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसकै एकाउन्टेन्ट नमराज पौडेलले बताए। ‘घटनाको एक दिनअघि कोठामा गाडी राख्न लाँदा उसले मलाई ‘रिस उठ्यो भने गाडीलाई कहिल्यै रिस पोख्दिनँ, गाडी मेरो गरिखाने बाटो हो। रिस उठ्यो भने मान्छेलाई जे पनि गर्छु’, भनेको थियो’, पौडेलले सुनाए, ‘गेस्ट हाउस मालिकले उसलाई राम्रो काम गर, अरूले बाह्र हजार दिए मैले चौध हजार दिन्छु भन्नुभएको रहेछ। अझै राम्रो काम ग¥यौ भने सोह्र हजार पनि दिन्छु, भाइ जस्तै होऊ पनि भन्नुभएको रहेछ। तर उसले भने जस्तै सन्कीको भरमा बालकको ज्यान लिएरै छाड्यो।’
बाबुले हप्काएर तनावमा परेका एसकेलाई चञ्चले स्वभावका बालक प्रयासले स्कोर्पियोको लिभरले टाउकोमा हिर्काएपछि उनले दुवैसँग बदला लिने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘सन्की र रिसाहा स्वभावका एसके कामबाट निकालिदिने गेस्ट हाउस मालिकको चेतावनी र बालक प्रयासले टाउकोमा पीडा हुने गरी लिभरले हिर्काएपछि बदला लिने योजनामा लागेको देखियो’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले भने, ‘सानैदेखि सन्की स्वभावका एसकेले बाबुआमा अस्पताल गएको मौकामा गेस्टहाउसबाट छोरालाई उठाएर ४५ मिनेटभित्र हत्या गरेको पाइयो।’
बाबुआमा र प्रहरीलाई झुक्याए
एसकेले मंगलबार साँझ ६ बजे बालकलाई उठाएर नागार्जुनमा लगी हत्या गरेपछि जेब्रा झोलामा शव हालेर गेस्ट हाउसकै गाडीमा म्हैपी पुलनजिकै फोहोरको थुप्रोमा ल्याएर फालेका थिए। गेस्ट हाउसमा फर्केपछि छोरो नदेखेका बाबुआमाले तत्कालै खोजी थाले। नभेटिएपछि गेस्ट हाउसमा नभएका ड्राभइर एसकेलाई पनि उनीहरूले फोन गरे। तर उनले फोन काटे, त्यसपछि फोन उठाएका उनले बालक आफूसँग नभएको जवाफ दिए।
ड्राइभरले पनि बालक आफूसँग नभएको जवाफ दिएपछि हड्बडाएका बाबुआमाले छिमेकीको सहयोगमा छोराको खोजी तीव्र बनाए। मालिकको फोन आएपछि केही थाहा नभएको बहाना गर्दै गेस्ट हाउस फर्केका एसके पनि बालक प्रयासको खोजीमा जुटे। राति करिब पौने नौ बजेसम्म बाबुआमासँगै बालकको खोजीमा जुटेको नाटक गरेपछि एसके गोंगबुस्थित कोठामा गएर सुतेका थिए।
करिब तीन घण्टासम्म खोज्दा नभेटिएपछि बाबुआमाले छोरो हराएको खबर प्रहरीलाई गरेका थिए। बुधबार बिहानैदेखि बालकको खोजीका लागि पुगेको प्रहरीसँग पनि एसकेले बालकको खोजी गर्न सहयोगको नाटक गरेका थिए। तर प्रहरीले बालक र ड्राइभर एकै समयमा गेस्ट हाउसबाट हराएको बिन्दुबाट अनुसन्धान गर्दा अन्ततः उनी फन्दामा परे।
‘बाबुआमासँगै प्रहरीलाई पनि उसले दुई दिनसम्म झुक्यायो। तर राहदानी दिन दाइकहाँ गएको र प्रेमिकालाई भेट्न गएको कुरा झुटो पुष्टि भएपछि हामीले बुधबारबाटै उसमाथि निगरानी बढायौँ, नागार्जुनसम्म पुगेको प्रमाणका आधारमा उसकै संलग्नता रहेको निचोड निकाल्यौं’, प्रवक्ता उप्रेतीले भने, ‘तर अझै ऊ बालकको खोजीमा लागेको थियो, बालक बेपत्ता गर्न उसकै संलग्नता भएको आधार भेटिएपछि कडाइका साथ सोधपुछ गर्दा उसले घटना स्विका¥यो।’
