रंगमञ्चभित्र अर्को रंगमञ्च
काठमाडौं : झमक्क साँझ परेपछि मञ्चमा दुश्यन्त र शकुन्तलाको संवाद सुनिन्छ । क्लासिक लाग्ने कथाभित्रका संवाद आधुनिक समयसँग ठ्याक्कै एकाकार हुन्छन् । मानिसका सम्बन्ध र तिनका जटिलता संवादमा आउँछन् । नाटक ‘शकुन्तलाको औंठी’ भित्र कालीदासको नाटक ‘अभिज्ञान शाकुन्तलम्’ को रिहर्सल हुन्छ । शकुन्तला र राजा दुश्यन्तको जीवनमा जस्तै घटना घट्छन् ‘शकुन्तलाको औंठी’ का पात्रहरूमा । यो कस्तो नाटक हो ? नाटकका कलात्मक निर्देशक अनुप बराल भन्छन्, ‘यो नाटक एउटा मेटा थिएटर हो । जहाँ एउटा रंगमञ्चभित्र अर्को, अनि अर्कोभित्र फेरि अर्को रंगमञ्च छ ।’
नाटकभित्र पस्न ‘अभिज्ञान शाकुन्तलम्’ को कथाभित्र प्रवेश गर्नुपर्छ । राजा दुश्यन्तकी श्रीमती र राजा भरतकी आमा हुन् शकुन्तला । उनी अप्सरा मेनका पुत्री हुन् । महाभारतअनुसार, अप्सरा मेनकाले शकुन्तलालाई जन्म दिई वनमा छोडेकी हुन्छिन् । र, पछि जंगलका पन्छी, जनावरले शकुन्तलाको संरक्षण गरे । वनका ऋषिले शकुन्तलालाई आ श्रममा लगेर छोरी समान हुर्काए ।
ऋषि आ श्रममा जंगलमा हुर्केकी शकुन्तला सुन्दर छिन् । सैनिकसँगै सिकार खेल्न जंगल आएका राजा दुश्यन्तको नजर शकुन्तलामा पर्छ । राजालाई पानी पिउन दिने क्रममा शकुन्तला र दुश्यन्तको आँखा जुध्छ । उनीहरू प्रणय सम्बन्धमा बाँधिन्छन् । लगत्तै गन्धर्व विवाह गर्छन् । विवाहपछि शकुन्तलालाई लिन आउने वाचा गर्दै दुश्यन्त राजदरबार फिर्छन् । आफूलाई राजाले लिन आउने आशमा पर्खिरहेकी शकुन्तलालाई दुर्वासा ऋषिले श्राप दिन्छन् । ऋषिको श्राप छ– तैंले जसलाई सम्झेर बसेकी छस्, त्यसले तँलाई बिर्सियोस् ।’ श्राप परेकी शकुन्तलालाई दुश्यन्तले साँच्चै बिर्सन्छन् । माझीबाट शकुन्तलाको औंठी प्राप्त गरेपछि मात्रै दुश्यन्त शकुन्तलालाई सम्झन्छन् ।
‘अभिज्ञान शाकुन्तलम्’ को कथा नाटक ‘शकुन्तलाको औंठी’ भित्र रिहर्सल भइरहेको छ । नाटकको निर्देशक कुमार र नायिका कनकको प्रेम दुश्यन्त र शकुन्तलाको आदिम कथाजस्तै अघि बढ्छ । शकुन्तलाको भूमिका निर्वाह गर्ने पात्रको खोजी भइरहेको बेला रिहर्सलमा कनक आइपुग्छे । काम गर्दैगर्दा, नाटकको संवाद र भाव सिक्दै गर्दा कनक र कुमार एकअर्कासँग नजिकिन्छन् । नाटकमा कनकले शकुन्तला र कुमारले दुश्यन्तको चरित्र निभाएका छन् ।
जब रिहर्सल भइरहेको नाटककी नायिका शकुन्तला गर्भवती हुन्छे, त्यहि समय कनक पनि सँगै गर्भवती हुन्छे । नाटकसँग जीवनको एकाकार हेर्न ‘शकुन्तलाको औंठी’ हेर्नुपर्छ । रंगकर्मीको जीवनयात्रा र भोगाइ नाटकभित्रको मुख्य कन्टेन्ट हो ।
