सिक्लेसमा शान्ति स्तम्भ : शान्ति प्रक्रियाकाे चिनो
सिक्लेस : १० वर्षे भूमिगत सशस्त्र संघर्षबाट खुला राजनीतिमा आउँदा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कास्कीबाट काठमाडौं गएका थिए । कास्कीको त्यो ठाउँ सिक्लेस गाउँ हो ।
युद्धबाट शान्ति प्रक्रियामा आउँदा पहिलोपटक विद्रोही नेता सार्वजनिक भएको त्यही गाउँमा अहिले शान्ति स्तम्भ तयार भएको छ । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङका अनुसार शान्ति प्रक्रियाको चिनो स्वरुप गाउँपालिकाले १० लाख रुपैयाँ खर्चेर स्तम्भ बनाएको हो । प्रदेश सांसद मनबहादुर गुरुङका अनुसार शान्ति प्रक्रियाको सुरुआती बिन्दुको चिनो राख्ने उपाय स्वरुप शान्ति स्तम्भ निर्माणबारे दाहालसँग पनि सल्लाह भएको छ ।
मूर्तिकार नारद हार्तम्छाली कलाङले एउटा ठूलो ढुंगालाई मूर्तिमा ढालेका हुन् । मूर्तिमा ३ पाटा छन् । टाढाबाट झट्ट हेर्दा कुनै तपस्वी शान्तपूर्वक तपस्या गरिरहेको झल्को त्यो स्तम्भले दिन्छ । नजिकै जाँदा दुई हात मिलाएको देखिन्छ । परेवाको आकृति त झन् प्रष्ट छ ।
स्तम्भका ३ पाटा शान्ति प्रक्रिया सुरु हुँदाका यथास्थितिवादी, संक्रमणकालीन र क्रान्तिकारी शक्तिको बिम्व भएको मूर्तिकार कलाङले सुनाए । उनले भने, ‘३ पाटाले भूत, वर्तमान र भविष्य पनि बताउँछन् ।’ स्तम्भ ६ कोणको जगमा उभ्याइएको छ ।
पूर्वीय दर्शनअनुसार उत्तर, दक्षिण, पूर्व, पश्चिम र तल, माथि गरी कुनै पनि चिजलाई हेर्नुपर्नै मान्यता रहेको उनले सुनाए । स्तम्भको टाकुरामा दियो बाल्ने र तीन रङ पहेंलो, रातो र नीलो प्रकाश प्रज्ज्वल हुने जानकारी मूर्तिकार कलाङले बताए । ‘ती प्रकाशले रगत, आँशु र क्रान्तिको बिम्व बोल्छन्,’ उनले भने । मूर्तिकलाका स्नातक र समाजशास्त्रका स्नातकोत्तर कलाङले नै तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरमा राखिएको जनयुद्धका सहिद र वेपत्ता स्मृति स्तम्भ बनाएका हुन् ।
महिना दिन लामो अनुसन्धानपछि सिक्लेसको शान्ति स्तम्भको स्वरुप उतारेको र त्यसलाई ढुंगामा उतार्न ३ महिनाभन्दा बढी लागेको जानकारी पनि उनले दिए । घामपानीले हतपती खियाउन नसक्ने ढुंगा खोज्नै पनि १ महिना लागेको निर्माण समितिका अध्यक्ष दानबहादुर गुरुङले सुनाए ।
२०६३ सालको असार २ गते भूमिगत राजनीतिक जीवन अन्त्य गरेका दाहाललाई सिक्लेसबाट हेलिकोप्टरमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले बालुवाटार पु¥याएका थिए । स्थानीय भद्रसिंह गुरुङ दाहाल र बाबुराम भट्टराईले सिक्लेसमा १ साता बिताएको सुनाउँछन् । उनकै भनाइमा शान्ति प्रक्रियामा आएयता दाहाल र भट्टराई सिक्लेस फर्किएका छैनन् । तर ऊ बेला प्रचण्डले सिक्लेसलाई स्विट्जरल्यान्ड बनाउँछु भनेको भद्रसिंह सम्झन्छन् । ‘अब आयो भने खै त स्विट्जरल्यान्ड भन्छु’, उनले भने ।
माओवादी भन्नेबित्तिकै गाउँले डराउने समयमा आफूले दाहाल र भट्टराईको स्वागत र सम्मान गरेको पनि उनले सुनाए । उनकै भनाइअनुसार दाहाल र भट्टराई सिक्लेस बसिन्जेल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कार्यालयमा बसेका थिए । एक्यापका कर्मचारीलाई विस्थापित माओवादीले गरेका थिए । शान्ति स्तम्भ निर्माण समितिका सचिव धनबहादुर गुरुङका अनुसार आउँदो २४ गते स्तम्भ उद्घाटन् गर्ने कार्यक्रम छ ।