पहिचानको खोजीमा खम्पा

पहिचानको खोजीमा खम्पा

सुर्खेत : खम्पा शब्दले नेपाल र चीनका सुरक्षा र कूटनीतिक अधिकारीहरूलाई अझै झस्काउँछ। किनभने यो शब्दसँग जोडिन्छ– चार दशक पुरानो खम्पा विद्रोह। तर, सबै खम्पा त्यसबेलाका विद्रोही होइनन्। बेग्लै भाषा, संस्कृति, वेशभूषा र सभ्यता भएका खम्पाहरू यतिखेर पहिचानको खोजीमा छन्। खम्पा विद्रोहकै कारण राज्यले उनीहरूलाई बेग्लाबेग्लै जातिको पहिचान हुने गरी नागरिकता दियो। बिस्तारै उनीहरू फरक–फरक थर लेखेर बस्न बाध्य भए।

खम्पा विद्रोहले नेपाल–चीन सम्बन्ध त्यतिबेला झण्डै धरापमा परेको थियो। त्यो पीडा अहिलेका खम्पाले पनि बेहोरिरहेका छन्। भूराजनीतिक इतिहासमा ‘खम्पा विद्रोह’ले नेपालबाट तिब्बतमा गर्न खोजिएको आन्दोलन नै सम्झिन्छ। त्यही आन्दोलनका कारण खम्पाको छुट्टै पहिचान छिन्नभिन्न पारिदिएकोमा दुखेसो गर्छन् उनीहरू। कर्णालीको दैलेख, कालिकोट, सुर्खेत क्षेत्रमा करिब तीन हजार बढी खम्पा समुदायको बसोबास छ।

‘हामी एउटै समुदाय हौं। राज्यले खम्पा भएकै कारण गुरुङ, लामा, विष्ट, रोकाय, थापा, महतरा, बुढाजस्ता जातिमा विभाजित ग¥यो,’ खम्पा समाज अध्यक्ष कृष्ण रोकाय भन्छन्। बुद्ध धर्मावलम्बी खम्पाहरू अधिकांश तिब्बती मूलका हुन्। शेर्पा, भोटे जातिसँग दुरुस्त मिल्ने खम्पा तत्कालीन विद्रोहका नाममा छिन्नभिन्न बने पनि अहिले एकताबद्ध भएर पहिचान खोज्न थालेका हुन्।

गुरुङ, लामा, विष्ट, रोकाय, थापा, महतरा, बुढा थर लेख्ने उनीहरू खम्पा समाज गठन गरी परम्परागत संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण गरी एकताबद्ध हुन थालेका छन्। आफ्नो जातीय पहिचान खम्पा नाममै हुनुपर्ने माग राख्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन्।

 सन् १९७४/०७५ ताका चीनसँग सीमा जोडिएको नेपालीभूमि मनाङ, मुस्ताङ आसपासमा खम्पाहरूले चिनियाँ सैनिकविरुद्ध गुरिल्ला युद्ध लडेका थिए। यो घटनाले चीन अझै पनि खम्पा विद्रोहलाई संवेदनशील दृष्टिमा लिन्छ।

त्यतिबेला नेपाली सेनाले उनीहरूको विद्रोह तुहाएको थियो। यसरी युद्ध लड्नेहरू यिनै खम्पा होइनन्। यी कर्णालीमा बसोबास गर्ने खम्पा जातिको छुट्टै पहिचान छ। ‘हामी विद्रोह गर्ने खम्पा होइनौं, हामी पूर्वेली खम्पा हौं,’ खम्पाका अगुवा नुर्वु गुरुङ भन्छन्, ‘त्यो समय विद्रोह गर्ने पश्चिमेली खम्पाहरू भएको अग्रजहरूले बताएका थिए।’

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा खम्पाले आदिवासीमा सूचीकृत हुने आश्वासन पाएका थिए। पुष्पकमल दाहालले पनि एक दशकअघि सूचीकरण गर्ने वचन दिएका थिए। ‘एक दशक हुन लाग्यो तर आजसम्म खम्पाहरू छरपस्ट छौं’, खम्पा समाजका सचिव कमल गुरुङले भने। फरकफरक थर लेखे पनि उनीहरू खम्पा भाषा नै बोल्छन्। ‘खम्पाभित्र बिहेवारीदेखि सबै सम्बन्ध हुने गरेको छ,’ उनले भने। 

जुम्लाको मान्दारा, मुगुको डाँडाखेत हुँदै खम्पा सुर्खेत झरेको सचिव गुरुङले बताए। अहिले खम्पाहरूले भोटेभन्दा फरक जातिले झैं महिलाले नाक छेडेर फुली लगाउने गर्छन। यो प्रचलन पहिले नभएको भन्दै नयाँ पुस्तादेखि नाक छेड्न छाडेको उनले सुनाए।

अहिले सुर्खेत र अन्य क्षेत्रमा गुम्बा निर्माण गरी पुरानै शैलीमा एकताबद्ध हुन खोज्दैछन्। उनीहरू विद्रोही खम्पा नभए पनि सुरक्षा निकाय र छिमेकीले शंकाको नजरमा हेर्ने उनीहरूको अनुभव छ।

विद्रोहअघि नै २०२७ सालमा नागरिकता दिँदा जात र नाम परिवर्तन गरिदिएको खम्पाहरूको आरोप छ। सरकारले आदिवासी जनजाति भनेर ५९ वटा जाति सूचीकृत गरेको छ। यीमध्ये तीन जातिको अस्तित्व नभेटिएपछि हाल ५६ जाति मात्र कायम छन्। छुट भएको भन्दै २५ जातिले सूचीकरणको माग गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा निवेदन दिएका छन्।

खम्पाले तिब्बत र भारतसँग व्यापार गर्ने क्रममा दुवै देशको भाषा बोल्ने र दोभाषेको काम समेत गर्ने गरेको पाइन्छ। भेडा, घोडा, खच्चर हँुदै पछिल्लो समय नयाँ व्यापार गर्ने क्रममा खम्पाहरू नेपालबाट तिब्बत र भारत आउजाउ गर्ने गरेको पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.