आफ्ना नै अपहरणकारी, कहाँ चुक्छन् अभिभावक?
काठमाडौं : गोंगबुस्थित आफ्नै गेस्ट हाउसबाट आठ वर्षे छोरो बेपत्ता भएपछि प्रवीण कुँवर बेस्सरी अत्ताल्लिए। त्यसपछि उनले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज गएर रिपोर्ट गरे। कुँवर परिवारसँग नजिक भएकाहरूबाट प्रहरीले अनुसन्धान थाल्यो।
आमा-बाबु अस्पताल गएको मौकामा खेलिरहेका प्रयास कुँवर बेपत्ता भएका थिए। पछि उनी मित्रनगरमै मृत भेटिए। प्रहरीको उनकै गेस्ट हाउसमा काम गर्ने चालकले प्रयासको हत्या गरेको खुलासा गर्यो। स्याङ्जाका २२ वर्षीय महेन्द्र एसकेले प्रहरी समक्ष बालकलार्इ अपरहण पछि हत्या गरेको स्वीकार गरिसकेका छन्। बालक प्रयासलार्इ मंगलबार साँझ हाउसबाट नागार्जुन जंगलमा लगेर घाँटी र नाकमुख थिचि हत्या गरेको एसकेले प्रहरी समक्ष बयान दिएका हुन्।
एक महिनाअघि मात्रै १४ हजार रुपैयाँ तलबमा गेस्ट हाउसका पाहुना ओसार्ने स्कोर्पियो चलाउने जिम्मा पाएका उनले काममा लापरबाही गरेको भन्दै मालिक प्रवीण कुँवरले पटकपटक निकालिदिने भनेका थिए। गेस्ट हाउसको गाडीले अरु होटलका पनि मान्छे लुकीलुकी बोक्न थालेपछि रिसाएका गेस्ट हाउस मालिकले हप्काएदेखि नै एसकेले बदला लिने योजना बनाएको खुलेको छ।
त्यस्तै गत साउन २० गते साँझ भक्तपुरको काँडाघारीबाट ११ वर्षका एक बालक गायब भए। गायब भएका निशान खड्का भोलिपल्ट मृत भेटिए। बालकको शव भक्तपुरको ठिमीस्थित एक घरमा फेला परेको थियो। शव भेटिएको केही बेरमै प्रहरी मुठभेडपरी दुईजना अपहरणकारी भनिने २२ वर्षका गोपाल तामाङ र २३ वर्षका अजय तामाङ मारिए।
अपहरणकारी भनिने अजय तामाङ र गोपाल तामाङ निशानकी आमा चमेली खड्का संञ्चालन गरेको खाजा पसलका नियमित ग्राहक थिए। विगत तीन वर्षदेखि निशानको परिवारसँग उनीहरुको उधारो र कहिले काहीँ पैसा सापट्टी चल्ने गर्थ्यो।
२०७४ साल साउनमा असन बस्ने ५ वर्षका बालक विशाल चौधरी स्कुलबाटै अपरहणमा परे। पकनाजोलबाट अपहरणमा परेका बालकलाई महानगरीय अपराध महाशाखाले ५ दिनपछि काँडाघारीबाट उद्धार गरेको थियो। पछि सीसीटीभी फुटेजका आधारमा प्रहरीले थालेको अनुसन्धानबाट बालकका बुबाका साथीको संलग्नता देखियो। राजु विकले साथीको छोरालार्इ नै अपहरण गरेर ५० लाख रुपैयाँ फरौती माग गरेको थिए।
कहाँ चुक्छन् अभिभावक?
आफ्ना मान्छेबाट सजिलै बालबालिका अपरहण पर्नुमा आमा-बुवाको पनि दोष रहेको प्रहरीको निष्कर्ष छ। महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरज प्रताव सिंह आमा-बुवाले नै अपरहणको आँकलन गर्नुपर्ने बताउँछन्।
'काठमाडौंमा मात्र होइन आफ्नै मान्छेबाट बालबालिका अपरहण पर्ने क्रम बढेको छ', एसएसपी सिंह भन्छन्, 'यसमा प्रहरीले आफ्नो काम गरेको त छ सँगै अभिभावकले पनि यसबारे सचेत हुन जरुरी देखिन्छ।' उनका अनुसार आफूले कस्ता मानिसलार्इ आफ्नो परिवार नजिक ल्याइरहेको छु भन्ने कुरा अभिभावकले ध्यान पुर्याउन जरुरी छ।
अभिभावको लापरबाहीले पनि बालबालिका अपरहणकारी फन्दामा सजिलै फसिरहेको एसएसपी सिंह बताउँछन्। उनका अनुसार अभिभावकले मान्छेको स्वभाव चिनेर कसलार्इ आफ्ना बालबालिको नजिक ल्याउने कसलार्इ नल्याउने भन्नेकुरा ध्यानमा राख्नुपर्छ।
'अभिभावकले नजिक आफ्ना बालबालिकासँग नजिकिएको व्यवहार कस्तो छ भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ' सिंह भन्छन्, 'कुनै मान्छे एकहोरो छ वा पहिलेभन्दा केही परिवर्तन भएको छ भने त्यस्तो मान्छेलार्इ आफ्ना बालबालिकाबाट टाढा राख्नुपर्छ।'
उनका अनुसार निशानकी आमाले उनलार्इ त्यतिकै नछोडिदिएको भए अपरहण गर्न त्यति सजिलो थिएन। अर्कोतर्फ प्रयासका आमा-बुवाले कुनै भरपर्दो मानिसको जिम्ममा उनलार्इ छोडेको भए ज्यान जोगिने थियो।