सुरुमा प्रहरीकै सहयोगी बनेका महेन्द्र एसकेले प्रयासको हत्या गरेर शव विष्णुमतीमा फालेको बताएपछि प्रहरीले त्यहाँ दुई घण्टासम्म खोज्दा पनि भेट्टाउन सकेन। सोधपुछका क्रममा ढाँट्न खोजेको खुलेपछि प्रहरीले अझ कडाइका साथ सोध्दा एसकेले प्रयासको शव म्हैपी खोला किनारको फोहोरको थुप्रोमा फालेको स्विकारे।
सन्काहा स्वभावले अपराध
एसकेकै भनाइका आधारमा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख धीरजप्रताप सिंहसहितको टोलीले जेब्रा झोलाभित्र पोको पारेको अवस्थामा बालकको शव भेट्टाए। केही समय भारतमा समेत बसेर आएका एसकेको सन्काहा स्वभावकै कारण बालकले ज्यान गुमाउनुपरेको सुरुवाती निचोड प्रहरीले निकालेको छ।
प्रहरीले अहिलेसम्म एसके विगतमा आपराधिक गतिविधिमा लागेको संकेत भेट्टाएको छैन। स्कोर्पियोबाट अन्य होटलका पनि यात्रु बोकेको पाइएपछि मालिकले कामबाट निकालिदिने भनेको बाहेक अरू बेला गालीसमेत नगरेको एकाउन्टेन्ट पौडेल बताउँछन्। ‘मालिकले कामबाट निकालिदिने भनेकै कारण उसले यस्तो गरेको हुन सक्छ। यसअघि झगडा भन्ने केही भएकै थिएन। दाइ (गेस्ट हाउस मालिक)ले जीवनमा कहिल्यै रिसाएर बोलेको थाहा छैन, एसकेलाई पनि लापरबाही नगर्न सम्झाउनुभएको हो।’
पौडेलका अनुसार केही वर्षअघिसम्म मदिरा पिउने गरेका एसकेले त्यसयता त्यो बानी पनि छाडेका थिए। ‘पहिले मदिरा खाए पनि गत वर्ष फागुनमा बिहे गरेर दुई महिनाअघि श्रीमती काठमाडौं ल्याएपछि पिएको थाहा छैन’, पौडेलले भने, ‘टेन्सन भए खान्छु भन्थ्यो, तर मैले देखिनँ।’
तर एसकेसँग चाँडै धनी हुने र धेरै पैसा कमाउने महत्वाकांक्षा भने आफूले देखेको पौडेलले सुनाए। ‘उसले अरू होटलमा सात महिनामा १० लाख कमाउँछु भनेर मलाई सुनाएको थियो’, पौडेलले भने, ‘अरु होटलका मान्छे पनि यही गाडीले लिएर हिँड्ने, भनेको नमान्ने र लापरबाही गर्दै गाडी चलाएको थाहा पाएपछि दाइ (गेस्ट हाउस मालिक) ले रोक्नु खोज्नुभएको थियो, त्योभन्दा ठूलो विवाद भएको थाहा छैन।’
प्रहरीले बालकलाई गेस्ट हाउसबाट उठाएर एसकेले बाबुआमासँग कुनै किसिमको बार्गेनिङ गर्न फोनसमेत नगरेको जनाएको छ। ‘यो केस फिरौती लिन या अन्य उद्देश्यले गरिएको अपहरण होइन’, प्रवक्ता उप्रेतीले अन्नपूर्णसँग भने, ‘अहिलेसम्म सबै कोणबाट हेर्दा बाबुछोरासँगै रिस फेर्नैका लागि बालकको ज्यान लिएको देखिन्छ।’
प्लानिङस्थित वेलमेन्ट इन्टरनेसनल स्कुलमा कक्षा १ मा अध्ययनरत तीक्ष्ण स्वभावका एक्लो सन्तानको आफ्नै ड्राइभरबाट भएको हत्यापछि बाबुआमा दुवै बेहोस भएका थिए। उनीहरू अहिले पनि अस्पतालमा छन्। छोरालाई गुमाउनुपरेपछि पर्वतको बिहादी नगरपालिका–२ बराचौर स्थायी घर भएका कुँवर दम्पती र उनको परिवार अहिले शोकमा डुबेको छ।