खेल मैदान मासेर पार्क !

खेल मैदान मासेर पार्क !

इटहरी : इटहरीले केही वर्षअघि क्षेत्रीय रंगशालाको लागि सडक ततायो । सरकारले बजेट भाषणमार्फत सुविधासम्पन्न क्षेत्रीय रंगशाला सुनसरीमा बनाउने भनेपछि उक्त रंगशाला इटहरीमै बनाउनुपर्छ भन्ने माग गरियो । तर, पछि धरान, इनरुवालगायतका नगरले समेत क्षेत्रीय रंगशाला आफ्नो ठाउँमा बनाउनुपर्ने माग गरे । त्यसपछि सरकारले क्षेत्रीय रंगशालाको अवधारणा नै त्यागेर धरान र इटहरीलाई बजेट बाँडिदियो ।

क्षेत्रीय रंगशाला नपाएको इटहरीको रंगशाला सपना भने कायमै रह्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा इटहरीकै केशवकुमार विष्ट नियुक्त भएपछि इटहरीले खेल विकासमा उल्लेख्य फड्को मा¥यो । सातौं राष्ट्रिय खेलकुद पनि आयोजना भयो । अहिले इटहरी रंगशालामा एक दर्जनभन्दा बढी खेलका पूर्वाधारहरू बनिरहेका छन् । ती सबै पूर्वाधार बनिसक्दा इटहरी रंगशालाले क्षेत्रीय रंगशालाकै हैसियत बनाउने पक्का छ ।

रेसमखेती प्रशोधन केन्द्र र जुट विकास अनुसन्धान केन्द्रले उपयोग गरिरहेको इटहरीको जग्गामध्येबाट इटहरी रंगशालाले केही जग्गा पाएको थियो । उक्त जग्गामा आधुनिक प्यारापिट निर्माणाधीन अवस्थामा छ । यसैगरी ब्याडमिन्टन, कराँते, इन्डोर क्रिकेटलगायतका विभिन्न खेलका लागि भवन तथा कोर्टहरू पनि बनिरहेका छन् । कराँतेको त अन्तर्राष्ट्रिय प्रतियोगिता नै सम्पन्न भयो ।

खेल मैदानमा पार्क

यति हुँदाहुँदै पनि इटहरीमा क्रिकेट स्टेडियमको आवश्यकता भने खड्किनै रह्यो । ‘क्रिकेट खेल्ने ठाउँ नहुँदा कहिले जनता क्याम्पस त कहिले जनता स्कुलको फिल्डमा पिच बनाएर ग¥र्याैं,’ केही वर्षयता नियमित क्रिकेट प्रतियोगिता गराइरहेका जिल्ला क्रिकेट संघ सुनसरीका अध्यक्ष सीपी पौडेल भन्छन्, ‘पछिल्लो समय इटहरी—९ स्थित डीभीएम स्कुलको खेलमैदानमा प्रतियोगिताहरू गराइरहेका छौं ।’

विद्यालयको कम्पाउन्डभित्र रहे पनि सतह मिलेको उक्त जग्गामा राष्ट्रिय खेलकुद परिषद्समेतको सहयोगमा क्रिकेट पिच बनाइएको छ । पौडेलका अनुसार १० लाख रुपैयाँ खर्च गरेर पिच बनाइएको हो । सो पिचमा उमेरसमूहका राष्ट्रिय स्तरका प्रतियोगिता र महिला क्रिकेट प्रतियोगिताहरू सम्पन्न भइसकेका छन् । सातौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेट प्रतियोगिता पनि सोही मैदानमा भएको थियो । यसैगरी दोस्रो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियागिता र यू—१९ राष्ट्रिय प्रिमियर लिग पनि सोही मैदानमा गरिएको थियो ।

तर, अहिले उक्त जग्गामा इटहरी उपमहानगरपालिकाले पार्क बनाउने भएको छ । २० गते पार्कको शिलान्यासका लागि मुख्यमन्त्री आफैं सहभागी हुँदैछन् । पार्क बनाउने कार्यको यहाँका खेलप्रेमीले भने विरोध गरेका छन् । बुधबार त स्थानीय खेलप्रेमी इटहरी उपमहानगरपालिकामा डेलिगेसन नै गए । इटहरी क्रिकेट एकेडेमी, सेभेन स्टार क्लब, इटहरी ग्रिन सिटी क्रिकेट क्लब, सुनसरी जिल्ला क्रिकेट संघलगायतका संस्थाका पदाधिकारीसहित खेलाडी र खेलप्रेमी डेलिगेसन गएका हुन् ।

