ढुंगाको सिरानी लाएर गौनसे

ढुंगाको सिरानी लाएर गौनसे

अर्जुन मरेको होइन, ऊ केवल सुतिदिएको हो। कठोर भएर, अहिलेका हामी अगुवाहरूजस्तै। जो राजनीति गर्छौं, जो हामी सपना देख्छौं र देख्न लगाउँछौं। हो, फटाहा त हामी हौं।


चार महिनाअघि–

‘दाजै, अर्जुन खालिङको स्मृति–ग्रन्थ निकाल्दै छुम्। तपाईंको लेख चाहियो।' अञ्जना इछमफूलले म्यासेन्जरमा भनेकी थिइन्।

अर्जुनको सवालमा म आफैं दुःखी छु, अब अर्को दुःखी यो ‘इछमफूल' पनि थपिइछिन्। उसै कवि हृदय, कहीँ नभएका सबै दुःख आफैं उठाइदिऊँ झैं गर्छिन्। ‘ओके' भन्दिएको हुँ मैले।

‘अर्जुनबारे धेरै लेख्न सक्छु', यस्तो लाग्ने भइहाल्छु। तर, के के लेख्ने ? कति लेख्ने ? कसरी लेख्ने ? अहो ! अनि पो रन्थनिनँ थालेँ, पिलिन थालेँ। दिमागले काम गर्न छाड्यो। ल्यापटपको किबोर्डमा पटकपटक पुगेका औंलाहरू आफैं जाम भए। निर्जीव पो भइसकेँ कि क्या हो ? आफैंमा प्रश्नले घेराबन्दी हाल्यो।

‘काठमाण्डू कटाक्ष' शीर्षकमा लेख्छु भनेको पाँच वर्ष भइसक्यो। ‘सहजै लेख्छु नि' भन्ने लाग्छ तर पटक्कै सक्या होइन। काठमाण्डू, कोटेश्वरमा मेरो जीवनको सबैभन्दा लामो समय बितेको छ। दस वर्ष, पूरापूर साठीको दशक।

हो, कोटेश्वरमा मेरा दसवटा वर्षहरू मात्रै बितेका छैनन्, यही दशकले मुलुकमा धेरै उतारचढाव पनि भोगेको छ। म अर्थात् काठमाण्डूमा देशभित्रकै एक आगन्तुक र आन्तरिक शरणार्थी, जसले आफ्नो पूर्ण उर्वर युवा जोश अनेकन् दुःखहरूमा खपेको छ। आफन्तहरू नै बिरन्तरी लाग्ने, घरधनी र साहूहरूको किचलोले जिन्दगीका सबै उत्साह, सपना झुर लाग्ने, अभावैअभाव र अनेकौं चुनौतीहरूले गाँजेर घरिघरि त बरु मृत्युकै नजिक पो जाऊँ कि हुने, मरिजाऊँ लाग्ने। अहँ, लेख्न भने सकिएको छैन। कुनै कुनै कुराहरू ‘सक्छु' लाग्छ तर सकिँदैन। अर्जुनकोे सवालमा पनि म यसै भइरहेको थिएँ।

त्यसो त साथ दिने भाइहरू पनि थिए— दया, भोगेन्द्र, राजेश, अमित, इन्द्र, विराट र खुक्सङहरू। दयाहाङ राई अहिले स्थापित अभिनेता छँदै छन्, भोगेन्द्र लिङ्देन परराष्ट्रका अधिकृत छन्। राजेश चाम्लिङले गोरखापत्र संस्थानमा स्थायी अधिकृत धानिरहेका छन्। अमित र इन्द्र दुवै चाम्लिङ हुन्, उत्कृष्ट व्यवसायी बनिसकेका छन्। विराट किराती झापामा साहित्यिक र सांस्कृतिक अभियानमा दरिलो गरी लागिरहेकै छन्।

खुक्सङ खम्बूले सांस्कृतिक तथा जातीय चेतनासहितको कविता, गीत लेखनमा झन्झन् अब्बल बनाउँदा छन् आफूलाई। हो, यिनैको हाँचमा उमेर र अनुभवले अलि पाका थिए— अर्जुन खालिङ। मभन्दा एकै वर्ष कान्छो मात्र।

