बक्सिङ संघलाई आईओसीको कारबाही

बक्सिङ संघलाई आईओसीको कारबाही

काठमाडौं : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले संसारभरका बक्सिङ संघलाई दिँदै आएको सहयोग (ओलम्पिक सोलिडायरिटी फन्ड) रोक्का गरेको छ । गत नोभेम्बर २ मा भएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइवा) को निर्वाचनमा विवादास्पद छविका गफुर राकिमोभ अध्यक्षमा निर्वाचित भएपछि आईओसीले राष्ट्रिय संघहरूलाई दिँदै आएको सहयोग रोक्का गरेको हो ।

सन् २०२० मा आयोजना हुने टोकियो ओलम्पिकको आयोजनाका विषयमा बसेको आईओसी बैठकले संघलाई प्रत्यक्ष रूपमा दिँदै आएको सहयोग रोक्का गर्ने निर्णय गरेको हो । आईओसीले नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष र महासचिवलाई सम्बोधन गर्दै यस आशयको पत्र पठाएको छ । आईओसीले मंगलबार एनओसीलाई लेखेको पत्रमा ओलम्पिक सोलिडारिटी फन्डमार्फत हुने सहयोग नेपाल बक्सिङ संघसँग नगरी राष्ट्रिय खेलकुद परिषद् र आईओसीमार्फत मात्र गर्न भनिएको छ ।

‘आईओसीबाट प्राप्त हुने सहयोग रोक्नु भनेको घुमाउरो पारामा बक्सिङमाथिको सस्पेन्सन नै हो’, नेपाल ओलम्पिक कमिटीका एक पदाधिकारी भन्छन् । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे । ‘आईओसीको पत्रका बारेमा मलाई अहिलेसम्म ओलम्पिक कमिटीले जानकारी गराएको छैन’, अध्यक्ष अवालेले भने ‘पत्र पाएपछि मात्र यस विषयमा केही भन्न सक्छु ।’

नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले आईओसीको यो निर्णयले ओलम्पिक सोलिडारिटीका नाममा आउने सहयोग मात्र होइन, बक्सिङ गतिविधिमै असर पर्ने बताए । ‘मैले पनि आजै (बुधबार) मात्रै आईओसीको पत्र पाएको हुँ’, उनले भने, ‘पत्र पढ्दा नेपालको बक्सिङ गतिविधिमै असर पर्ने देखिन्छ ।’ उनले गत अक्टोबरमा संघले गफुरलाई लेखेको पत्रका कारण आईओसीले यस्तो पत्र पठाएको हुन सक्ने बताए । ‘अध्यक्षले भोट त सेरिकलाई नै हाल्नु भएको हो’, वरिष्ठ उपाध्यक्ष केसीले भने, ‘तर, चुनावअघि लेखेको पत्रका कारण आईओसीले अहिले हामीलाई पनि पत्र पठाएको हुन सक्छ ।’

अध्यक्ष अवालेले भने संघका बहुमत सदस्यको निर्णयअनुसार नोभेम्बर २ तारिखमा भएको चुनावअघि गफुरको पक्षमा मनोनयन मात्रै गरिएको बताए । ‘हामीले गफुरलाई नोमिनेट मात्र गरेका हौं । उसलाई नोमिनेट नगरेको भए चुनावमै सहभागी हुन पाउने थिएनौं’, अवालेले भने, ‘त्यतिखेर सेरिकमाथि प्रतिबन्ध नै लगाइएको थियो ।’ रुसको राजधानी मस्कोमा भएको आइवाको निर्वाचनमा नेपालबाट अध्यक्ष अवाले, वरिष्ठ उपाध्यक्ष केसी र सदस्य वासुदेव आचार्य सहभागी भएका थिए । उक्त निर्वाचनमा गफुरले ८६ मत ल्याएका थिए भने सेरिकको पक्षमा ४५ भोट मात्र परेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.