उपन्यासमा बसाइँसराइ

उपन्यासमा बसाइँसराइ

बसाइँसराइका कथा दःखदेखि दःखसम्म नै सकिन्छ भन्ने काल्पनिकी बसाइँ सर्नेहरूको सामाजिक यथार्थ हो ?


मानवका आदि पुर्खा लाखौं वर्षपहिले अफ्रिकी घाँसे मैदानबाट बाहिर निस्केर यस भूतलका विभिन्न दिशा र ठाउँतिर बसाइँ सरेका कारण नै आज यस स्वरूपको पृथ्वी र मानव समाज सम्भव भएको थियो। सभ्यताको विकास यिनै बसाइँ सरेर पुगेकाहरूले निर्माण गरेका थिए र यो क्रम आजपर्यन्त जारी छ। बसाइँसराइ संस्कृति प्रसारको प्रमुख माध्यम पनि हो।

नेपालको हालको सरहदभित्र मानव सभ्यता कति अगाडि सुरु भएको थियो भनेर निर्धारण गर्न सक्ने कुनै भरपर्दो र पर्याप्त पुरातात्विक अन्वेषण हुन सकेको छैन। भूभौगर्भिक समय गणनाअनुसार ‘मिडिल प्लेइस्टोसिन’को उतराद्र्ध अर्थात् आजभन्दा करिब एक लाख २६ हजार वर्षपहिले नै यहाँ मानव अस्तित्व रहेको अनुमान गरेका छन् पुरातŒवविद्हरूले। प्राप्त केही पुरातात्विक अवशेषका आधारमा केचाहिँ प्रस्ट देखिन्छ भने बीसौं हजार वर्षपहिले नै यहाँ मानव गतिविधि हुन थालेका थिए। तुलनात्मक रूपले पठन सहज रहेको, पछिल्लो दुई हजार वर्ष मात्रको इतिहास अध्ययनका आधारमा पनि के भन्न सकिन्छ भने वर्तमान नेपाल बसाइँसराइ गरेर आएकाहरूले नै निर्माण गरेका हुन्। कोही अलिक अगाडि यहाँ आइपुगेका होलान्, कोही अलि पछि वा कोही कुनै दिशाबाट आए होलान् त अरू कोही अर्कै दिशाबाट। तर आजको नेपाल तिनै विभिन्न कालखण्डमा बसाइँसराइ गरी आएकाले सम्भव गराएका हुन्। वर्तमान नेपालको साँध–सीमा निर्धारण भएको समय अर्थात् नेपाल एकीकरण (सन् १७६८), जसलाई गोरखा राज्यको विस्तारका रूपमा पनि बुझ्ने गरिएको छ, पछि पनि यो प्रवृत्ति निरन्तर छ।

अर्कातर्फ, आज नेपाली मूलका बासिन्दा कुनचाहिँ मुलुकमा नभेटिएलान् र ? यसरी हेर्दा पनि नेपाली बसाइँसराइको कथा एउटा आम र सामान्य मानवीय व्यवहार बनेको छ। यसका ऐतिहासिक कालक्रम पनि छन्। हो, बसाइँसराइका हिजोका स्वरूप र संरचना धेरै फेरिएका छन्। बसाइँ हिँड्नुपर्ने कारण र बसाइँका गन्तव्य फेरिएका छन्। हिजो गुमनाम यात्रा, अज्ञात गन्तव्य र अनिश्चित भविष्य आफ्नो थातथलो छाड्न बाध्यहरूको नियति थियो। आज सक्नेहरूको छनोटको विषय बनेको छ बसाइँसराइ। समानता ध्येयमा छ। बसाइँसराइ आज पनि गरिबीको दुष्चक्रबाट उम्कने एउटा प्रमुख पारिवारिक चाहनाको परिणाम नै हो यद्यपि यसका परिणाम सधैं सुनिश्चित र सुरक्षित हुँदैनन्।