एक साँझ कोटेश्वरको ‘धराने सेकुवा कर्नर'मा अर्जुनले मलाई सोधेको याद छ, ‘दाजु, तपाईं कमजोर हुनुहुँदै छ। तपाईं नै कमजोर भएपछि तपाईंलाई पछ्याएर आउने हामी झन् कसरी बलियो हुने ? '

मसँग उत्तर थिएन। आफ्नो व्यक्तिगत जिन्दगीलाई लिएर कमजोर कुराहरू धेरै गरिसकेको थिएँ हुलाँ। अर्जुनलाई मेरो अभिव्यक्तिले दुःखी आभास दिलायो पक्कै। म उसको कुराले झल्याँस्सै भएको थिएँ। हो, मसित आन्दोलन थियो, अभियान थियो। पहिचानको पक्षमा जिकिर गर्ने ढिपि थियो, आज झन् छ। भाइहरूले यसरी हौस्याउँदा ऊर्जा मिलिहाल्याथ्यो, म अर्जुनसँग उच्च मनोबलका साथ छुट्टिएको थिएँ त्यस साँझ।

त्यसपछि मैले आफूलाई भाइहरूसित जहिल्यै दरिलो आँक्ने हिम्मत बटुलेँ। भएका दुःखहरू सबैसबै लुकाइदिएँ त्यसैत्यसै।

तब, यस्तो दरिलो साहस दिने एक विम्ब, त्यो साँझको गौनसे अर्थात् अर्जुन खालिङबारे लेख्न नसक्ने कुरै हुँदैन। तर, खै किन हो ? लेख्नै सकिँदैन। कथेर, कनेर लेख्ने कुरै भएन। ‘ओके'चाहिँ भनिहालिएको छ, फसादमा थिएँ म।

चार महिनापछि—

‘दाइ, के छ ? ' कवि प्रेमिला राई (चाम्लिङ)को म्यासेज आउँछ।

‘अर्जुन खालिङबारे लेख्नुपर्ने, खै के लेख्ने दिमागले कामै गरेको छैन हौ।'

‘दाइ, अर्जुनबारे तपाईंले नलेखेर कसले लेख्छ त ? लेख्नोस् !' प्रेमिलाले यसो लेखी।

हो त, मैले लेख्नैपर्छ।

०००

सेप्टेम्बर २२, २०१८।

बिहान ६ः५० बजे हाङयुग अज्ञातले आफ्नो फेसबुक वालमा ‘आखिर केको लागि ? ' लेखिएको ‘सीडी–कभर'सहित यस्तो लेखेर सेयर गरेका थिए—

‘रविन बान्तावा खाहोङ राई, शरद सिन्हा र राकेश खालिङको यो गीत करिब एक वर्षअगाडि तयार भएर पनि केले केले अल्झेर बसेको थियो। हिजो अचानक म झस्किएँ। यो दुनियाँ हामीजस्तो इमानदार छैन रहेछ। आज यो गीत रिलिज गर्नुभएकोमा सबैलाई बधाई छ।'

फेसबुकको पारामा रविन र शरद ‘मेन्सन' भएका थिए। मैले सीडी–कभरमा क्लिक गरेँ। युट्युब खुल्यो र निरस संगीतसहित आलाप बज्न थाल्यो। आलापमै अलगको स्वर थियो, संगीतले छुट्टै पारा ल्याइहाल्यो। छोइएँछु, शब्द कस्तो होला ? म आतुर भइहालेँ। नभन्दै, एउटा बलियो स्वरले गाउन थाल्यो—

नरुनू है मलाई सम्झेर म सुतेँ सधैंसधैंलाई

खूला आकाश ओढेर पूरै धर्ती ओछ्याई

नरुनू है...

