आठौं राष्ट्रिय खेलकुद : पदाधिकारी नै खेलाडी छान्दै

आठौं राष्ट्रिय खेलकुद : पदाधिकारी नै खेलाडी छान्दै

विराटनगर : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङमा अनौठो तरिकाले खेलाडी छनोट गर्ने काम भइरहेको छ । प्रशिक्षकको अनुपस्थितिमै आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट भइरहेको हो । प्रशिक्षक नभएपछि खेलकुदका विभिन्न संघमा आबद्ध पदाधिकारीहरू नै अहिले खेलाडी छनोटमा व्यस्त छन् । जिल्लामा २२ वटा खेलका खेलाडी छनोट गर्ने प्रक्रिया चलिरहेको छ ।

यसअघि १६ वटा खेलका खेलाडी छनोट गर्ने भनिए पनि शनिबार थप ६ खेलका खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्देशन दिएको जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किशोरलाल अमात्यले जानकारी दिए । अमात्यका अनुसार यसअघि राखेपले १६ खेलका मात्रै खेलाडी छनोट गर्न भनेर पत्र पठाएको थियो । ‘धेरैजसो खेलका खेलाडी प्रशिक्षक बिना नै छनोट गर्ने काम भइरहेको छ,’ समितिका एक सदस्यले अन्नपूर्णसँग भने, ‘यसपटक राष्ट्रिय प्रतियोगितामा पठाउने खेलाडी छनोट गरिएको देखेर आश्चर्यमा परिएको छ ।’

प्रशिक्षकको अनुपस्थितिमा छनोट गरेर पठाइएका खेलाडीबाट राम्रो प्रदर्शनको आशा गर्न सक्ने अवस्था नरहेको पनि उनले बताए । ‘छनोटमा प्रशिक्षक नै छैनन्,’ ती सदस्यले भने, ‘एकातिर प्रशिक्षक बिना नै खेलाडी छनोट गरिएको छ भने अर्कोतिर छनोट भएका खेलाडीलाई कसले प्रशिक्षण दिने भन्ने अन्योल पनि कायमै छ ।’ उनका अनुसार बेलाबखत आयोजना गरिने प्रतियोगिताका क्रममा मात्रै सक्रियता देखाउने विभिन्न खेलका संघ र तिनका पदाधिकारीहरू अहिले खेलाडी खोज्ने तिनै खेलाडीबाट आठौं राष्ट्रिय खेलकुदमा जिल्लाको प्रतिनिधित्व गराउने दाउमा छन् ।

जिल्ला टेबुलटेनिस संघले प्रशिक्षक बिना नै महिला पाँच र पुरुष पाँच गरी १० जना खेलाडी छनोट गरेको छ । प्रशिक्षक शिवनारायण        श्रेष्ठलाई पूर्वाञ्चल खेलकुद विकास समितिको निर्देशकको जिम्मेवारी दिइएपछि मोरङमा टेबुलटेनिस खेल प्रशिक्षकविहीन बनेको छ । प्रशिक्षक नभएपछि जिल्ला टेबुलटेनिस संघका पदाधिकारीले नै आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडी छनोट गरेका हुन् । यसअघि पनि खेलाडी छनोटका क्रममा संघ विवादमा फस्दै आएको थियो । यसपटक खेलाडी छनोटमा विवाद नदेखिए पनि प्रशिक्षक नभएका कारण चयनमा समस्या आएको स्रोत बताउँछ ।

जिल्ला प्रशिक्षक सागर पोखरेलले गत असोजमा छाडेपछि बक्सिङ संघ मोरङ पनि प्रशिक्षकविहीन बनेको छ । पोखरेलको राजीनामापछि अर्को प्रशिक्षकको व्यवस्था गरिएको छैन । प्रशिक्षकबिना नै संघले पनि राखेपको कोटाअनुसार आठौं राष्ट्रिय खेलकुदका लागि तीनजना खेलाडी छनोट गरेको हो । संघका जिल्ला अध्यक्ष रामबाबु पासवानकै अगुवाइमा खेलाडी छनोट गरिएको जनाइएको छ ।

