पेट्रोल डिजेल दुई रुपैयाँ सस्तियो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले सोमबारमध्य रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। पछिल्लोपटक निगमले असोज १ गते मूल्य समायोजन गरेको थियो।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार समायोजन पश्चात प्रतिलिटर पेट्रोल एक सय १२ रुपैयाँ, डिजेल र मट्टीतेललाई ९९ रुपैयाँ उपभोक्ता मूल्य कायम गरिएको छ। मूल्य समायोजनपछि पेट्रोलतर्फ ११ रुपैयाँ ४४ पैसा, डिजेलतर्फ पाँच रुपैयाँ ८१ पैसा नाफा हुने भएको छ। खाना पकाउने ग्यासतर्फ प्रतिसिलिन्डर दुई सय ८४ रुपैयाँ ८३ पैसा घाटा छ। यसअघि पेट्रोल एक सय १४ तथा डिजेल र मट्टीतेल प्रतिलिटर एक सय १ रुपैयाँमा बिक्री भइरहेको थियो।
मूल्य समायोजनपछि निगमले १५ दिनमा ५६ करोड ५८ लाख रुपैयाँ बराबरको नाफा गर्ने जनाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट डिसेम्बर १ तारिखमा इन्धनको मूल्य घटेर आएको आधारमा मूल्य समायोजन गरिएको हो। पछिल्लो समयमा मूल्य समायोजन नहुँदा निगमको घाटा चुलिएको थियो।
अन्तर्राष्ट्रिय मूल्यका आधारमा समायोजन नहुँदा गत साउनदेखि घाटा व्यहोरेको निगमलाई डलरको भाउ बढ्दा पछिल्लो समय भदौअन्तिम सातादेखि कात्तिकसम्ममा थप आर्थिक भार थपिएको थियो। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा निगमले तीन अर्ब ८४ करोड घाटा व्यहोरेको छ। साउनदेखि मंसिरसम्म निगमले तीन अर्ब ८२ करोड रुपैयाँ घाटा व्यहोरेको थियो।
स्वचालित मूल्य प्रणाली (अटो प्राइस) अनुसार इन्धनको मूल्य समायोजन नगर्दा निगमको ‘वर्किङ क्यापिटल’ समेत धरापमा परेको थियो। चाडवाडको समयमा उपभोक्तालाई महँगीको मार नथप्न भन्दै उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले मूल्य नबढाउन निर्देशन दिएको थियो।
निगमका प्रवक्ता गोइतका अनुसार आईओसीले प्रत्येक महिनाको ८ र २३ तारिख भुक्तान मिति तय गरेको छ। तर, घाटाका कारण निधारित मितिमा भुक्तानी दिन निगम असमर्थ भएको थियो। निगमले प्रत्येक १५ दिनमा आईओसीलाई करिब आठ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ।