मनाङको बलियो अग्रता
काठमाडौं : मनाङ मस्र्याङ्दी क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अग्रतालाई थप बलियो बनाएको छ। पाँचौं चरणको खेलअन्तर्गत मनाङले शनिबार सरस्वती युथ क्लबलाई २–० गोलले हरायो। मनाङ जारी लिगमा शतप्रतिशत जित हात पार्ने पहिलो टोलीसमेत बनेको छ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा मनाङ पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा शानदार प्रदर्शन गरेको मनाङका लागि अञ्जन विष्ट र अफ्रिकी खेलाडी ओलावाले अफिजले गोल गरेका थिए। अञ्जनले ५५औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए। अञ्जनको सशक्त प्रहारलाई सरस्वतीका गोलरक्षकले नियाल्नसमेत सकेनन्। त्यसपछि ओलावालेले ६८औं मिनेटमा गोल गर्दै मनाङको अग्रता दोब्बर बनाएका थिए।
पहिलो हाफमा मनाङलाई रोक्न सफल भएको सरस्वती दोस्रो हाफमा भने निरीह बन्यो। मनाङका कमल श्रेष्ठ म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पाए। जितसँगै पाँच खेलबाट १५ अंक बनाएको मनाङ शीर्ष स्थानमा छ। मनाङ दोस्रो स्थानमा रहेको थ्रीस्टार क्लबभन्दा तीन अंकले अगाडि छ। थ्रीस्टार यसअघि मनाङसँग पराजित भएको थियो। सरस्वतीले समान खेलबाट ६ अंक बनाएको छ।
संकटा तेस्रो स्थानमा
हल्चोक मैदानमै भएको अर्को खेलमा संकटाले च्यासल युथ क्लबलाई २–१ गोलले हरायो। जितसँगै संकटा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। प्रतिस्पर्धात्मक खेलमा संकटाको जितमा अमित तामाङले २३औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। बल बचाउने क्रममा च्यासलका छिरिङ गुरुङले डीबक्सभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई अमितले सदुपयोग गरेका थिए। त्यसपछि ४८औं मिनेटमा एलोन म्याक्सवेलले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।
संकटाको दुई गोलपछि आक्रामक देखिएको च्यासलले दोस्रो हाफको अन्तिममा पेनाल्टीमार्फत एक गोल फर्काएको थियो। ८७औं मिनेटमा पाएको पेनाल्टीमा अनुभवी खेलाडी सन्तोष साहुखलले गोल गरेका थिए। संकटाका रक्षक सरोज दाहालले सन्तोष साहुखललाई डीबक्सभित्र फल हानेपछि च्यासलले पेनाल्टीको मौका पाएको थियो।
खेलको अन्तिमतिर सान्त्वना गोल फर्काए पनि च्यासलले हार टार्न सकेन। संकटाका नितिन थापा म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। जितसँगै संकटाले पाँच खेलबाट १२ अंक बनाएको छ। च्यासलको समान खेलबाट चार अंक छ।