बसाइँसराइको मूल कारण आर्थिक नै हो यद्यपि यसका अन्य आयामहरू पनि छन्। बसाइँसराइका राजनीतिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक आयाम पनि कम्ता रुचिकर छैनन्। हिजो पनि काठमाडौंको हुर्केको छोरा चार भञ्ज्याङ काटेर परदेश नजाउन्जेल पूर्ण वयस्क भएको मानिँदैनथ्यो। खासगरी सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धपछि, मूलतः ब्रिटिस सेनामा नेपालीलाई भर्ती खुलेपछि मुगलान भास्सिने परम्परा बढी गाढा भएर आएको देखिन्छ तर आन्तरिक बसाइँसराइको उत्तर–दक्षिण गतिविधि भने सन् १९५० पछि तीव्र भएको हो। माओवादी–सरकारबीचको सशस्त्र द्वन्द्वले पछिल्लो खेप आन्तरिक बसाइँसराइको संरचनालाई केही फरक पारेको थियो। बसाइँसराइका यी दुई मूल प्रवृत्तिले हालको नेपाल, नेपाली समाजको बनोट, अर्थराजनीतिक संरचना र सामूहिक काल्पनिकीलाई आकार दिएको हो। तत्कालीन राजनीतिक सत्ताको चरित्रलाई समेत उजागर गर्छन् बसाइँसराइका यी प्रतिनिधि प्रवृत्ति र परिणामले। एक अर्थमा, नेपाल निर्माणको इतिहास पनि हो बसाइँसराइको इतिहास। नेपाली राष्ट्रियता निर्माणको कथा पनि हो बसाइँसराइ।

यसरी हेर्दा बसाइँ सर्नुका प्रमुख कारण गरिबीबाट उन्मुक्ति मात्र थिएन, यससँग केही सामाजिक, सांस्कृतिक मूल्यमान्यता पनि गाँसिएका हुन्थे। त्यो आज झनै प्रबल बनेको छ। आजकल श्रम आप्रवासनले बसाइँसराइको संरचना र आयतनमा आमूल परिवर्तन मात्र गरिदिएको छैन, यो नेपाली समाजको रूपान्तरणको विश्लेषणका लागि अनिवार्य पक्ष बनेको छ। तर, यस्तो वैदेशिक रोजगारी भनिने अस्थायी प्रवृत्तिको बसाइँसराइका लागि जुन खर्च गर्नुपर्ने हुन्छ त्यो अति गरिबले बेहोर्न सक्दैन। तसर्थ रोजगारीको अभाव र गरिबीबाट छुट्कारा पाउन मात्र बसाइँ सरिन्छ भन्ने कुरा पूर्ण नहुन सक्छ। दुःख, हन्डर र वियोगको कथाले मात्र बसाइँसराइको कथा पूर्ण हुँदैन। तसर्थ, बसाइँसराइका कथामा बहुआयाम पर्याप्त मात्रामा ध्वनित हुन अझै सकेको छैन।

त्यसैले यो एउटा बागी प्रश्न हुन सक्छ कि के बसाइँसराइका कथा दुःखदेखि दुःखसम्म नै सकिन्छ भन्ने काल्पनिकी बसाइँ सर्नेहरूको सामाजिक यथार्थ हो ? यस्तै सुन्दर भविष्यको कल्पना गरेर बसाइँ हिँडेका तर नकारात्मक परिणाम भोग्न बाध्य मानिसहरूको कथा जनक सापकोटाले ‘नेपाली उपन्यासमा बसाइँसराइ ः दुःखदेखि दुःखसम्म’मा विमर्श गरेका छन्। विभिन्न कालखण्डमा लेखिएका २२ नेपाली उपन्यासमा आधारित यो विमर्शको सहारामा भन्न खोजिएको कुरा के हो भने यस्तो लेखन हाम्रोजस्तो मुलुकमा सामाजिक इतिहास पर्गेल्ने एउटा समाजशास्त्रीय उपाय हुन सक्छ।

इतिहास लेखनको राजकीय परम्परा नियाल्ने हो भने कतिपय सन्दर्भमा सत्यलाई लुकाउन इतिहासकारले जति मेहनत गरेका हुन्छन्, आख्यानकारले सत्य उजागर गर्न त्योभन्दा बढी मेहनत गरेका देखिन्छन्। त्यसैले त हामीलाई कहिलेकाहीँ इतिहास एकांगी तर उपन्यासहरू बढी यथार्थपरक लाग्छन्।

‘भूमिकै भूमिका’ (२०३६)को भूमिकामा जनकलाल शर्मा लेख्छन्, ‘जुनसुकै काम होस् खोजेर ल्याए त्यसको पनि इतिहास हुन्छ।’ तर, खोइ त ती आममान्छे र उनीहरूका दुःख र दुःखबाट मुक्ति खौज्दै गरेकाहरूको जुक्ति र संघर्षको कथा ? खोइ तिनको इतिहास ?