स्थायीले नै हुरुक्क बनाइहाल्यो। मृत्युको चुडान्त प्रियपनामा संगीतको मूच्र्छना, एकदमै फरक स्वरको गायकी, म उसैउसै भावुक भएँ।

जीवनदेखि उत्तावै थाकेको हो कि ? फेरि किन ? किन मृत्यु प्रिय लाग्छ मान्छेलाई ? यस्तो सोचिहाल्न भ्याएको थिएँ, अन्तराले यसरी कह्यो—

साँघुरो कोठामा बसेर संसारै खुम्चायौ

कति जालझेल गरेर माटोलाई भाग लगायौ

मुट्ठीमा किन सास फेर्नु ? हावा सबै तिम्रै हो

कुवामा किन जमिबस्नु ? सागर सबै तिम्रै हो

राकेश खालिङ परिचित नाम थिएनन्, होइनन् मेरा लागि। उनीसित उत्रो आपत्ति रहेन, रहँदैन पनि। झनै रविन मेरा मिल्दा र उस्तरी हितैषी मान्छे हुँदै होइनन्। यिनले त ‘माटोलाई भाग लगायौ' भनेर हाम्रो भर्खरको संघीयतालाई पो विरोध गर्दा रहेछन् कि ? ए, यस्ता पो ? एउटा बान्तवाले, राईले जो आफ्नै पाछा पनि खाहोङ लेख्छ, यिनले यस्तो गीत लेख्न मिल्छ ? भनेर म टिमुर्किने भइहाल्छु। मिल्दैन। तर, राकेश खालिङको स्वरबाट म यस्तरी प्रभावित भइहालेँ कि गीतसंगीतका धेरै साथीलाई उनीबारे सोधीखोजी गरेँ। अहँ, कसैले चिनेको बताएनन्। मैले उनको स्वर सुनाएँ, पटकपटक सुनाएँ। सुनाउँदै सुन्दा यो पछिल्लो समय सबैभन्दा बढी मैले नै सुनेँ। यद्यपि, उनी मेरो सम्पर्कमा छैनन्।

०००

७३ सालको मङ्सिर महिनाको तेस्रो हप्ता लागेपछि म गाउँ पुगेँ। अलैंची खेतीले मलाई हौस्याएकै थियो। तर, पहिलो गोडाइ ढिलो भइसकेको थियो। असोजदेखि नै सुक्खा लागेकाले अलैंचीका बोटहरू पहेँलिसकेका थिए। बगैंचा नै पो सबै डढ्ने हो कि भन्ने पीरले खाँदै थियो।

म बिहानदेखि साँझसम्मै अलैंचीमा पानीको कुलो मिलाउँदै रहन्थेँ। चिसोले हैरान पारेर घर आइपुग्थेँ, तात्तातो खाएर ओछ्यानमा ढल्किहाल्थेँ। यसैमा २९ गतेको रात मोबाइलमा म्यासेजको रिङटोन बज्यो। म्यासेज खोलेँ। गनेसकुमार राई (गिलु रातोस)ले पठाएको रहेछ। म्यासेज यस्तो थियो— दाइ, अर्जुन दाइ हुनुहुन्न।

मैले तत्कालै गनेसलाई फोन गरेँ। सोधेँ।

अर्जुनले जुन बाटो रोज्यो, त्योप्रति गनेस किञ्चित मान्नेवाला छँदै थिएन। उसै ऊ जनयुद्धको बाल छापामार, बालकलाकार जेजे भनौं, बाल भएर पनि भोगेर आयो। लडेर आयो। ऊ मलाई ‘चम्किलो रातो तारा' उपन्यासको तुङ चजस्तो लाग्छ। अर्जुनको मृत्युमा कठोर रिसाएको थियो ऊ। उसले बोलेको भाषा म यहाँ भन्दिनँ। तर, कुनै दिन गनेस पनि पो अर्जुनको हालतमा आइपुग्ला कि भन्ने डरले सताउँछ मलाई।

किनभने, अहिले गनेसको आँखाको भावमा हेर्छु, कुरा गर्ने तरिका हेर्छु, हिजोको उम्दा क्रान्तिकारिता कहाँ छ र उसमा ? एउटा क्लान्त योद्धा मात्रै बाँकी छ। उबेलाको उसको त्यो क्रान्तिकारितालाई अहिले समृद्धि नामको सपनाले गिज्याइरहेको देख्छु म। निकै भावुक भएर मलाई गनेसले नि जोड गर्छ, ‘दाइ, तपाईंको काठमाण्डू कटाक्ष छिटो लेख्नुप¥यो। अर्जुनलाई मर्न बाध्य पार्नेहरूलाई गतिलो सबक सिकाउनु प¥यो।'

