नेकपा (क्रान्तिकारी माओवादी)ले चैतदेखि आन्दोलन गर्ने
बुटवल : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले जनवादी क्रान्तिको तयारी थाल्ने निर्णय गरेको छ। विद्यमान राज्य सत्ताको स्वरूप प्रतिक्रियावादी रहेको निष्कर्ष निकाल्दै जनवादी क्रान्तिका लागि तयारी गर्ने निर्णय गरेको हो।
रूपन्देहीको बुटवलमा सकिएको केन्द्रीय कमिटीको विस्तारित बैठकले महासचिव वैद्यको प्रतिवेदनमाथि छलफल गर्दै राष्ट्रियता, जनवाद र जनजीविकाका सवालमा चरणबद्ध आन्दोलनमा जाने कार्यनीति तय गरेको हो। चार तयारीअन्तर्गत वैचारिक, सांगठनिक तयारी, जनपरिचालनलगायत काम गर्ने पार्टीले जनाएको छ।
जनजीविका र जनतन्त्रको विषयमा सरकार पूर्ण असफल बनेको पार्टीको निष्कर्ष छ। ‘यो सरकार न कम्युनिस्ट हो, न वाम नै हो, राष्ट्रवादीका नाममा धज्जी उडाएको छ’, महासचिव वैद्यले भने, ‘पूरै असफल बन्यो।’ शान्ति र समृद्धिलाई जोडेर लैजाने सपना देख्नु भ्रम रहेको भन्दै वैद्यले जनयुद्धपछिको शान्ति प्रक्रियाले पूर्णता पाइनसकेको दाबी गरे।
सयौं जनमुक्ति सेनाको विषयमा कुनै कदम नचालिएको भन्दै जनयुद्धकालीन मुद्दा समाधान नहुँदासम्म शान्ति प्रक्रिया नटुंगिने उनको तर्क थियो। बैठकले जनयुद्ध दिवसलाई क्रान्तिका रूपमा मनाउँदै चैतदेखि चरणबद्ध आन्दोलन गर्ने निर्णयसमेत गरेको छ। बुटवलमा पाँच दिन चलेको बैठकमा ८० भन्दा बढी नेता सहभागी थिए।