कनक विक्षिप्त छे । नाटकको रिहर्सल गरिरहेकी कनक जब आफ्नै निजी जीवनभित्र प्रवेश गर्छे, नाटकले भिन्न मोड लिन्छ । आधुनिक जीवनशैली, विश्वास, अविश्वासको पराकाष्ठा बनेको छ नाटक । प्रेम, वियोग र उल्झनबीच नाटकको कथा घुमिरहन्छ ।
। भारतीय चर्चित लेखक सुरेन्द्र बर्माले कालीदासको ‘अभिज्ञान शाकुन्तलम्’ लाई पुनव्र्याख्या गर्दै ‘शकुन्तलाकी अंगुठी’ नामक नाटक लेखे । निर्देशक सुरज मल्लले ‘शकुन्तलाकी अंगुठी’ लाई नेपालीमा रूपान्तरण गरेर रंगमञ्चमा दृश्य दिएका छन् ।
मल्ल भन्छन्, ‘रंगकर्मीको जीवन यात्रा र भोगाइ बोकेको यो नाटकलाई कहीँ न कहीँ म आफूसँग जोडिएको पाएँ । यो नाटकले महिला र पुरुषको सम्बन्धलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ ।’
नाटकमा कलाकारले बेजोड अभिनय गरेका छन् । दृश्य र संवाद जीवन्त छन् । कलाकारले अभिनयलाई अब्बल बनाउने प्रयास गरेका छन् । नाटकको रिहर्सलकै क्रममा कनकले दुश्यन्तलाई घृणा गर्दागर्दै करुणा दर्शाउनुपर्ने थियो । कनकले सहज रूपमा काम गर्न सकिरहेकी छैन । जब निर्देशकले आफ्नो व्यक्तिगत जिन्दगीको घटना सम्झनुस् भन्छ, तव कनक अतीत सम्झन्छे । आफूलाई धोका दिएर सुखी जिन्दगी बिताएको प्रेमी सम्झन्छे, प्रेममा सबथोक त्यागेर आफू बर्बाद भएको पल सम्झन्छे । ऊ डाँको छाडेर रुन्छे । उसको यो रुवाइमा दर्शक मन थाम्न सक्दैनन् । पृष्ठभूमिमा कनकसँगै दर्शक पनि सुकसुकाएको आवाज सुनिन्छ । अभिनय गर्दा गर्दै निर्देशकको प्रेममा परेकी कनक कुमारले छाडेर अमेरिका हिँडेपछि पुन वियोगमा पर्छे ।
युवाबीचको प्रेमसम्बन्ध, आकर्षणले निम्ताउने शारीरिक सम्बन्ध, जीवनका उद्देश्य र अनेक पक्षको चित्रण गर्न सफल भएको छ यो नाटक । नाटकको कथामा आउने आरोह, अवरोह र दृष्यको संयोजनले दर्शकको मन छुन्छ । करिब दुई घण्टा लामो यो नाटकका लेखक सुरेन्द बर्मा र निर्देशक सुरज मल्ल हुन् ।
कनकको भूमिकामा छन् अभिनेत्री दिया मास्के । यो नाटकमा उनले गरेको जीवन्त अभिनयले दर्शकको मन जित्छ । दियासँगै मञ्चमा छन्, सुरज, आशिष, अनील, प्रकृति, रञ्जना, विकास, सुनील, रोशन, प्रकाश, प्रमिला, हेना, अनु, प्रणव, निर्मला, अनुपलगायतका कलाकार ।
एक्टर्स स्टुडियोको प्रस्तुति रहेको ‘शकुन्तलाको आंैठी’ शिल्पि थिएटरमा मञ्चन भइरहेको छ । मंसिर ७ गतेदेखि सुरु भएको नाटक पुस ७ गतेसम्म चल्नेछ ।