त्यसैले यहाँ इंगित गर्न खोजिएको तथ्य के हो भने हाम्रो इतिहास लेखनमा सामाजिक इतिहास लेखन परम्परा ज्यादै निम्छरो रह्यो र यो उन्नत हुन अझै पनि बाँकी छ। एकाध उदाहरणलाई छोड्ने हो भने हाम्रो सामाजिक इतिहास लेखन व्यवस्थित हुन सकेको छैन। मौखिक इतिहास, जीवन वृत्तान्त, लोकसाहित्य आदिको अध्ययन सामाजिक इतिहास बुझ्ने, लेख्ने महत्वपूर्ण स्रोत हुन् भने आख्यानहरूको सहाराबाट पनि तत्कालको सामाजिक इतिहास बुझ्न सकिन्छ। सापकोटाको उपर्युक्त पुस्तकलाई यसै सन्दर्भमा पढ्दा यसको अर्थ र महत्व उजागर हुनेछ।

सामाजिक, आर्थिक र सांस्कृतिक संस्थाहरूमा केन्द्रित इतिहासले आममानिसको दैनिक जीवन कसरी निर्देशित भइरहेको छ, त्यो काम कसरी सम्भव भइरहेको छ भन्ने वृत्तान्त दिन्छ। यो नै तत्कालको सामाजिक इतिहास हो। यसलाई विगतको खास समय र ठाउँको सामाजिक जीवन र तिनको गतिशीलता नियाल्ने समाज विज्ञानको एउटा उपाय (अप्रोच)का रूपमा बुझ्ने प्रयत्न गरिएको छ न कि इतिहासको एक सहायक शाखाका रूपमा। यस अर्थमा यहाँ सामाजिक इतिहास भन्नाले आममान्छेको प्रयोगसिद्ध इतिहास पनि हो। यो हामीले विद्यालयका पाठ्यपुस्तकहरूमा पाएजस्ता केही सम्भ्रान्त व्यक्ति वा राजा–महाराजाको जीवनीमा केन्द्रित इतिहास लेखनको शाही पद्धतिभन्दा बिलकुलै भिन्नै हुने नै भयो।

तत्काल विद्यमान परिवार, नातागोता प्रणाली, मितेरी सम्बन्ध, जन्म–मृत्यु संस्कार, विवाह परम्परा, सघाउ–पघाउ, पर्म–परेली, पालो–पैंचो, जजमानी सम्बन्ध, साहू–आसामी, तल्सिङ–मोही, अँधिया–बटैया, ऋण–बन्दगी, चाडपर्व–मेलापात, पाहुर–कोसेली, हाटबजार–सट्टापट्टा, खर्क–गोठ, काबिला, रीति–संस्कार, प्रथाजनित संस्था, दैनिक जीवनका प्रतिरोध, सामाजिक आन्दोलन, सामाजिक परिवर्तन, स्थानीय समुदाय, बसाइँसराइ आदि त्यस्ता विषय हुन् जसले तत्कालको समाजको संरचना, संस्कृति र अर्थतन्त्र बुझ्न सघाउँछन्। तिनको गतिशीलता बताउँछन्। ती पक्ष नै मुलुक र मान्छेका इतिहासका अभिन्न अवयव हुन्। सही अर्थमा जनताको इतिहास सामाजिक इतिहास लेखनमार्फत नै बुझ्न सकिन्छ अर्थात् सामाजिक इतिहास लेखन जनताको इतिहास लेखन पनि हो र सामाजिक इतिहास समाजको इतिहासे। मूलधारे राजनीतिक इतिहासले असान्र्दभिक ठानेका वा कम महत्वको भनी ठानिएका दैनिक जीवनका कतिपय वृत्तान्त पनि यस्तो सामाजिक इतिहासका महत्वपूर्ण अंग हुन सक्छन्। विचार, सिद्धान्त, अवधारणा, शोध विधिजस्ता महत्वपूर्ण अवयवहरूको आविष्कारका केन्द्र बन्न नसकेका विश्वविद्यालय र कमजोर अनुसन्धान पद्धति भएको वर्तमान समाज विज्ञानका सामु अहिले एउटा चुनौती खडा भएको छ— हिजो महत्वपूर्ण नठानिएका त्यस्ता विषय आज किन महत्वपूर्ण हुन गए भनेर स्थापित गर्नु।

केही थोरै उदाहरणलाई छाड्ने हो भने सामाजिक इतिहास लेखनको अवस्था कमजोर रहेको, विधि र पद्धतिसम्मत अध्ययन नभएको अवस्थामा साहित्य नै त्यस्तो सामाजिक यथार्थ प्रतिविम्बित गर्ने सहज माध्यम हुन पुगेको छ। साहित्य सामाजिक यथार्थको लेखन बन्न सकेन भने त्यो गतिलो साहित्य हुन सक्दैन। कुनै साहित्य गतिलो छ भने त्यो सामाजिक यथार्थको लेखन नै हो। लेखक इन्द्रबहादुर राईले भनेकै छन्, ‘वास्तविकताभन्दा ठूलो साहित्य छैन।’ त्यति बेलाका आममान्छेको सामाजिक पहिचान निर्माण गर्ने काम यस्तै साहित्यले गर्ने हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.