क्रिकेट मैदानमा अहिले पनि स्थानीय खेलाडी अभ्यास गरिरहेका छन् । त्यसैले पिच मासेर पार्क बनाउने योजना बनेको भन्दै स्थानीयले खेलप्रेमीले विरोध गरेका हुन् । इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले खेलाडीले पसिना बगाएर बनाएको मैदानमा पार्क बनाउन नदिने बताए । ‘यत्रो लगानी गरेर बनाएको पिच मास्ने गरी पार्क बनाउन हुँदैन,’ जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष अनुरोध थापा भन्छन्, ‘खेलको लागि तयार गरिएको ग्राउन्डलाई खेलकै प्रयोजनमा प्रयोग गरिनुपर्छ ।’

केही दिनअघि इटहरी आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले समेत इटहरीको पिच राम्रो भएको बताउँदै त्यसको संरक्षण र विकास गर्न सल्लाह दिएका थिए । ज्ञापनपत्र बुझ्दै उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले खेल संरचना मास्न नहुनेमा ऐक्यबद्धता जनाइन् । उनले यस विषयमा कार्यपालिका बैठकमा आवाज उठाउने आश्वासन पनि दिइन् ।

अर्कोतिर इटहरी उपमहानगरपालिकाले भने पार्क बनाउने भन्दै कार्यक्रम नै तय गरिसकेको छ । यसअघि इटहरी—५ मा पार्क बनाउने निर्णय गरिए पनि पछिल्लो समय क्रिकेट मैदानमै पार्क बनाउने तयारी गरिएको हो । पार्क बनाउने प्रयोजनसहित तत्काललाई घेराबारा गरिनेछ । यस प्रयोजनका लागि नौ लाख रुपैयाँ खर्च गरिने बताइएको छ । पार्क बनाउनका लागि भने ५० लाख रुपैयाँ छुट्ट्याइएको छ ।

विवादित जग्गा

हुन त डीभीएम स्कुलको उक्त मैदान विवादित जग्गा हो । सो जग्गा सार्वजनिक भए पनि निजी विद्यालयले पर्खालले घेरेर प्रयोग गरिरहेको छ । पछि सार्वजनिक जग्गा खोज्दै जाँदा इटहरी उपमहानगरपालिकाले उक्त जग्गा सार्वजनिक भएको पत्ता लगाएको थियो । उपमहानगरपालिकाले जग्गा छाड्न निर्देशन दिए पनि विद्यालय छाड्न तयार देखिएको छैन । विद्यालय सो जग्गा व्यक्तिको भएको दाबी गरिरहेको छ ।

उक्त जग्गा उच्चस्तरीय वन सुदृढीकरण आयोगले कसैको नाममा दर्ताका लागि कित्ताकाट गरेको, तर कुनै पनि व्यक्तिको नाममा फिल्डबुक तयार नभएकाले सार्वजनिक पुष्टि भइसकेको मेयर द्वारिकालाल चौधरीले बताए । ‘त्यसैले यो जग्गालाई अब नगरले आफ्नो प्रयोजनका लागि प्रयोग गर्छ,’ उनले भने । मेयर चौधरीले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि पार्क बनाउन लागिएको बताए ।

उनले क्रिकेट मैदान नै मासेर पार्क बनाउन लागिएको भन्ने हल्लाको खण्डन गरे । ‘क्रिकेट रंगशाला मासेर पार्क बनाउने योजना होइन’, उनले भने, ‘अर्को ठाउँमा क्रिकेट स्टेडियम तयार नहुन्जेल यहीँ खेल हुन्छ ।’ उनले अर्को ठाउँमा अझ व्यवस्थित क्रिकेट स्टेडियम तयार गरिने दाबी गरे । उनले अर्को ठाउँमा कहिले र कस्तो क्रिकेट स्टेडियम बन्छ भन्ने विषय भने खुलाएनन् ।

‘अर्को ठाउँमा क्रिकेट मैदान व्यवस्था नभएसम्म मैदान छुँदैनौं । मैदानको वरिपरि वृक्षरोपण हुन्छ, फुटपाथ बन्छ र छेउमा घण्टाघर बन्छ,’ उनले भने, ‘अहिल्यै नै क्रिकेट मैदान मासियो भनेर अनावश्यक प्रचार भएको छ, त्यो सही होइन ।’ उनका अनुसार त्यो जग्गालाई अहिले नै पार्कको रूपमा विकास नगरे जग्गा मासिने खतरा छ । ‘त्यो निजी स्कुलमा विभिन्न राजनीतिक दल र विभिन्न व्यवसायका मानिस छन् । उनीहरूले अझै पनि उक्त जग्गा कब्जा गर्न अनेक प्रपञ्च रचिरहेका छन्,’ उनले भने, ‘५० करोडको सम्पत्ति कसैले हड्पेको छ भने सहजै छोड्न मान्दैन ।’ वडा नम्बर ९ का वडा सदस्य अरुण गुरुङ भने क्रिकेट मैदान मास्न नहुने भनी नगरवासीले उठाएको माग सम्मानयोग्य भएको बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.