यो हो नि त क्रान्तिकारिता। जब्बर छ गनेस।

यो आलेख लेखिरहँदा पनि रविनकै गीत सुनिरहेको छु। यसरी—

नाना सपना देखाई मान्छेलाई दास बनायौ

खुला जन्मिएथ्यौं हामी, नियम–कानुन बनायौ

म तिम्रो कुरा किन्ने छैन, पागल नै सम्झ मलाई

स्वाधीन नै बाँची मर्नेछु, ढुंगाको सिरानी लगाई

जब गीतले उत्कर्ष भन्छ, तब म कन्भिस हुन्छु कि अर्जुन मरेको होइन, ऊ केवल सुतिदिएको हो। कठोर भएर, अहिलेका हामी अगुवाहरूजस्तै। जो राजनीति गर्छौं, जो हामी सपना देख्छौं र देख्न लगाउँछौं। हो, फटाहा त हामी हौं।

कैलेकाहीँ उपेनजी (उपेन्द्र सुब्बा) भन्नुहुन्छ— सर, मर्नका लागि त सबभन्दा ठूलो साहस चाहिन्छ।

घरिघरि हो लाग्छ। तर, म असहमत भइहाल्छु। बाँच्नका लागि झन् कम साहस र हिम्मत चाहिन्न। बाँचेर हेरौं न। के के भोग्न पाइन्छ। देख्न पाइन्छ। यस्तै त्यस्तै। तर्कका लागि तर्क नै त ठेलिन्न। साँच्चै बाँच्नका लागि निकै ठूलो कुरा चाहिन्छ, सबैसबै कुरा मिलेको हुनुपर्छ।

कोटेश्वर कटाक्ष लेख्न खै केले दिएन ? आफैं निरुत्तर छु। तर, अब त नलेखी धरै छैन, जरुर लेख्छु। ‘खुला आकाश ओढ्नु' र ‘पूरै धर्ती ओछ्याउनु' भनेको जीवनसँग हार्नु र थाक्नु कहाँ हो रहेछ र ? बरु हकदाबी गर्नु पो रहेछ। धन्यवाद रविन ! ज्ञान भयो आज। ‘ढुंगाको सिरानी लगाउनु' भनेको अन्ततः बोल्दिनँ भनेको होइन रहेछ, जब्बर हुनु पो भन्दो रहेछ। रविन, तपाईंको गीतले त मर्नु भन्दैन, मृत्युको बाटो देखाउँदैन। बरु, अरू हकदाबी नै सिकाउँछ। खुसी छु— अर्जुनलाई लेख्नुभएछ गीतमा।

उसै ललितकलाको विद्यार्थी। एक रहस्य वा अलि अमूर्त लाग्थे अर्जुन। पछिल्लो समय त उनले रक्सी पनि छाडेका थिए। केही समय त उनले प्रयास गरेकै हुन्। हामी पिइदिन्थ्यौं, उनी हँसिखुसी बसिदिन्थे। तर, बिस्तारै उनी टाढिँदै गए, साथीभाइ बीचबाट पातलिँदै गए। अन्ततः एक्लै गएका गयै भए।

०००

‘अर्जुनलाई कसरी चिन्छु त ? ' धेरैपल्ट मैले आफैंलाई प्रश्न गरिरहेँ। मैले उनैको ‘गोयाङको सुगन्ध' कविता–कृतिको एक कार्यक्रममा बोलेको रहेछु। जो युट्युबमा अडियो मात्रै रहेछ। यस्तो—

‘हामी एक दशक पूरा गरेका सहयात्रीहरू हौं। हामी सामाजिक अभियन्ता, विशेष गरेर किराती राष्ट्रिय मुक्ति आन्दोलनका लागि सांस्कृतिक र सामाजिक यी दुई तहबाट आन्दोलन गर्दै अगाडि बढेका सहयात्री हौं। हिजो किरात राई लेखक संघको संस्थापक अध्यक्ष म थिएँ, अहिले (एकहत्तर सालमा) अर्जुनले सम्हालेका छन्। हामी किराती सौन्दर्य चेतना र शास्त्रका कुरा गरिरहेका छौं। त्योभन्दा अगाडि बढेर आदिवासी/जनजातिहरूको ‘आदिवासी सौन्दर्य र चेतना'को कुरा गरिरहेका छौं।

