डडेलधुरामा सुरक्षित गर्भपतन गराउने बढे
डडेल्धुरा : जिल्लाका १२ वटा स्वास्थ चौकीले निशुल्क र गोप्यरुपले सुरक्षित गर्भपतनसम्बन्धी सेवा दिन थालेपछि सेवा लिनेको संख्यामा वृद्धि भएको छ।जिल्लाका विभिन्न स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकले सो कुरा देखाएको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत शंकरदत्त भट्टले जानकारी दिए।
आर्थिक वर्ष ०७३ देखि ०७४ सम्ममा जम्मा ४ सय २१ जनाले मात्र सेवा लिएका थिए भने आर्थिक वर्ष ०७४ देखि ०७५मा सेवा लिनेको संख्या ६ सय ४९ रहेको तथ्यांक अधिकृत भट्टले जानकारी दिए।
पछिल्लो समयमा स्थानीय तहले पनि यसमा एैक्यवद्धता जनाएका छन्। आफ्नो गाउँपालिकालाई नमुना बनाउनका लागि र सुरक्षित गर्भपतनसम्बन्धी जनचेता फैलाउने उद्देश्यले स्थानीय निकायले समेत ठाउँठाउँमा होडिङ बोर्ड र दूर दराजका बस्तीहरुमा सडक नाटकमार्फत जनचेतना समेत फैलाउँदै आएका छन्।
हेय र लान्छानाको डरले असुरक्षित गर्भपतनले गर्दा महिलाको ज्यानै जाने गरेको र कतिपयले पाठेघरको क्यान्सर भएर पाठेघर नै फाल्नु पर्ने समस्या आएको छ। तर अहिले सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएपछि असुरक्षितति जानेहरुको संख्यामा निकै कमी आएको असिग्राम स्वास्थ्य चौकीका सिनियर अनमी बसन्ती कार्कीले बताइन्।
अझैं पनि गर्भपतनलाई नकारात्मकरुपमा लिने र गर्भपतन गर्ने महिलालाई पनि नराम्रो चरित्रका रुपमा लिने गरिन्छ जसले गर्दा नचाहिएको गर्भ फाल्न पनि भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता रहिआएको छ।
अहिले स्थानीय तहले पनि यसमा बजेट छुट्याएर विभिन्न कार्यक्रम गर्दै आएका छन्। भागेश्वर गाउँपालिकाले यसै वर्षमा विद्यालयमा किशोर किशोरीलाई लक्षित गरी २० हजार छुट्याएर सुरक्षित गर्भपतनसम्बन्धी हेय भाव लान्छना न्यूनिकरण सम्बन्धी १० वटा विद्यालयमा कक्षा सञ्चालन गरेको छ।
भागेश्वरका मावि र आधारभुत कक्षामा अध्ययन गर्ने छात्राछात्रलाई विद्यालयमै गएर सचेतिकरण गरिएको भागेश्वर गाउँपालिका का अध्यक्ष कौशिला भट्टले जानकारी दिइन्। साथै तीनवटै स्वास्थ्य संस्थाअन्तरगत तीनवटा होडिङ्ग बोर्ड राख्ने र ग्रामिण भेगमा एउटा जनचेतनामुलक सडक नाटक गर्ने निर्णय समेत गरेको अध्यक्ष भट्टले बताइन्।
यसैगरी गन्यपधुरा गाउँपालिका- २ ले पनि दुईवटा सडक नाटक र दुईवटा होडिंबार्ड राखेको छ। यसैगरी अमरगडी नगरपालिका पनि एउटै उपक्षेत्रीयबाट मात्र सुरक्षित गर्भपतन सेवा पाइने भएकाले नगरपालिकामा पनि एउटा स्वास्थ्य संस्था सूचिकृत गराउनका लागि नगरपालिकाले पहल चालेको छ।
यस्ता किसिमका जनचेतनामुलक कार्यक्रमले गर्दा जिल्लामा महिला सुरक्षिततिर आएका छन्। गत वर्षको भन्दा यो वर्ष सुरक्षित गर्भपतन सेवामा पहुँच बढेको छ र परिवार नियोजन सेवा लिनेको संख्यामा वृद्धि भएको छ।