गाउँपालिकामा पहिलो पटक बस पुगेपछि स्थानीय हर्षित
अछाम : अछामको चौरपाटी गाउँपालिकामा पहिलो पटक बस पुगेको छ। बस सेवा सुचारु हुन बाँकी रहेका अछामका ५ स्थानीय तहमध्ये चौरपार्टी गाउँपालिकाले यही मंसिर १४ देखिबस सेवा सञ्चालन गरेको हो। मोटरबाटोको ट्रयाक खोलिएको ११ वर्षपछि पहिलो पटक बस पुगेपछि स्थानीय बासिन्दा हर्षित भएका छन्।
चौरपाटी गाउँपालिकाको कार्यालयसम्म पहिलो पटक बसपुगेपछि स्थानीयले बाजागाजासहित भव्य स्वागत गरे। पहिलो पटक घरआगनमै बस पुगेपछि स्थानीयबासी दंग भएका छन्।
बस चौरपाटी गाउँपालिका पुग्ने खबर पाएपछि दुई घण्टाको पैदल हिडेर आइपुगेका ७० वर्षीय दलबहादुर कुँवर निकै प्रफुल्लित छन्। ‘आफ्नो गाउँमै यसरी बस पुग्दा निकै खुसी लागेको छ। गाउँपालिकामा बस आएको हेर्नलाई २ घण्टाको बाटो हिडेर आएँ। उनले भने‘ अब आफू जस्ता बुढापाकालाई अब यात्रा गर्न सहज हुन्छ’ अब बस चढ्न साँफेबगर जानु पर्ने बाध्यता हटेकोले खुसी लागेको उनले बताए।
चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले चौरपाटी गाउँपालिकामा बस सञ्चालन गर्ने चुनावको बेला गरेको प्रतिवद्धता पूरा गरेको दाबी गरे। ‘चुनावका बेला गरेको प्रतिवद्धता पूरा गरेको छु बाह्रै महिनासम्म बस र ट्रक सञ्चालन गर्ने गरी सडकको स्तरोन्नती गरिनेछ।’ अध्यक्ष साउदले भने। बस सञ्चालनले आवत जावतमा सहज हुनुकासाथै गाउँपालिकामा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पु¥याउन सहज हुने हुँदा कृषकहरुलाई राहत हुने उनले दाबी गरे।
सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द कुँवरले चौखुट्टे–चौरपाटी हुँदै चित्रसम्मको सडक स्तरोन्नतीसँगै कालोपत्रका लागि प्रदेश सभामा ३ करोड बजेटको माग गरेको बताए। उनले भने ‘चौखुट्टे चौरपाटी पायल हुँदै चित्रसम्मको सडकलाई जिल्लाको रणनैतिक योजनाको रुपमा अघि बढाएको छौं। यसका लागि बजेटको माग गरेको छु। अब यहाँका सडकहरुको स्तरोउन्नतीमा विषेश ध्यान दिने योजना बनाएका छौं।’
गाउँपालिकाको कार्यालयसम्म पहिलो पटक कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस चौखुट्टे वजार हुँदै १४ किलोमिटरको दूरी पार गरी गाउँपालिकासम्म पुगेको थियो। स्थानीयले सडक स्तरोन्नतीसँगै निरन्तर बससेवा सुचारु गर्न माग गरेका छन्। चौखुट्टे चौरपाटीमा बस सञ्चालन सुरु भएसँगै गाउँपालिकाका ५ वडा र डोटीका केही गाउँपालिकाका स्थानीय लाभान्भिव हुने भएका छन्।