र, सिंगै मुलुकका सन्दर्भमा भने हिजोदेखिको लामो परम्पराको सामन्ती चिन्तनबाट नेपाली समाज जसरी ग्रसित छ, त्यो समाजलाई रूपान्तरण गर्न हामी सीमान्तकृतहरूको तर्फबाट, आदिवासी÷जनजातिहरूको तर्फबाट, किरातीहरूको तर्फबाट हाम्रो संस्कृतिलाई, सभ्यतालाई, इतिहासलाई समीक्षा गर्दै, पुनः मूल्यांकन गर्दै, उत्खनन गर्दै आगामी हाम्रा दिन के हुन् ? भविष्य हाम्रो के हो ? र हामी कतातिर जानुपर्छ ? भन्ने सन्दर्भबाट एउटा सहयात्रीको रूपमा, एउटा साथीको रूपमा, योद्धा साथीको रूपमा म अर्जुनलाई चिन्छु।

पहिलो कृति उनको ‘सूर्य डढिरहेछ निरन्तर'मा अर्जुनले ललितकलाका विद्यार्थी भएर कविता लेखे। ललितकलाकै विम्बमा लेखे। सांस्कृतिक चेतना कम, जातीय चेतना कम, सबैको राम्रो हुन खोज्ने भएर लेखे। तर, उनी कसैको भएनन्। कसैले आफ्नो मानिदिएनन्। उसै नि ललितकलाका ‘गोल्ड मेडलिस्ट' उनी त्यही ‘मेडल'का मात्रै भए। अनि त दोस्रो कृति ‘गोयाङको सुगन्ध'मा आइपुग्दा भने उनी पहिचानका पक्षमा जब्बरताका साथ उभिए। उनले आफूलाई, आफूहरूलाई खोजे। आफ्नै मुलुकमा नाम नपाएकाहरू, पहिचान गुमाएकाहरू भएर लेखे। तब न उनले ‘गोयाङको सुगन्ध' लेखे।'

गोयाङ त किनामा हो। विशेष पूर्वी नेपालका राई–लिम्बूहरूको सांस्कृतिक तरकारी। भटमास कुहाएर बनाइने स्वाद। उनीहरूका लागि प्रिय र मीठो। सारै सुगन्धित। तर, काठमाण्डूको वातानुकूलित कोठामा बसेर नेपाली समाजको ‘मध्यमवर्गीय भ्रम'को खेती गर्ने तथाकथित ‘थिंक ट्यांक'हरूले बुझ्ने कुरै भएन। अभिजात वर्गका दिमागी ट्यांकामा कसरी अट्न सकोस् यस्तो सौन्दर्यबोध ? किनामा त उनीहरूलाई दुर्गन्ध भइहाल्छ। तब द्वन्द्व सुरु भइहाल्छ। यस्तैहरूसित भिड्दै थिए अर्जुन।

गाउँमा गौनसे थिएछ, सुन्दर युवक थिएछ। काठमाण्डू आएपछि अर्जुन भनिएछ, भएछ। अथवा काठमाण्डूको मानसिकताले अर्जुन बनाएछ। गोल्ड मेडलिस्ट अर्जुन भइसकेपछि जब उनी गाउँ गए, गाउँमा कसैले चिनेनन्, मन पराएनन्, पत्याएनन्। ती गाउँलेहरू त गौनसेलाई मात्रै चिन्दा रहेछन्, उसलाई भारी मन पराउँदा रहेछन्, असीम प्रेम गर्दा रहेछन्। तर, त्यो गौनसेलाई काठमाण्डूको एकात्मकताले कस्तरी क्षयग्रस्त बनाइसकेको थिएछ।

अर्जुन त गोल्ड मेडल थापेर कर्तव्यच्यूत पो भइसकेको हुँदो रहेछ। यही बोधबाट अर्जुन अगाडि आइसकेका थिए। जस्तो कि उनको ‘गोयाङको सुगन्ध'बाट ‘आत्मबोध' शीर्षकको यो कविताअंश पढौं—

