उत्तर कोरियाली नेता किमलाई ट्रम्पको नयाँ सन्देश
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोयिाली नेता किम जोङ उनलाई मन पराउने र उनका ईच्छा पनि पूरा गर्न तयार रहेको बताएका छन् । दक्षिण कोरियाली राष्ट्रपति मून जाइ ईनमार्फत ट्रम्पले यस्तो सन्देश पठाएका हुन् ।
दक्षिण कोरियाली नेता मूनले अर्जेन्टिनाको ब्युनस एरिसमा जी–२० सम्मेलनको क्रममा ट्रम्पसँग भेटवार्ता भएको भोलिपल्ट यस्तो कुरा सार्वजनिक गरेका हुन् । मूनले उत्तर कोरियाली नेता किमलाई छिट्टै दक्षिण कोरियाको राजधानी सोलमा छिट्टै भेटवार्ता गर्ने सन्दर्भमा ट्रम्पले यस्तो सन्देश पठाएको बुझिएको छ ।
‘बाँकी रहेका सम्झौता लागु गर्न आफू तयार रहेको कुरा किमलाई सुनाइदिन ट्रम्पले मलाई भनेका छन्,’ दक्षिण कोरियाली राष्ट्रपति मूनले भने, ‘साथै किमको ईच्छा पनि उनले पूरा गर्ने छन् ।’
गत जुनमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई सिंगापुरमा भेटवार्ता गरेका थिए । अब आगामी जनवरी वा फेब्रुअरीमा दोस्रो पटक भेट्न चाहेको बुझिएको छ ।
‘हामी राम्ररी नजिक भयौँ । हामीसँग राम्रो मित्रता छ,’ ट्रम्पले जी–२० सम्मेलनबाट फर्कँदै गर्दा पत्रकारहरुसँग बताए । साथै उनले किमलाई अमेरिकामा बोलाउने पनि बताएका छन् ।
सैन्य कारवाही गर्ने चेतावनी तथा धम्कीको जुहारी चलेको केही महिनापछि नै ट्रम्प र किमबीच गत जुनमा आमने सामने भएर वार्ता सम्भव भएको हो । साथै न्युक्लियर बम प्रयोग कम गर्नेबारे दुई नेताबीच लचिलो सहमति पनि भएको हो ।