जुम्लाका स्थानीय तहलाई विपद् सामग्री
जुम्ला : जिल्लाका चारवटा स्थानीय तहलाई १८ लाख बढीको विपद् व्यवस्थापन सामग्री सहयोग गरिएको छ। जुनसुकै प्राकृतिक प्रकोपपछि विपदको समयमा आइपर्ने संभावित जोखिम व्यवस्थापन गर्न स्थानीय तहको मागकै आधारमा सामग्री सहयोग गरिएको हो।
वितरण गरिएका सामाग्रीमध्ये खोज तथा उद्धार किटबक्समा २३ प्रकारका ९१ सामग्री छन्। त्यस्तै प्रकोप तथा विपद्को सूचना तथा जानकारी लिन ४३ इन्चको स्मार्ट टिभी, डाटा राख्न कम्प्युटर, टेवल र कुर्सी, पावर ब्याकप, मल्टिमिडिया, स्टील दराज, क्यामरालगायतका अन्य सामग्री पनि स्थानीयतहलाई हस्तान्तरण गरिएको हो।
नेपाल विपद् पूर्व तयारी परियोजनाअन्तर्गत किर्डाक नेपालले जिल्लाको चन्दननाथ नगरपालिकासहित तातोपानी, पातारासी र तिला गाउँपालिकालाई क्रमश सामग्री वितरण गरेको हो।
चारवटै तहले विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार राहत कोष समेत गठन गरेका छन्। प्रति राहत कोषमा एक लाख ५३ हजार रकम सहयोगस्वरुप जम्मा गरिएको परियोजना अधिकृत कमलबहादुर छत्यालले बताए।
तातोपानी गाउँपालिकालाई चार लाख ७६ हजार दुई सय ६१, तिलामा पाँच लाख आठ हजार ९३, पातारासीमा चार लाख ८१ हजार चार सय २५ र चन्दननाथ नगरपालिकालाई तीन लाख २४ हजार ६ सय १६ रुपैयाँ गरी जम्मा १८ लाख २९ हजार तीन सय ९५ रुपैयाँको सामग्री सहयोग गरिएको हो।
सामग्री हस्तान्त्रण गर्दै परियोजना प्रमुख दिपराज रावतले भने, 'प्रकोप कहिले कसरी आउँछ भन्न सकिँदैन, तर विपद् पूर्व तयारी अवस्थामा रहनु बुद्धिमानी उपाय हो।' उनले थपे, 'अन्य प्रकोप त छँदै छन्, अबको भूकम्पको जोखिम पनि कर्णालीमा बढी छ, त्यसैले विपद् जोखिम व्यवस्थापन गर्न हामीले अहिलेदेखि पहल सुरु गरेका छौं।'
सामाग्रीको उचित प्रयोग गर्छौं
स्थानीय तहले विपद् व्यवस्थापन सामग्री पाएपछि त्यसको उचित प्रयोग गर्ने बताएका छन्। चारवटै स्थानीय तहमा विपद् व्यवस्थापन शाखा स्थापना गरिएको छ। शाखाको मातहतमा रहने गरी सम्पर्क व्यक्तिको रुपमा एकजना कर्मचारीले सामाग्रीको रेखदेख तथा उचित परिचालन गर्नेछन्।
तहको विकासमा हातेमालो गरी अप्ठ्यारोमा पनि संस्थाबाट सहयोगको अपेक्षा गर्दै सामाग्रीले पालिकालाई राहत पुगेको पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए। 'पालिकाले पाएका सामाग्रीको उद्देश्यअनुसार उचित प्रयोग हुन्छ, उनले भने।'
चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले विपद् व्यवस्थापनका सामग्रीप्रयोग गर्न नसके दिएको पनि अर्थ नहुने बताइन्। 'हामीसँग पनि पहिलेदेखि केही सामग्री थिए, विपद्का घटना भैरहेका छन्, तर त्यसको प्रयोग हुन सकेको छैन' उनले भनिन्, 'विपद् व्यवस्थापनका प्राविधिक कुरामा पनि अब छलफल गरेर सँगै अघि बढ्नुपर्छ, सामाग्रीसँगै त्यसको परिचालन गर्ने व्यक्तिको सीप तथा क्षमता विकासमा जोड दिन आवाश्यक छ।'
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले भने, 'अब हामीसँग उद्धारका सामग्री छन्, तर पालिका क्षेत्रमा हुने विपद्का घटनाबारे समयमै सूचना आउनुपर्यो, होइन भने कोठामा उद्धारका सामग्री थन्किने, घटनामा मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था नआओस्।'
तातोपानी गाउँपालिका उपाअध्यक्ष गंगादेवी उपाध्यायले प्रकोप न्यूनिकरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा पालिकाको खासै ध्यान जान नसकेको बताइन्।यस विषयमा पालिकाले गम्भीर भएर छलफल गर्नुका साथै आगामी आर्थिक वर्षदेखि बजेटको समेत व्यवस्था गर्ने उनले बताइन्।