अहिले म

घु¥यानको कठघरामा उभिएको छु

घरका सुँगुर र कुखुराका खोरहरू

गाई–बाख«ाका गोठहरू

चिन्दैनन् मलाई

सोध्छन् उनीहरू—

‘तँ को होस् ? '

त्रिविको ‘गोल्ड मेडलिस्ट' म

आज आफ्नै घरमा

पहिलो पल्ट फेल भएको छु।

     

हिन्दी, अंग्रेजी कार्टुनका कथाहरू हेर्दै टेलिभिजनमा केटाकेटीहरू झुम्मिएको देख्दा कटक्क भएर अब उही गौनसे खालिङ भाषामा कार्टुनकथा बनाएर प्रसारण गर्ने सपना देख्दैथ्यो। त्यसैका उपज थियो— चिण्डो बुक्स र चिण्डो फेसन।

प्रिय अर्जुन,

अब साहित्यमा, हाम्रो साहित्यिक÷सांस्कृतिक आन्दोलनमा वा यो मुलुकको राजनीतिक हकदाबीमा ‘फरक आयाम'मा, ‘उन्मुक्त पुस्ता'मा वा भन्नोस् ‘कुकुर कविता आन्दोलन'मै थुप्रै अर्जुनहरू आइसकेका छन् र म समेतलाई हौस्याइरहन्छन्। हो, उनीहरू तिम्रै पदचापका योद्धाहरू हुन्, पहिचानका पक्षमा साँच्चिकै जबरजस्त छन्। पान्थरका मधु केरुङ युवा जोशले मलाई सधैं भनिरहन्छ— दाजु, तिमी हौ, छौ। हामी भाइहरूलाई बीचैमा छाडौला। विवश बेनाम त भेट्यो कि तरक्कै रुन्छ।

सेसेफुङ अर्थात् कोसी सलल उस्तै उत्तेजित छ। टंक सेलिङले वैज्ञानिकता खोज्दै हामीलाई छामिरहेको छ। ऊ न्युटन र हाम्रो आन्दोलनमा बराबर छ। चालका नियमहरू मात्रै होइनन्; हाम्रा नि नियमहरू हुन्छन् त। त्यही खोज्ने सूत्रमा पहिचानको आन्दोलन अब झनै बलियो गरी उठ्दै छ। हो, अब यो देशलाई दलालहरूबाट मुक्त गर्नै छ।

हो, दुःखहरूजति सबै आफूले साथै लग्यौ अनि मलाई चाहिँ सुख मात्रै छाडिगयौ। अहिले म दुःख फिल नै नगर्ने हिम्मतमा छु। त्यो तिमीले नै सिकायौ। यस्तो उत्प्रेरणा छाडिगयौ कि अब हामी सबै पहिचानवादीहरूले सदा सम्झिरहनेछौं। तिमी उही तिम्रै ‘गोयाङको सुगन्ध' हौ, खासमा त तिम्रा बिजमफूलहरू जो तिमीलाई ‘गौनसे' भनेर मात्रै चिन्छन्। उनीहरू अर्थात् बिजमफूलहरू खासमा हाम्रो सांस्कृतिक सभ्यताका अमिट विम्बहरू हुन्, उनीहरू तिमीलाई असीम प्रेम गर्छन्, तिनैका लागि हामी हजार दुःखले एक बाँचिरहेका छौं।

०००

यति बेला नि म गनेसको त्यही म्यासेजको वाक्य सम्झिरहेको छु, ‘दाइ, अर्जुन अब हुनुहुन्न।' अनि रविनको गीत बजिरहेकै छ, सुनिरहेको छु— ‘स्वाधीन नै बाँची मर्नेछु, ढुंगाको सिरानी लगाई।'

हो, अब कति पनि रुनुहुन्न। ढुंगाको सिरानी लाउनु भनेको कहाँ मर्नु हो र ? बरु, स्वाधीन हुनुचाहिँ हो। अर्जुन अर्थात् गौनसे, उसले त केवल ढुंगाको सिरानी मात्रै लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.