अनियमितताले थलियो बीपी प्रतिष्ठान
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लथालिंग बन्दै गएको छ। बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्। व्यवस्थापनमा दलगत र व्यक्तिगत किचलो छ। ठूलो रकम भ्रष्टाचार भएको छ। आइतबार बोलाइएको संचालक परिषद् (सिनेट) बैठक तेस्रो पटक स्थगित भएको छ। यससँगै प्रतिष्ठान सञ्चालनमै समस्या उत्पन्न भएको छ।
प्रतिष्ठानका शिक्षाध्यक्ष गुरु खनालले सिनेट बैठक स्थगित भएको जानकारी दिए। ‘सिनेट बैठक नियमित नहुँदा प्रतिष्ठान सञ्चालनमा नै गम्भीर समस्या उत्पन्न भएको छ’, उनले भने। सिनेट बैठक बस्न नसक्नुमा प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार जिम्मेवार रहेको बताइन्छ। यस्तो बैठक वर्षमा दुई पटक अनिवार्य बस्नुपर्छ।
रौनियारलाई तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपकुलपति नियुक्त गरेका थिए। उनकै कमजोर नेतृत्वका कारण प्रतिष्ठान लथालिंग भएको आरोप अन्य पदाधिकारी लगाउँछन्। रौनियारले प्रतिष्ठान चलाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले दुई पटकसम्म छानबिन समति गठन गरेका थिए।
पहिलो पटक प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी र दोस्रो पटक स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा अनियमितता छानिबिन गर्न टोली बनाइएको थियो। दुवै टोलीले प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाइसकेको छ। तर ओलीले पनि प्रतिवेदनको आधारमा भ्रष्टाचार गर्ने पदाधिकारीलाई कारवाही गर्न सकेका छैनन्। यसबाट प्रतिष्ठानको अवस्था झनै खस्केको छानबिन टोलीका एक सदस्य बताउँछन्।
प्रतिष्ठानमा यसअघि पनि ५० करोडभन्दा बढी रकम भ्रष्टाचार भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो। आयोगको आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयले केन्द्रीय कार्यालयमा कार्वाहीको सिफारिस समेत गरेको थियो। तर अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की तथा दीप बस्नेतले कारवाही गर्न मानेनन्। यो भ्रष्टाचारको फाइल अख्तियार केन्द्रीय कार्यालयमै थन्किएको छ।
सिनेट बैठक तेस्रो पटक स्थगित भएपछि प्रतिष्ठान सञ्चालनमै समस्या उत्पन्न भएको छ।
बीपी प्रतिष्ठानमा दैनिक दुईदेखि तीन हजार बिरामी उपचारका लागि आउँछन्। तर बिरामीले अपेक्षा गरेजस्तो सेवा पाउन सकेका छैनन्। व्यवस्थापनको लापरवाहीका कारण यस्तो अवस्था आएको पिण्डेश्वर क्याम्पस धरानका प्राध्यापक भीम खतिवडाको भनाइ छ। ‘आर्थिक अनियमिततामा संलग्न पदाधिकारीलाई कार्वाही नभएसम्म प्रतिष्ठानको विकास सम्भव देखिँदैन’, उनी भन्छन्।
प्रतिष्ठानका मेडिकल उपकरण बिग्रेका छन्। एमआरआई, भिडियो एक्सरे, एक्सरे मेसिन काम नलाग्ने अवस्थामा छन्। डाइलेसिस मेसिन अभाव छ। रक्तपरीक्षण हुँदैन। आईसीयू, सीसीयू र बेड अभाव छ। प्रतिष्ठानमा आउने बिरामी निजी अस्पताल जान बाध्य छन्। धरान १५ का गोविन्द बस्नेतले प्रतिष्ठानमा भर्ना भएकी आफ्नी आमाको ज्यान आईसीयू बेड अभावका कारण गुमाउनु परेको दुखेसो गरे। प्रतिष्ठानलाई सरकारले बर्सेनि करौडौँ रकम अनुदान दिने गरेको छ। तर व्यवस्थापनका कारण बिरामीले राम्रो उपचार पाएका छैनन्।
पदाधिकारीबीचमै विवाद
उपकुलपति राजकुमार रौनियार, निर्देशक गौरीशंकर साह, शिक्षाध्यक्ष गुरु खनाल र रजिस्टार तुलबहादुर श्रेष्ठबीच विवाद छ। रौनियार र साहलाई कांग्रेसले नियुक्त गरेको हो भने खनाल र श्रेष्ठलाई नेकपाले। दलीय टक्करका कारण उनीहरुबीच कुनैपनि निर्णयमा एकमत देखिएको छैन। यसले प्रतिष्ठानको दैनिक कामकाजमै असर पुगेको छ। हाडजोर्नी विभागका प्रमुख डा. पशुपति खतिवडाले प्रतिष्ठानको व्यवस्थापन अत्यन्तै कमजोर रहेको बताए। ‘प्रतिष्ठानको जग बनाउने पदाधिकारी नै कमजोर छन्’, उनले भने, ‘अवस्था दयनीय छ। धेरै निकाय तथा विभाग निष्कृय छन्।’
शिक्षाध्यक्ष गुरु खनाल प्रतिष्ठानको हितविपरीत काम गर्नेलाई सरकारले कार्वाही गर्नुपर्ने बताउँछन्। उपकुलपति रौनियार चाहिँ आफूलाई शिक्षाध्यक्ष खनाल र रजिस्टार श्रेष्ठले काम गर्न नदिएको आरोप लगाउँछन्। श्रेष्ठको समूहले सिनेट बैठकबाट बहुमतद्वारा रौनियारलाई हटाउन तयारी गरेको आशंकाका कारण उपकुलपतिले सिनेट बैठक नबोलाएको बताइन्छ।