बक्सिङ संघले ८० केजी तौलसमूहमा वसन्त बुढाथोकी र चिराग आरोरालाई प्रतिस्पर्धाका आधारमा छनोट ग¥यो । काठमाडौंमा रहेका आयुषकुमार केसीलाई भने निर्विरोध छनोट गरिएको छ । काठमाडौंमा रहेका कारण केसीलाई छनोट प्रक्रियामा सहभागी नगराइएको अध्यक्ष पासवाले बताए । संघले यसअघि १३ जना खेलाडी प्रशिक्षणमा रहेको जानकारी दिँदै आएको थियो । तर, छनोट प्रतियोगितामा भने बुढाथोकी र अरोरालाई मात्रै सहभागी गराइयो ।

‘खेलाडी छनोटमा हामीलाई पर्याप्त बजेट उपलब्ध भएन । जम्मा दुई हजार रुपैयाँ मात्रै पाइयो,’ अध्यक्ष पासवानले भने, ‘सीमित रकम, स्रोत र साधनको अभावमा जस्तो सकियो त्यस्तै छनोट गरियो । खेलाडी छनोट पनि प्रशिक्षकविहीन अवस्थामै गर्नु प¥यो ।’ उनले बजेट अभावकै कारण संघले प्रशिक्षक नियुक्ति गर्न नसकेको दाबी पनि गरे । सरकारको बेवास्ताकै कारण नेपालमा खेलकुद क्षेत्र निकै पछि परेको पासवानको गुनासो छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अमात्यले भने राखेपले चाँडै प्रशिक्षकको विषयमा निर्णय लिने अपेक्षा गरिएको बताए । ‘जिल्लामा सम्बन्धित खेलका प्रशिक्षकको अभाव देखिएको छ’, उनले भने, ‘खेलाडी छनोटमा अन्य खेलका प्रशिक्षकलाई पालो गरेर निर्णायकको भूमिकामा राख्नुपर्ने अवस्था छ ।’ अमात्यले प्रशिक्षक अभावका कारण खेलाडी छनोटमा समस्या भइरहेको स्वीकार गरे ।

मोरङबाट २२ वटा खेलको खेलाडी छनोट गर्नुपर्ने भए पनि टेबुलटेनिस, बास्केटबल, कबड्डी, एथलेटिक्स, बक्सिङ, ब्याडमिन्टन, खो खोलगायतका खेलमा प्रशिक्षक छैनन् । यी खेलका खेलाडी प्रशिक्षकबिना नै छनोट गर्ने काम भइरहेको बताइएको छ । कराँतेमा भने आठजना प्रशिक्षक रहेको जानकारी अध्यक्ष अमात्यले दिए । कराँतेका २१ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट गरिएको छ ।

बास्केटबलमा खेलाडी छनोट स्वयंसेवक प्रशिक्षकका रूपमा रहेका सरोज लम्सालले गराएका हुन् । बास्केटबलमा १० जना खेलाडी र दुईजना वैकल्पिक खेलाडी छनोट गरिएको छ । लम्सालले विराटनगरमा बास्केटबल सबैभन्दा कान्छो खेल भएको बताए । उनले भने, ‘बास्केटबल यहाँको सबैभन्दा कान्छो खेल हो तर, दर्शक र खेलाडीको आकर्षण भने यो खेलमा निकै छ ।’

बास्केटबलको खेलाडी छनोटका लागि भने पाँच हजार रुपैयाँ प्राप्त भएको उनले बताए । समितिका कार्यालय प्रमुख देवराज कटवालका अनुसार मंसिर २१ गतेसम्म जिल्लामा खेलाडी छनोट प्रक्रिया चल्नेछ । खेलाडी छनोटका लागि पाँच लाख ९० हजार रुपैयाँ प्राप्त भएको उनले बताए । प्राप्त भएको पैसा खेल सामग्री र कार्यक्रम सञ्चालनका लागि छुट्ट्याइएको कटवालको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.