अनि केको छुवाछूत ?
बर्दिबास : महोत्तरीको बर्दिबासका २८ वर्षीय मनोज घिमिरे र २१ वर्षीय मुकेश डोम फरक–फरक समुदायका युवा हुन् । डोमले छोएको पानी हतपत पिउँदैन बाहुन समुदाय, छोएको खाँदैन । तर, मनोज र मुकेश सँगै काम गर्छन्, सँगै खान्छन् । यति मात्र होइन, उनीहरूबीच गज्जब ‘दोस्ती’ छ ।
उनीहरू बर्दिबास चोकको फोहोर सफा गर्छन् । उनीहरूको दैनिकी चोकमा सँगै बसेर चिया खाएपछि सुरु हुन्छ । उनीहरू अघिल्लो दिन बजारमा भएको फोहोर झाडुले बढारेर दिनचर्या सुरु गर्छन् । ‘एकछिन आउन ढिलो भए हामी एकअर्कालाई फोन गरेर सोधीखोजी गर्छौं’, मुकेशले भने ।
उनीहरूले डेढ वर्षदेखि मासिक १२÷१२ हजार तलब पाउँछन् । उनीहरूको काम र ज्याला उस्तै छ । ‘बाहुन र डोम दुवै जना मिलेर देशको सेवा गरिरहेका छौं’, मनोजले भने, ‘त्यसमा केको छुवाछूत हजुर ? ’
सरसफाइ गर्दै भेटिएका मनोजले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झिए । भने, ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन । मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’ खाना र खाजा पनि उनीहरू एकै ठाउँ बसेर खान्छन् । एउटै बोतलको पानी पिउँछन् । ‘छुवाछूत उहिले पो गरिन्थ्यो । अब त युग बदलियो’, मनोजले भने, ‘सबैको रगत रातो नै हुन्छ । अनि केको छुवाछूत ।’
मनोजले गत कात्तिक १५ गते घरमा पूजा लगाएका थिए । त्यसमा मुकेशलाई निमन्त्रणा गरेर भोज खुवाए । दुवै जनाले पूजापाठ, भोजभतेरमा एकअर्कालाई पाहुनाका रूपमा निमन्त्रणा गर्छन्।
दलित सञ्जाल प्रदेश २ का सहसचिव सन्त परियारले संघीय लोकतान्त्रिक गणतन्त्रमा दलितलाई पशुभन्दा तलको व्यवहार भइरहेको गुनासो गरे । विभेद कायम रहेको उनले सुनाए । ‘दलितले अधिकार त पाए तर कार्यान्वयन भएको छैन’, उनले भने ।
छुवाछूत तथा जातीय भेदभाव गर्नेलाई दण्ड, सजायको व्यवस्था छ । तर, छुवाछूत कायमै रहेको देउराली मावि बर्दिबासका प्राचार्य केदारबहादुर कोइरालाको भनाइ छ । तर, युवा पुस्ताले विभेदको पर्खाल भत्काइरहेको उनले सुनाए ।